पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनुपमा खुञ्जेली नियुक्त हुनुभएको छ । मेगा बैंक लिमिटेड सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले बैशाख २ गतेबाट लागू हुने गरी खुञ्जेलीलाई सिइओ नियुक्त गरेको हो । उहाँले सोही दिनबाट औपचारिक रुपमा पदभार ग्रहण गरी सक्नुभएको छ । यससंगै ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर बन्नुभएको छ ।

 

सिइओ नियुक्त भएपछि उहाँले मेगा सञ्चालक समितिले दिएको जिम्मेवारीप्रति धन्यवाद दिंदै आभार व्यक्त गर्नुभएको छ । मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । थप लोकप्रिय एवं नविनतम योजनाहरु ल्याएर बैंकलाई देशको अग्रणी बैंकको रुपमा स्थापित गर्ने खुञ्जेलीको अठोट छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले नवनियुक्त सिइओ खुञ्जेलीले मेगालाई सफलताको नयाँ उचाईमा पु¥याउनेमा संचालक समिति विश्वस्त रहेको बताउनुभयो । नेपालको इतिहासमै पहिलो महिला सिइओ बन्ने अवसर प्राप्त गरेकोमा उहाँले बधाई र कार्यकाल सफलताको कामना गर्नुभयो । 

यसअघि कायममुकाम सिइओ रहनुभएकी खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । ८ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गर्नुभएकी खुञ्जेली नायब प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकाम सिइओ बन्नुभएको थियो ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गर्नुभएकी खुञ्जेलीसँग २७ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

0
Shares

Comments

comments