बाँस्कोटालाई अडियोकाण्डमा फसाएका मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

everest kitchen
मिश्र
काठमाडौं । २७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा  गोकुल बाँस्कोटालाई अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ। याे समाचार थाहा खबरले लेखेकाे छ ।

संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटासँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दिएको हो।

समितिका सदस्यहरु रहेका नेकपा र कांग्रेसका सांसदहरुले अडियो प्रकरणमा आफूहरुलाई बिनाकाममा मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोमा उजुरी दर्ता गराइएको हो।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टर खरिदमा पाँच अर्ब भन्दा धेरै भ्रष्टाचार गर्न आरोप लगाएका मिश्रले सार्वजनिक लेखा समितिका सदस्यहरुको पनि उक्त काण्डमा संलग्नता रहेको टिप्पणी गरेका थिए। समितिका सचिव डा.रोजनाथ पाण्डेले मिश्रविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको जानकारी दिए।

समितिको बैठकले बिहीबारै मिश्र र प्रकाश उपाध्यायमाथि कारवाहीका लागि साइबर ब्यूरोलाई पत्र लेख्ने निर्णय गरेको थियो। पाण्डेले प्रहरी मुख्यालयमा आइतबार  छुट्टै उजुरी दर्ता गरिएको जानकारी दिए।

यता मिश्रले भ्रष्टाचारमा तानिएपछि छानविन हुन आवश्यक भएको बताए। सेक्युरिटी प्रिन्टर खरिदको ९९.९९ प्रतिशत काम सकिएको अवस्थामा ठूलो भ्रष्टाचार रोक्न अडियोले काम गरेको उनले जिकिर गरे।

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटासँग कमिसन बार्गेनिङ गरेको अडियो बाहिर ल्याएर साढे ५ अर्ब रुपैयाँ भ्रष्टाचार हुनबाट रोकेको समेत उनले बताए। ‘स्विस कम्पनीको एजेन्ट भएको भनेर मिडियामा बाहिर आएका छन्’, उनले भने, ‘तर म स्विस कम्पनीको एजेन्ट होइन।’