लघुकथा : ग्राहक
राजु क्षत्री अपुरो
———
एकाबिहानै चिया पिउनु मेरो बानी नै बसेको थियो । आफ्नो डेरा बाहिर थुप्रै पसलहरू थिए। म चिया पिउने पसलमा अन्य पसलको तुलनामा त्यति ग्राहक आउँदैनथे। चिया पिउँदै पत्रिका पढ्दै गरेको देखेर बाटोमा हिँडेका परिचितहरू मलाई देखेर पस्ने गर्दथे भने देखे नदेखे झैं गरि हिँड्नेलाई म आफैँ पनि बोलाउँथे। फुर्सद हुनेहरू आउँथे चियाको चुस्कीसँगै गफ गर्थे । दु:ख सुख साट्दथे । समसामयिक विषयमा चर्चा परिचर्चा हुन्थे। एवं रितले दिनहरू बित्दै गए।
केही महिना अघि खोलिएको त्यो पसल अब पहिला जस्तो थिएन । पसलले बृहत् रुप लिन थालेको थियो। ग्राहकहरूको घुइँचो नै लाग्न थालिसकेको थियो। हिजो ग्राहक नपाएर माखा भन्काउँदै बसेको पसले अब कामदारहरू राखेर पसल चलाउन थालेको थियो। उसको ब्यापार चलेकोमा मलाई पनि आत्म सन्तुष्टि हुन्थ्यो।
सदादिन झैँ म त्यो पसलमा चिया पिउन गएँ । आफ्नो नियमित दिनचर्या झैँ चिया पिउँदै केही बेर पत्रिका पढ्ने बानीलाई निरंतरता दिन थालेँ । त्यही मेसोमा एउटा कामदार आएर भन्यो : ए बाजे, हाम्रो साहुले भनेको, चिया पिइसकेर धेरै बेर नबस्नुस् न , अरु ग्राहकहरूले बस्ने ठाउँ पाएनन् अरे !”