हाेटलमा नयाँ मापदण्ड , २५ प्रतिशत रैथाने खाना अनिवार्य

everest kitchen

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पदप्रदर्शकका लागि नयाँ मापदण्ड तोकेको छ । जसमध्ये होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बी एन्ड बी)हरुको वर्गिकरण र मापदण्ड निर्धारण गरेको हो ।

होटलको मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिवकार उपलब्ध हुने व्यवस्था हुनुपर्नेछ भने नेपालमा उत्पादित खाद्य वस्तुको प्रयोगलाई प्राथमिकता दिनु पर्नेछ ।

नेपाली स्वादसहित कम्तीमा प्रचलित ३ प्रकारको कफी र ५ प्रकारको चिया उपलब्ध हुने व्यवस्था भएको हुनुपर्नेछ । एपिटाइजर, सलाद, सुप १५ मिनेटभित्र र मेन कोर्स अर्डर लिएको २५ मिनेटभित्रमा सर्भिस गरिसक्नुपर्नेछ । खाना ल्याउँदा ६० डिग्री सेल्सियस तापक्रमभन्दा माथिको हुनुपर्नेछ ।

जसमध्ये एक तारे होटलदेखि पाँच तारे होटल अनिवार्य बलियो भू–धरातलमा बनेको हुनुपर्ने, होटलमा खुला र आकर्षक प्रवेशद्वार, मौसमी फूलफूल्ने बँगैचाको व्यवस्था, होटल परिसरभित्र डुल्न, घुम्न र आराम गर्न मिल्ने सुविधासहितको कम्पाउण्ड वालले घेरिएको हुनुपर्नेछ ।

त्यस्तै रुख विरुवा सहित हरियालीयुक्त शान्त र मनोरम वातावरण रहेको हुनुपर्ने, होटल परिसरमा पूर्णरुपमा धुलोरहित स्वच्छ र सुरक्षित भएको र नियमत रुपमा उचित ममर्त सम्भार भएको हुनुपर्नेछ ।

त्यस्तै, एक र दुई तारे होटलमा अपेक्षित र तीनदेखि पाँच तारे होटलमा अनिवार्य रुपमा भवन तथा अन्य संरचनाको कुल क्षेत्रफलको बढीमा ४० प्रतिशत भू–भाग ओगटेको हुनुपर्नेछ ।

साथै सबै तारे होटलमा अनिवार्य रुपमा वातावरण संरक्षण सम्बन्धी प्रचलित कानून बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको हुनुपर्नेछ । साथै भवन ऐन २०५५ तथा नियमावली २०६६ र राष्ट्रिय भवन संहिता २०६० बमोजिम स्वीकृति हुनुपर्नेछ । साथै आधुनिक बनावट र पुरानो भए उचित सम्भारको साथै ऐतिहासिक तथा सास्कृतिक सम्पदा प्रतिविम्वित हुने, ऐतिहासिक तथा सास्कृतिक सम्पदालाई अवरोध हुने किसिमले भवन निर्माण भएको हुनुपर्नेछ ।

साथै पार्किङका लागि एक तारे होटलमा ५ वटा, दुई तारे होटलमा १० वटा, तीन तारे होटलमा १५ वटा, चार तारे होटलमा २० वटा र पाँच तारे होटलमा २५ वटा र पाँच तारे डिलक्स स्तरको होटलमा ४० वटा सवारी साधन पार्किङको व्यवस्था हुनुपर्नेछ ।

साथै चार, पाँच र पाँच तारे डिलक्स होटलमा कम्तीमा ३ वटा देशको झण्डा राख्नका लागि पोल समेत राख्नुपर्नेछ । साथै यी होटलमा विहान ८ बजेदेखि साँझ ६ बजेसम्म खेलकुदको सुविधा हुनुपर्नेछ ।

सबै तारे हाटलमा २४ घण्टा नै होटल सञ्चालनको व्यवस्था हुनुपर्नेछ भने तीन तारे वा सोभन्दा माथिल्लो स्तरका होटलमा २४ घण्टा नै रुम सर्भिसको व्यवस्था हुनुपर्नेछ । सबै तारे होटलको हकमा गेस्टलाई होटलसम्म वा होटलदेखि बसपार्क र विमानस्थलसम्म आवतजावतका लागि सुविधाजनक सवारी साधनको व्यवस्था हुनुपर्नेछ । भने चार तारे, पाँच तारे र पाँच तारे डिलक्स होटलको हकमा कम्तीमा २ वटा आफ्नै सुविधा सम्पन्न सवारी साधन हुनुपर्नेछ ।

