दप्स शाहकाे एकल कबिता वाचन, काे हुन दिप्स शाह ?

everest kitchen

काठमाडौं, ४ फागुन । नयाँअनलाइन डटकमको आयोजनामा कवि दीप्स शाहको एकल कविता वाचन सम्पन्न भएको छ । शनिबार अनामनगरस्थीत पाना क्याफेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्राज्ञ तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले दीप्स शाहलाई सस्तो नारावादी नभई विचारोत्तेजक कविको रूपमा चित्रण गरेका थिए । केही समय अगाडि नेपाली नारी हस्ताक्षरसम्बन्धि पुस्तकमा दीप्सको परिचय पढेको जनाउँदै अब दीप्स नारी हस्ताक्षरमात्र नभई सिंगो मुलुकको हस्ताक्षर हुन्, पौडेलको भनाई थियो ।

कवितामाथि टिप्पणी गर्दै साहित्यकार बिना थिङ् तामाङले दीप्सका कवितामा आशावादी भेटाएको बताइन् । कविता होइन भन्दै धुँवादार कविता बोल्ने कवि दीप्सको सबै कवितामा आगो ओकलेको कुरा तामाङले चर्चा गरिन् ।

कार्यक्रममा उपन्यासकार मनिषा गौचन, श्रष्टा उषा शेरचनले पनि कवि दीप्सलाई शुभकामना दिएका थिए ।

एकल कविता वाचनमा दीप्सले १२ वटा कविता सुनाएकी थिइन् भने सर्जकहरू सिर्जना राई, मिना कुलुङ, विष्णु नेम्बाङ, तिब्बत दर्लामीले शाहका एक एक कविता वाचन गरिदिएका थिए ।

नयाँअनलाइनका देवेन्द्र खापुङले सकेसम्म हरेक महिना यस्ता कार्यक्रमहरू गर्दै आउने जानकारी दिएका थिए ।

को हुन् दीप्स शाह?
वि.सं. २०३८ सालमा आमा शर्मिला सुवेदी र बुबा स्व. हरिप्रसाद सुवेदीको छोरीको रूपमा थाक्रे ८, जुगेखोला धादिङमा जन्मिएकी हुन् कवि दीप्स शाह । सानै उमेरदेखि साहित्यमा रुचि राख्ने दीप्सले प्रसुन (साहित्यिक सँगालो २०६२), आगो (कविता सँग्रह २०६७, २०६८), मुस्कानी फूलहरू (कविता सँग्रह २०६९), कृति प्रकाशन गरिसकेका छन् । उनले राइजिङ स्टार (साप्ताहिक २०५८–६०)को सम्पादन गरेर पत्रकारिता क्षेत्रमा पनि पदार्पण गरेकी छिन् भने विचारहरूमाझ डा.दीर्घसिंह बम (जीवनी २०६२) पुस्तकको सम्पादन पनि गरेकी छिन् ।

उनको अनुभूतिमा इजरायल (यात्रा र अनुभव) पुस्तक प्रकाशोन्मुख छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र साहित्य सञ्जाल नेपालको आजिवन सदस्य रहेकी दिप्सले अनेसास इजरायलको सचिव रहेर काम गरिसकेकी छिन् ।

दीप्सले वि.सं. २०५६ मा जिल्लास्तरीय नारी दिवस वक्तृत्वकलामा प्रथम, बागमती अञ्चलस्तरीय वक्तृत्वकला (२०६८)मा तृतीय, अनेसास इजरायलबाट अभिनन्दन, नई गणेशदुर्गा पुरस्कार (२०६७) र अनलाइन लिटरेचर डटकम पुरस्कार तथा सम्मान (सन् २०११) आदि पुरस्कारहरू प्राप्त गरिसकेकी छिन् ।