भारत भ्रमण नेपालको हितमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताउनुभएको छ । सुनचाँदी व्यावशायी महासँघको पाँचौ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको हितको पक्षमा छिमेकीसँग कुरा गर्न मात्र होइन त्यसलाई सदर गराउन पनि सकिने बताउनुभएको छ । “देशको चासोका बिषय छिमेकीसाग छलफल गरेर सदर गराउन सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार रोजगारी सृजना गर्ने,उत्पादन बढाउने,जनताको आर्थिक स्तर उकास्ने कार्यमा लागेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकार व्यावशायीको सुरक्षामा गम्भिर रहेको बताउनुभएको छ । उहाँले व्यावशायी मात्र हैन हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने बताउनुभएको छ । “नेपालको सिमा भित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता गर्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गैह्र कानुनी,हिंसात्मक र अपराधपूर्ण क्रियाकलापलाई सहदैन ।”

प्रधानमन्त्री ओलीले अबको नेपालमा अबैधानिक काम,तस्करी जस्ता कुराहरु बर्जित हुने बताउनुभएको छ । “तस्करीको कुरा गर्दा सुनको पनि नाम आंउछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अब जे गर्नुछ कानुनी तवरले गर्नुहोस । कानुनी अफ्ठ्यारा छन् भने त्यसलाई फुकाउने काम सरकारले गर्छ ।” प्रधानमन्त्री ओलीले व्याववशायीहरुलाई हरेक व्यावशाय नक्कली होइन सक्कली ढंगले गर्न आग्रह गर्नुभएको छ । नाफामुखी मात्र भन्दा पनि हरेक उपभोक्ताको हितलाई ध्यान दिएर काम गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

0
Shares

Comments

comments