तलब नदिएपछि नगरपालिकामा कर्मचारीकाे तालाबन्दी

everest kitchen

रौतहट : साउन महिनादेखिको तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका छन्।

नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको ढोकामा ताला लगाइदिएका हुन्। तलबको माग राख्दै गत असोज ६ गतेदेखी शान्तिपुर्ण रुपमा आन्दोलन गदै आएपनि नगरपालिकाले वेवास्ता गरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले बताए।

तलब नपाएसम्म आन्दोलन जारी हुने उनको भनाइ छ। जनप्रतिनिधिहरुको विवादले कर्मचारीलाइ मार परेकोले जतिसक्दो चाँडो तलब उपलब्ध गराउन कर्मचारीहरुको माग छ।

यो नगरपालिकामा १ सय ९३ जना शिक्षकसहित २ सय ८० भन्दा बढी कर्मचारी कार्यत छन्। यी कर्मचारीले गत साउन महिनादेखिको तलब पाएका छैनन्। असार मै गरिसक्नुपर्ने नगर सभा समयमा नगरिदिदा कर्मचारीहरुले तलब खान नपाएका हुन।

गत पुस ११ गते नगरप्रमुख गोपाल रायले नगर सभा गरेको भएता पनि उपप्रमुख कान्ती देबीले विरोध गदै आएकी छिन्। नगरसभा सकिनासाथ सो कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहको सरुवा गरिएको थियो।

जसरी पनि प्रशासकीय अधिकृत ल्याउने भन्दै नगरप्रमुख राय अहिले काठमाडौं गएका छन्। कर्मचारीहरुले चाहिँ नगरपालिकामा अनिश्चतकालिन तालाबन्दी गरिदिएका हुन्।

रमेश तिमिल्सिना / थाहाखबर