रवीन्द्र अधिकारीको स्मृतिमा  ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा

everest kitchen


काठमाडौं । ताप्लेजुङमा लिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।

स्वर्गीय अधिकारीको  स्मृति दिवसका अवसरमा बिहीबार पर्यटन  मन्त्रालयमा आयोजित एक कार्यक्रममा वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  उक्त पुरस्कारकाे घोषणा गरेका हुन् । दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरेको मन्त्री भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार  पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने बताए । साथै  मन्त्रालयले स्थापित पुरस्कारबारे छिट्टै कार्यविधि बनाएर पुरस्कार प्रदान गर्ने बताएको छ ।

गत बर्ष ताप्लेजुङमा दुर्घटनामा परि मन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा,पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेकाे निधन भएको थियो ।