म अहिले चीनको वुहान प्रान्तको तोङसेकु जिल्लामा छु । १३ दिनदेखि म बसेको घरबाट बाहिर निस्केको छैन अथवा बाहिर निस्कन दिइएको छैन । २ महिनाअघि बिभिन्न बैठक र कामका सिलसिलामा यहाँ आइपुगेको थिएँ । यसबीचमा कोेरोना भाइरस यहि ठाउँबाट शुरु भएकाले ‘सटडाउन’ भइहाल्यो ।
म सन् २००९ देखि छाङसा मेडिकल मडिकल युनिभर्सिटी र जिउजाङ युनिभर्सिटीको इन्टरनेशनल कोअर्डिनेटर र सल्लाहकार छु । तोङ्जी अस्पतालमा पनि हेपाटोलोजी स्टिम सेल र अल्कोहलिक लिभर डिजिजको रिसर्च स्कलरका रुपमा कार्यरत छु ।
आज फेब्रुअरी ५ को विहान ८ः१५ सम्म चीनमा कोरोना भाइरसबाट २४ हजार ३२४ जना संक्रमित भइसकेका छन् । तीमध्ये ४९० जनाको मृत्यु भइसकेको छ । २८ सयजनाको क्रिटिकल केस छ । २३ हजार ८९० जना स्क्रिनिङका लागि आइसोलेनमा छन् ।
कोरोनाबाट चीनभर ४० हजार जना प्रभावित भएको अनुमान छ । तीमध्ये १५ सयदेखि तीन हजारजनासम्म मर्न सक्ने विज्ञहरुले बताएका छन् ।
कोरोना भाइरसको उद्गम थलो भएकाले वुहानमा अहिले सार्वजनिक यातायात ठप्प छ । जनवरी २३ देखि यहाँ ‘सटडाउन’ भएको हो ।
म पहिलो पटक भाइरस भेटिएको ठाउँ हाउखाउबाट नौ किलोमिटर टाढा तोङसेकुमा बस्छु । यहाँबाट केही किलोमिटर परका ठाउँ–ठाउँमा ४० जना जति नेपाली छन् । यहाँ एकजना पनि नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छैन । कसैले पनि गलत सूचना नदिन म सबै नेपालीलाई आग्रह गर्छु ।
यहाँ हामी ३७/३८ देशका विदेशी नागरिक छौं । सबैलाई सरकारले निःशुल्क खाना बाँड्ने गरेको छ । विहान १० देखि १२ बजेभित्र म बसेकै घरको पहिलो तलामा खाना आउँछ । त्यस्तै, बेलुका ५ देखि ६ बजेभित्र फेरि खानेकुरा ल्याएर दिन्छन् ।
सर्जिकल मास्क र अरु आधारभूत ह्याण्ड सेनिटाइजर पनि निःशुल्क दिएको छ । बेला–बेला प्रहरी र सामुदायिक स्वास्थकर्मीहरु आएर रिपोर्ट लैजान्छन् । सबैको अनुगमन भइरहेको छ ।
हतार नगरौं, एक साता पर्खौं
१३ दिनदेखि ‘सटडाउन’ भएकाले आफूले भनेको बेला, भनेजस्तो खानेकुरा नपाउनु स्वभाविक हो । र पनि, विहान ८ देखि साँढे १२ बजेसम्म र बेलुका केहीबेर सुपरमार्केट खुल्ने तोकिएको छ । बाहिर हिँड्न चाहिँ पूर्ण रुपमा बन्देज छ । हामी १३ दिनदेखि घरभित्रै छौं, तर खान नपाएर मर्न लागेको भन्ने नचाहिदो हल्ला हो ।
अहिले नेपाल सरकारले चीनमा रहेका आफ्ना नागरिकलाई किन उद्दार गरेन ? भन्ने प्रश्न पनि उठेको छ । यहाँबाट पनि कतिपय साथीले सामाजिक सञ्जालमा सरकारले बेवास्ता गर्यो भन्नुभएको छ । उहाँहरुको कुरा गलत हो भनेर म भन्दिन । कतिपय साथी साँच्चै नै स्वदेश जान चाहनु हुन्छ ।
मेरो आग्रह चाहिँ के छ भने हामी धेरै भावुक नबनौं । डेढ अर्ब जनसंख्या भएको चीनले कसरी यसलाई नियन्त्रण गर्दैछ भन्ने बुझौं । १४ दिनभित्र अर्थात भोलिसम्ममा यहाँ ४० हजार बिरामीको स्क्रिनिङ भइसक्छ । ढिलोमा पर्सिसम्म सबै फाइनल हुन्छ । त्यसपछि चिनमा कोरोना भाइरस संक्रमितको संख्या थपिदैन ।
फेब्रुअरी १३ पछि यहाँको जनजीवन सामान्य अवस्थामा फर्किन्छ । अबको सात दिनपछि यहाँका होटल, पसल, कम्पनी सबै खुली सक्छन् । त्यस कारण हतार नगरौं, एक साता पर्खौं ।
फर्काउनुअघि यस्तो तयारी होस्
नेपाल फर्किन निकै इच्छुक साथीहरुलाई सरकारले लैजाओस् । तर, लैजानुअघि राम्रो तयारी होस् । नत्र थेग्न नसक्ने भयावह अवस्था आउन सक्छ । अहिले हामी कोही पनि संक्रमित होइनौं । १४ दिनपछि कुनै नेपाली अस्पतालमा भर्ना भएन भने हामी भाइरसविहीन नेपाली हौं । यो कुरा बुझौं ।
नेपालमा आइसोलेसनमा राख्न पहिल्यै भरपर्दो तयारी होस् । नेपाल फर्कन १८० जनाले नाम लेखाउनुभएको छ । उहाँहरुमध्ये कुनै एक वा दुईमा संक्रमण रहेछ भने जापानको जस्तो अवस्था आउन सक्छ । त्यहाँ एउटा पानीजहाजमा दुई जना चिनियाँबाट फैलिएको संक्रमण ४० जनामा देखिइसक्यो ।
एक वा दुईजनामा यो भाइरसको संक्रमण रहेछ भने प्लेनभित्रका सबैमा सर्न सक्छ । त्यसकारण नेपाल लैजान आइसोलेशन गाउन, ह्याण्ड ग्लोब, मास्क, हेडक्याप सहित आउनुपर्छ । नेपालमा झरिसकेपछि राख्न गतिलो तयारी गर्नुपर्छ । के बिर्सनु हुदैन भने एयरपोर्टबाट जहाँ पुर्याइन्छ त्यो बीचमा भाइरसको संक्रमण हुनसक्छ ।
हामी सबै आत्तिएका छौं, तर म फेरी अनुरोध गर्छु ‘अब एक साता धैर्य गरौं । नफैलिएको संक्रमण नेपालमा पुग्न नदिउँ ।’
(वुहानमा रहेका मेडिकल रिसर्चर डा. रमेश आचार्यसँग अनलाइखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीमा आधारित) याे सामाग्री अनलाइन खबरबाट साभार गरिएकाे हाे