सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार बनेनन : प्रधानमन्त्री

everest kitchen

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्। बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरे। सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस वेवारिसे नभेटिने दावी गरे।

‘पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो। यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन्’ उनले भने ‘पहिले मान्छेहरु सडकमा लडिरहेका देखिन्थ्यो, झिँगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थे, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकम छैनन्।’उनीहरुलाई सडकबाट उठाएर यो सरकारले प्रवन्ध मिलाएको उनले बताए।

‘नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ, कोही बेघर हुनु पर्दैन। ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ’, उनले भने ‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ। त्यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैन, त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन्, त्यस्ता काम प्रशंसा गर्ने मन भएका सम्पादक छैनन्।’

प्रधानमन्त्री ओलीले आफूले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमा लिने गरिएको भएपनि अहिले काम भइरहेको दावी गरे।

‘पहिले हामीलाई रोडको समस्या थियो।अहिले कोलकत्ता मात्रै होइन् विसखापट्नम, मुम्बइ, पूर्व-पश्चिम सबै ठाउँबाट रोड छ’ उनले भने ‘चीनसँग पनि हामीले विभिन्न सम्झौता गरेका छौँ, धेरै नाकाहरु खुलिसकेका छन्।’

प्रधानमन्त्री ओलीले चेम्बरका व्यवसायीहरुलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनहरुमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको बताए।राताेपाटिबाट