कुनैपनि मूल्यमा पार्टी एकता बाट पछाडि नफर्किने: अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनैपनि मूल्यमा पार्टी एकता र वाम गठबन्धनबाट पछाडि नफर्किने बताएका छन्।

काठमाडौंको तारेभीर महोत्सवको उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकता र गठबन्धन दुई तिहाई मतले अनुमोदन भैसकेकाले जिम्मेवारी अब नेतृत्वको काँधमा आएको बताए।

‘जो संकल्प जनताको अगाडि गरिएको छ, बलियो कम्युनिष्ट केन्द्र पनि बनोस् र बलियो सरकार पनि बनोस्’, अध्यक्ष दाहालले भने, ‘अब जिम्मेवारी नेतृत्वको काँधमा छ।’

उनले नेपालले ७० वर्षको राजनीतिक अस्थिरता र अराजकताको लामो समय पार गर्ने दाबी गरे।

‘७० वर्ष विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गयो’, उनले भने, ‘अब समृद्धितर्फ मुलुक अगाडि बढ्छ।’

उनले पार्टी एकता हुने दाबी समेत गरे। ‘एमालेका अध्यक्ष केपी ओली र म समेत अब हामी कुनैपनि मूल्यमा पछि नफर्कने र नेपाल राष्ट्र र नेपालीको आकांक्षा अनुसार अगाडि बढ्ने संकल्प हामीले गरेका छौँ’, अध्यक्ष दाहालले भने, ‘नयाँ युगको सुरूवात हुने विश्वास दिलाउन चाहान्छु।’

प्रचण्डले ७० वर्षपछि स्थायी सरकार बन्न लागेको बताए। ‘देशमा पाँच वर्षका निम्ति विकास निर्माणले गति दिने सरकार निर्माण गर्दैछौँ’, उनले भने।

0
Shares

Comments

comments