त्रिवेणीमा दुई जनामा साङ्घातिक आक्रमण, आक्रमण गर्नेहरू फरार

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा दुई जना किशोरहरुमा केही युवाहरुले साङ्घातिक आक्रमण गरेका छन् । आक्रमणबाट त्रिवेणी-६ का २२ बर्षीय दिपक पुन र २१ वर्षीय नवीन पुन घाइते भएका छन् ।

स्थानीयतह निर्वाचित उम्मेदवारहरुको विजय जुलुसमा सहभागी भई घर फर्कने क्रममा बुधबार साझ करिब ६:३० बजे तिर उनीहरूलाई त्रिवेणी- ३ खाराका राजन डाँगी र शिशिर डाँगी लगायतको टिमले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई त्रिवेणीको सम्रुतु स्थित सिटी हस्पिटल सामान्य उपचारपछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।

घाइते दिपक पुनको टाउकोको विभिन्न भागमा धारिलो हतियार तथा दाउरा प्रहार गरिएको छ भने नवीन पुनको पनि टाउको लगायतको शरीरका विभिन्न स्थानमा अन्धाधुन्ध प्रहार गरिएको छ । आक्रमण गर्नेहरू अहिले फरार रहेको र उनीहरूको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रत्येक्ष दर्शीहरुका अनुसार एक्कासि आक्रमण गरेर उनीहरू भागेका थिए । घाइतेहरु बेहोस भएकोले घटना बारे थप खुल्न सकेको छैन । घाइतेका साथीहरूका अनुसार उनीहरूलाई मंगलबार  पनि आक्रमण गरिएको थियो ।