गित चाेरिएकाे ३५ बर्षपछि रेडियो नेपालले म्युजिक नेपाललाई मुद्दा हाल्दै

काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् !

मर्न बरु गाह्रो हुन्न

तिम्रो माया मार्नै सकिनँ

युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो गीत बेच्न राखेको छ, म्युजिक नेपालले । प्रतिलिपि अधिकार पनि म्युजिक नेपालमै सुरक्षित छ । तर, यस गीतको न सर्जक म्युजिक नेपाल हो, न उत्पादक । यसको प्रथम आर्थिक स्वामित्वको अधिकार राख्छ– रेडियो नेपालले ।

यो गीत रेकर्ड गरेबापत् रेडियो नेपालले फत्तेमान मात्र होइन, संगीतकार नातिकाजी, गीतकार तीर्थराज तुलाधार, वाद्यवादक र प्राविधिकलाई पारिश्रमिक दिएको थियो । अर्थात्, यो सरकारी सम्पत्ति हो । तर, डिजिटल बजारमा बेचेबापत् म्युजिक नेपालले लाभांश दिनु त परको कुरा, बिक्रीका लागि रेडियोसँग अनुमतिसमेत लिएको छैन । जब कि सन् २०११ बाट अमाजोनमा राखिएको यो गीतको मूल्य छ– ९९ सेन्ट (करिब एक सय १० रुपैयाँ) । संगीत व्यापारसम्बन्धी न्युज पोर्टल डिजिटलम्युजिकन्युज डटकमले अघिल्लो वर्ष सार्वजनिक गरेको रिपोर्टअनुसार १० लाखपटक गीत प्ले हुँदा युट्युबले सरदर ६ सय ९० डलर दिन्छ भने नेपस्टरले १९ हजार डलर । त्यस्तै, टिडलले १२ हजार ५ सय र एप्पल म्युजिकले ७ हजार ३ सय डलर दिन्छ । तर, गीतको मूल मालिक रेडियो नेपाललाई यसको पत्तै छैन । सरकारी सिर्जनामाथि म्युजिक नेपालको रजगज चलिरहेको छ ।

फत्तेमानको ‘मर्न बरु…’ मात्र होइन, रेडियो नेपालका ३५ हजारभन्दा ज्यादा गीतमाथि म्युजिक नेपालले अधिकार कब्जा गरेको स्रष्टाहरूको दाबी छ । प्रतिलिपि अधिकारप्राप्तिको अभियानमा सक्रिय स्रष्टाहरूका अनुसार यी गीत संसारका ५ सयभन्दा धेरै स्ट्रिमिङ सेवा र पोर्टलमा बेचबिखन भइरहेका छन् । युट्युबबाहेक प्रायः पोर्टलमा त संगीतकार र गीतकारको नामसमेत उल्लेख गरिएको छैन ।

म्युजिक नेपाल ०३९ मा खुल्यो, त्यसको दुई वर्षपछि नै रेडियो नेपालको स्वामित्वमा रहेका गीतहरूको उसले क्यासेटमार्फत बिक्रीवितरण गरेको पाइन्छ । उसले डिजिटल बजारीकरण सुरु गरेको पनि डेढ दशक नाघिसकेको छ । यसरी आफ्ना सिर्जना खुलेआम बेचबिखन हुँदा रेडियो नेपाल किन मौन बस्यो ? म्युजिक नेपालसम्म रेडियोका गीतहरू कसरी पुगे ? सरकारी सम्पत्तिमाथि यतिबिघ्न दोहन हुँदा पनि त्यसविरुद्ध किन कुनै औपचारिक कदम चालिएको छैन ? संगीतवृत्त यी सवालले तातेको छ । गीतकार यादव खरेलसमेत भन्न थालेका छन्– ‘रेडियो नेपालको सम्पत्तिमा रजाइँ चलिरहेको छ तर स्वयं उसमा चासो देखिन्न । यसको सन्देश के हुन्छ ?’