सबै तारे होटलमा पाहुनाका बहुमूल्य वस्तु राख्नका लागि रिसेप्सन नजिकै डिपोजिट लकरका व्यवस्था हुनुपर्नेछ । होटलका सबै क्षेत्रमा पर्याप्तमात्रामा प्रकाशको व्यवस्था भएको तथा आवश्यकता अनुसार विद्युत आपूर्ती एवम वैकल्पिक व्यवस्था भएको हुनुपर्नेछ ।

होटलको लवीको हकमा पनि एक तारे होटलमा १० जना अट्ने लवी हुनपर्नेछ । त्यस्तै, २ तारे होटलको हकमा १५ जना, ३ तारे होटलको हकमा २० जना, ४ तारे होटलको हकमा ४० जना, ५ तारे होटलको हकमा ६० जना र ५ तारे डिलक्स होटलको हकमा ८० जना अट्ने लवी हुनुपर्नेछ । लवीको बीचमा मौसम अनुसारका फूलहरु राखी आकर्षक हिसाबले सजावट भएको हुनुपर्नेछ ।

होटलको रिसेप्सनमा बस्ने कर्मचारीले कम्तीमा नेपाली र अग्रेजी भाषा जानेको हुनुपर्नेछ । होटलमा आन्तरिक तथा बाह्य उडानका लागि यातायात साधनको टिकटिङको व्यवस्था हुनुपर्नेछ ।

सबै तारे होटलमा फोन गर्दा बढीमा तीन घण्टीभित्र टेलिफोन उठ्ने व्यवस्था हुनुपर्नेछ भने टेलिफोनमा सम्बोधन अभिवादन तथा आफ्नो आउटलेटको नाम लिने व्यवस्था हुनुपर्नेछ ।

गेस्ट होटलमा आएको एक मिनेटभित्र नमस्कार सहितको अभिवादन गर्ने व्यवस्था हुनुपर्ने छ भने नगद, क्रेडिट कार्ड वा अनलाइन भुक्तानीको समेत व्यवस्था हुनुपर्नेछ । पत्रपत्रिका तथा पर्यटक सम्बन्धि जानकारीमूलक सामग्री होटलको क्षमता अनुसारको व्यवस्था गर्नुपर्नेछ ।

होटलमा नेपाल राष्ट्र बैंकबाट खरिद र बिक्री दर स्वीकृत भएका विदेशी मुद्राहरुको बिनिमय दरहरु फ्रन्ट डेस्कमा डिस्प्ले गर्नुपर्नेछ भने होटलमा धर्म अनुसारको प्रार्थना गर्ने कक्ष वा सुत्ने कोठामा प्रार्थनाका लागि दिशा खुलाइएको संकेत टाँस्नुपर्ने छ ।

सबै तारे होटलमा प्रवेशद्वारदेखि सीसीटीभीको व्यवस्था हुनुपर्नेछ भने ६ महिनासम्म रेकर्ड सुरक्षित राख्नुपर्नेछ । गेस्टको लगेजलाई प्रविधियुक्त उपकरणले जाँच गर्नुपर्नेछ ।

त्यस्तै, सुत्ने कोठा संख्याको हकमा एक तारेमा २० वटा, २ तारेमा ४० वटा, ३ तारेमा ६० वटा, ४ तारेमा ८० वटा, ५ तारेमा १०० वटा र ५ तारे डिलक्स होटलमा १५० वटा सुत्ने कोठाको व्यवस्था हुनुपर्नेछ ।

त्यस्ते, सुत्ने कोठाको क्षेत्रफलको हकमा एक तारा स्तरको सिंगल बेडरुम १५० वर्ग फिट, डबल बेडरुम १७० वर्गफिट, २ तारा स्तरको होटलमा सिंगल बेडरुम १५० वर्गफिट र डबल बेडरुप १७० वर्गफिट क्षेत्रफलको हुनुपर्नेछ ।

त्यस्तै, ३ तारे होटलको हकमा सिंगल बेडरुप १७० वर्गफिट र डबल बेडरुम २०० वर्गफिट, चार तारे होटलको हकमा सिंगल रुम १०० वर्गफिट र डबल बेडरुम २०० वर्गफिट क्षेत्रफलको हुनुपर्नेछ ।

त्यस्तै, पाँच तारे होटलको हकमा सिंगल रुम २२५ वर्गफिट र डबल रुम २५० वर्गफिट क्षेत्रफल, पाँच तारे डिलक्स होटलको हकमा सिंगल रुम २२५ वर्गफिट र डबल रुमको हकमा २५० वर्गफिट क्षेत्रफलको हुनुपर्नेछ । त्यस्तै, ट्रिपल र ट्विन रुमको हकमा समेत सोही अनुपातको क्षेत्रफल हुनुपर्नेछ ।

clickmandu