म्यानपावर कम्पनीले आफूखुसी कामदार छनोट गर्न नपाउने

everest kitchen

 

 

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारका लागि अनलाइनबाट आवेदन दिएका मध्येबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछि मात्रै राहदानी लिन पाउनेछन् ।

वैदेशिक रोजगार विभागले कामदार भर्ना प्रक्रियालाई पारदर्शी बनाउन बुधबारदेखि लागू हुने गरी नयाँ संयन्त्र बनाएको छ । ‘सबै कामको नियमन अनलाइन प्रणालीबाटै सुरु भएको छ,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने, ‘कामदार भर्ना प्रक्रिया त्यही प्रणालीभित्र जोडिएको छ ।’ विभागले इजाजतप्राप्त ८ सय ५३ वटा म्यानपावरलाई संयन्त्रभित्र जोडेको छ । उनीहरूलाई अलग–अलग ‘युजर नेम र पासवर्ड’ दिइएको छ । आवेदन दिएका कामदारलाई मात्रै म्यानपावरले तोकिएको दिन र ठाउँमा अन्तर्वार्ता लिन पाउनेछन् । ‘विभागलाई कुन दिन, कहिले र कहाँ, कसले अन्तर्वार्ता लिइरहेको छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘विभागको सूचनाभन्दा बाहिर भएका अन्तर्वार्ता सबै गैरकानुनी हुन् ।’

म्यानपावरले आवेदनकर्ताबाट मात्रै अन्तर्वार्ता लिन पाउनेछन्, जसको सूची पहिल्यै अनलाइनबाट दर्ता भइसकेको हुनेछ । ‘अन्तर्वार्ताबाट छनोट गरेपछि झन्डै २५ प्रतिशतलाई वैकल्पिक सूचीमा राख्नुपर्नेछ, छनोट भइसकेका व्यक्तिको भिसा नआए वा कामदार आफैं जान इच्छुक नभए मात्रै वैकल्पिकबाट श्रमस्वीकृति लिन पाइनेछ,’ उनले भने, ‘श्रमस्वीकृति प्राप्त भइसकेका कामदारलाई म्यानपावरले उडाउनुपर्नेछ । नउडाएमा कारणसहित विभागलाई जानकारी दिनुपर्नेछ ।’

यो प्रणालीले कामदार छनोट प्रक्रियामा हुने चलखेल रोकी शून्य लागतमा पठाउने नीतिलाई लागू गर्न सजिलो हुने दाबी विभागको छ । ‘बिचौलिया (एजेन्ट) को सहयोगबिना म्यानपावर कम्पनीसम्म कामदार नपुग्ने स्थिति अन्त्य हुनेछ, म्यानपावर र कामदारबीचको सिधा सम्पर्क कायम हुनेछ,’ भुसालले भने, ‘एउटा म्यानपावर व्यवसायीले अन्तर्वार्ता लिने र अर्कोले श्रमस्वीकृति निकालिदिने, छनोट प्रक्रियामा समावेशै नभएकाको पनि श्रमस्वीकृति निकाल्ने प्रवृत्तिले गर्दा कामदार ठगिने वा उजुरीमा कारबाही गर्नसमेत कठिनाइ आउने अवस्थाको अन्त्य हुनेछ ।’

वैदेशिक रोजगार सूचना प्रणाली (अनलाइन) मार्फत् नै पूर्वस्वीकृति लिने, विज्ञापनको अनुमति लिने, आवेदन संकलन गर्ने, छनोट गर्ने र श्रमस्वीकृतिका लागि पेस गर्ने काम सुरु भएकाले भर्ना प्रक्रियालाई पारदर्शी बनाइएको उनले बताए । प्रणालीमा प्रमुख गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरूसमेत जोडिएका छन् । उनले भने, ‘कारोबार रोक्का भएका अवस्थामा समेत म्यानपावरले आफ्नो मागपत्रबमोजिमको कोटा अर्कैबाट पठाउने कार्यसमेत रोकिनेछ ।’ यसअघि विज्ञापन र सूचना प्रकाशन औपचारिकताका लागि मात्रै भइरहेका थिए ।

चालु आर्थिक वर्षको चार महिनामा एक लाख ५८ हजार ७ सय ७८ नेपाली वैदेशिक रोजगारमा गइसकेका छन्, जसमा १४ हजार ५९ जना महिला छन् भने म्यानपावरविरुद्ध ४ सय ८४ वटा उजुरी परेका छन् । ‘उजुरीको छानबिन गरी विभागले पीडितलाई ३ करोड ४३ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको छ, म्यानपावरलाई ४४ लाख ५० हजार रुपैयाँ थप जरिवाना गरिएको छ,’ उनले भने ।

 

Hom karki / ekantipur