यसरी “चोरिए”

अचम्म त के भने, रेडियो नेपाललाई नै थाहा छैन, ऊसँग कति गीत छन् र कति चोरिए । स्रष्टाको दाबी पत्याउने हो भने, रेडियो नेपाल आफैंले उत्पादन गरेको र रत्‍न रेकर्डिङबाट रेडियोले स्वामित्व ग्रहण गरेका ५० हजार गीत म्युजिक नेपाल पुगेका छन् । तर, ३३ वर्ष रेडियो नेपालमा काम गरेका कार्यक्रम महाशाखा प्रमुख टीका भण्डारी यो आँकडामा सहमत हुँदैनन् । उनका अनुसार रेडियोसँग ५० हजार गीत भए पनि १५ हजारजति चाहिँ हिन्दी गजल, अंग्रेजी गीत थिए । भण्डारी भन्छन्, ‘गीतको यकिन संख्या केही दिनमा मात्र भन्न सक्छौं ।’ संख्या जति भए पनि म्युजिक नेपालसम्म पुग्नु गलत भएको भन्न भने छुटाएनन् भण्डारीले ।

जब म्युजिक नेपाल खुल्यो, स्रष्टाहरूले भटाभट आफ्ना गीत रेडियो नेपालबाट लिन थाले । तर, उत्पादन खर्च रेडियो नेपालले बेहोरेकाले स्रष्टामा ती गीतलाई बेच्ने आधिकारिक अधिकार भने दिइएन । गीत लैजादा ‘प्रचलित कानुनविपरीत नहुने गरी गैरव्यावसायिक कार्यमा मात्र प्रयोग गर्नेछु/गर्नेछौं’ भनेर सही छाप लगाइयो । भण्डारीका अनुसार गोपाल योञ्जन, तारादेवी, नातिकाजी, फत्तेमान, अरुण थापा, राम थापा, प्रकाश श्रेष्ठलगायत स्रष्टाले आफैंले गीत लगे । त्यसरी लगेका कतिपय गीत म्युजिक नेपालसम्म पुगेको भण्डारीको दाबी छ ।

‘हिजो स्रष्टालाई गीत बिक्री हुन्छ भन्ने थाहै भएन, आफ्नो गीतको प्रचारप्रसार र घरमा राख्न भनेर लगे । प्रविधिको विकाससँगै बिक्री हुन थाल्यो । स्रष्टाहरू लोभिए र म्युजिक नेपालमा लगेर गीत दिए,’ भण्डारी भन्छन्, ‘तर, रेडियो आफैंले चाहिँ व्यापारिक प्रयोजनका लागि कहिल्यै कसैलाई दिएको छैन ।’ रेडियो नेपालले २०२२ सालबाट नियमित रेकर्डिङ सुरु गरेको र २०४५–०४६ सम्म दैनिक सरदर दुई गीत रेकर्ड गरिएको उनले जानकारी दिए । ०५३ देखि त रेडियोमा गीत रेकर्डिङ करिब बन्दजस्तै भयो ।

०५२ सालमा रेडियो नेपालले एफएम १०० मेघाहर्ज पनि सुरु गर्‍यो । अरू एफएमले रेडियो नेपालमा समय लिएर कार्यक्रम गरे । पछि ती संस्थाले आफैं एफएम खोले । ‘केही गीत त्यसरी पनि गए । पछि रेडियो नेपालमा बजिरहँदा ‘सेभ’ गर्ने गरेको भन्नेसमेत सुनियो,’ भण्डारी भन्छन्, ‘म्युजिक नेपालले २०५५ सालदेखि करिब एक दशक रेडियो नेपालसँग समय किनेर आफ्नो उत्पादन बजायो । त्यतिबेला पनि लगेको हुन सक्छ ।’

