एमसिसीविरुद्ध सुर्खेतमा विप्लव समूहको प्रदर्शन

everest kitchen

सुर्खेत : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कार्यकर्ताले एमसिसी सम्झौताको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कोणसभा गरेका छन्। एमसिसीको राष्ट्रव्यापी विरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रमअनुरूप आइतबार  उनीहरूले विरोधस्वरूप कोणसभा गरेको जनाएका छन्।

राज्यले प्रतिबन्ध लगाएपछि उनीहरू कर्णालीको राजधानी वीरेन्द्रनगर बजारमा कार्यक्रम गर्ने थाहा पाएपछि प्रहरीले हस्तक्षेप र दमन गर्ने भएकोले उनीहरूले प्रशासनलाई भुक्काउँदै विरोध प्रदर्शन गर्दै आएका छन्।

पार्टी कार्यकर्ता रिहाइको माग गर्न शनिबार सुर्खेत क्षेत्रीय हस्पिटलको चोक प्रयोग गरेका विप्लवका कार्यकर्ताले आइतवार एमसिसीको विरोधमा कोणसभा गर्न वीरेन्द्रनगरको हरिडिलभूमि माविको चोकबाट नारा लगाउन सुरु गरेकाेे थाहाखबरमा खबर लेखिएकाे छ ।

कोणसभामा अमेरिकाले हिन्द-प्रशान्त रणनीतिको मुख्य उद्देश्य चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने भने पनि अमेरिकाको नेपाल केन्द्रित चारवटा भित्री योजना रहेको विप्लवका कार्याकर्ताले बताएका छन्।

पहिलो, चीनको प्रभावलाई रोक्ने, दोस्रो दक्षिण एसियामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कम्युनिस्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने अमेरिकाको भित्र उद्देश्य रहेको भन्दै एमसिसी सम्झौता खारेज हुनुपर्ने बताएका छन्।