खैनी–चुरोट खानेलाई स्वास्थ्य मन्त्रालयमा ‘प्रवेश निषेध’ (भिडियो सहित)

तपाई चुरोट, खैनी, पान गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खानुहुन्छ भने अब स्वास्थ्य मन्त्रालय प्रवेश गर्न पाउनुहुने छैन । सुरक्षाकर्मीले मन्त्रालयको गेटमा तपाईको शरीर खानतलासी लिनेछन्, कतै खल्तीमा चुरोट सुर्ती छ कि भनेर । यदि तपाईको पकेटमा यस्ता पदार्थ भेटिए भने सिधै जफत हुन्छ र डस्टबिनमा हालिन्छ । अनि मात्र तपाईलाई मन्त्रालयमा प्रवेश दिइन्छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले भनेका कुरा हुन् यी । स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालयबाटै काम थाल्ने अभियानका रुपमा यो कार्ययोजना अगाडि सार्न लागेको मन्त्री अर्यालले बताइन् । स्वास्थ्य बिटमा काम गर्ने पत्रकाहरुसँग सुझाब माग्न आयोजित कार्यक्रममा उनले नीतिगत रुपमा मात्र नभई ब्यवहारिक रुपमा काम गर्ने उनले बताईन् ।

स्वास्थ्य क्षेत्र सुधारका लागि नियमित रुपमा अस्पताल लगायत स्वास्थ्य संस्थाको अनुगमन गर्ने मन्त्री अर्यालको भनाई छ । उनले भनिन्– ‘राज्यको तर्फबाट दिइएको सहुलियत जनताले पाएका छन्कि छैनन्, जनताले थाहा पाउनेगरी स्वास्थ्य केन्द्रमा छड्के निरीक्षण हुन्छ, अस्पताल सरसफाई लगायत अन्य विषयमा पनि अनुगमन हुन्छ ।’

१७ सय वडा स्वास्थ्य सेवा केन्द्र विहीन

यसैबीच मन्त्री अर्यालले देशभरिका ६ हजार ७ सय ४३ वडामध्ये १७ सय वडामा अझै स्वास्थ्य केन्द्र नभएको बताइन् । मन्त्रालयको पहिलो चुनौती स्थानीय तहमार्फत ती स्थानमा स्वास्थ्य केन्द्र स्थापना गर्नु रहेको उनले बताइन् ।

संविधानमा स्वास्थ्य अनिवार्य मौलिक हक रहेपनि ब्यवहारमा कार्यान्वयन हुन नसक्नु दुःखदायी भएको उनको भनाई थियो । उनले यी वडामा कसरी स्वास्थ्य केन्द्र स्थापना गर्ने बारेमा छलफल भइरहेको बताउँदै आगामी नीति तथा कार्यक्रमबाट त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताइन् ।

आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई कसरी संबोधन गर्ने, कस्तो नीति तथा कार्यक्रम बनाउने भन्ने सन्र्दभमा सातवटै प्रदेशका मन्त्रीहरुलाई बोलाएर छलफल गर्ने योजना रहेको राज्यमन्त्री अर्यालले जानकारी दिइन् । उनले मन्त्रालयसँग जोडिएका र समस्या हल गरेर अगाडि बढ्ने उनको भनाई छ ।

यस्तै स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघीयतामा अस्पताल सेवा हस्तान्तरण गर्ने योजना रहेको बताइन् । उनले १५ बेडभन्दा तलका प्राथमिक अस्पताल स्थानीय तहमा र १५ देखि माथिका अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने योजना रहेको बताइन् । राष्ट्रिय अस्पताल, प्रतिष्ठान अस्पतालहरु केन्द्रमा रहने प्रस्ताव गरिएको जानकारी उनले दिइन् ।

स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयले विभिन्न प्रकारका स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रमहरु गरिहेको बताइन् । उनले औषधी खरिदका लागि स्थानीय तहलाई अधिकार दिएको बताउँदै आधारभूत स्वास्थ्य केन्द्रका लागि औषधी खरिदमा समस्या रहेको बताइन् ।

 

 

0
Shares

Comments

comments