रेडियो नेपालकै कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले त रेडियोका पूर्वकर्मचारीले म्युजिक नेपाललाई दिएको हुन सक्ने शंका गरे । संगीतकार संघका महासचिव पारस मुकारुङ प्रश्न गर्छन्, ‘मिलेमतोबिना त्यतिबिघ्न गीत म्युजिक नेपाल पुग्ने सम्भव छ ?’ उनले म्युजिक नेपालले त्यतिबेला गरेको करार अन्यायपूर्ण भएको दाबीसमेत गरे । भविष्यमा आउने जुनकुनै प्रविधिमा बेच्न म्युजिक नेपाल रहिन्जेलसम्म अधिकार हुने भनेर करार गरिएको छ । दोस्रो पक्ष स्पष्ट नभई गरिएको सम्झौता ‘करार ऐन, २०५६’ अनुसार बदर हुने उनको भनाइ छ । ‘पैसा नभएर छटपटिएका कलाकारले बाध्य भएर करार गरे । त्यसमाथि ती गीतमा रेडियोको पनि स्वामित्व थियो । त्यसैले गीतकार, संगीतकार, गायक र उत्पादक हरेक पक्षसँग अनुमति लिनुपर्छ नत्र त्यो स्वतः अमान्य हुन्छ,’ उनले भने ।

रहस्यमय मौनता

चाहे स्रष्टा स्वयंले दिएका हुन्, चाहे चोरबाटोबाट पुगेको होस्, म्युजिक नेपालले गीत पहिले क्यासेट–सीडीमा र पछि डिजिटल बजारमा मनलाग्दी ढंगले बेचिरहेको थियो/छ । युट्युबमै छ्यास्छ्यास्ती हुन थालेकै दशक नाघ्यो । तर रेडियो नेपालले वास्ता गर्दै गरेन । बरू यसमा रेडियो नेपालका अधिकारीको प्रस्टोक्ति थप लाजमर्दो छ । कार्यकारी निर्देशक कार्की भन्छन्, ‘रेडियोका गीतबाट म्युजिक नेपालसहित अन्य केही कम्पनीले अनधिकृत रूपमा व्यापार गरेको दुई वर्षअगाडि मात्र थाहा भयो । त्यसपछि हामीले अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढायौं ।’ त्यसो भए, दुई वर्षमा के प्रगति भयो ? साँच्चै भन्दा ‘ठगी’ रोक्नका लागि कुनै प्रभावकारी प्रयास नै भएन । भलै कार्की सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीसँग सर्वपक्षीय छलफल गराउनु ठूलै उपलब्धि भएझैं गर्छन् ।

यथार्थ त के हो भने, गीतकार संघ र संगीतकार संघले बारम्बार ताकेता गरेपछि रेडियो नेपाल चनाखो हुन बाध्य भएको हो । गत मंसिर ३० गते दुई संघले ‘रेडियो नेपालको सम्पत्ति सीमित संगीत व्यवसायी र बिचौलियाले क्यासेट, सीडी तथा अन्य डिजिटल प्लेटफर्ममार्फत संसारभर बेचबिखन गरिरहेका छन् । बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको रक्षार्थ १५ दिनभित्र आवश्यक सूचना उपलब्ध गरी पाऊँ,’ भन्ने आशयको पत्र लेखे । पुस १३ मा ‘कसैलाई बेचेको छैन’ भनेर रेडियोले जवाफ दियो । त्यसको भोलिपल्ट बल्ल आफ्नो स्वामित्वमा रहेका गीतहरू विभिन्न संघसंस्थाले बेचबिखन गरिरहेको जानकारी पाइएको, त्यो बन्द गर्न र यसअगाडिको व्यापारबाट भएको आम्दानी रेडियोलाई बुझाउन भन्दै ३५ दिने सूचना निकाल्यो । तर, म्युजिक नेपाललाई पत्रसमेत काटेन । त्यति मात्र होइन, प्रतिलिपि अधिकार प्राप्तिको अभियानसमेत साथ नदिएको स्रष्टाहरूको गुनासो छ । याे सामाग्री ईकान्तिपुरमा गाेकर्ण गाैतमले लेखेका छन ।
https://youtu.be/MK_Etz3u4HA