तिब्बतबाट भागेका एक युवा गम्भिर बिरामी परेपछि काेराेना संक्रमनकाे आशंका

everest kitchen

हुम्ला ।  तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् । घर फर्किने क्रममा सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक बिरामी परेका हुन् । उनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण भएको आशंका गरिएको छ । याे समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

ती युवक ताक्लाकोटबाट हिल्सा हुँदै पाँच हजार मिटर अग्लो नारालेकको हिउँ छिचोलेर घर फर्कने तयारीमा थिए । उनलाई नाम्खा गाउँपालिका–५ स्थित यारी क्षेत्रमा प्रहरीले बिरामी अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार बाक्लो हिमपात छिचोल्दै आएकाले उनको शरीर र अनुहार नीलो भएको छ । ताक्लाकोटबाट भागेर आएका उनलाई खोज्न चिनियाँ प्रहरी हिल्सासम्म आएको थियो ।

कोभिड–१९ को आशंकामा नाम्खा गाउँपालिका–५ मुचुका बासिन्दाले उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार गर्न दिएका छैनन् । स्थानीयको अवरोधपछि उनको प्रहरी चौकीनजिकै उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी रामप्रसाद घर्तीमगरले बताए । ‘स्वास्थ्यचौकीमा भर्ना गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि अन्यत्रै राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘बिरामीलाई चौबिसै घण्टा प्रहरी र स्वास्थ्यकर्मीको निगरानीमा राखेका छौं ।’

स्थानीय स्वास्थ्यकर्मीले मास्क, उपकरण र औषधिबिनै उनको उपचार गरिरहेको घर्तीले जनाए । उनका अनुसार उपकरण अभावमा ती युवामा कोभिड–१९ भए/नभएको यकिन हुन सकेको छैन । प्रहरीका अनुसार उनी गत जेठमा आफन्तसहित मजदुरीका लागि ताक्लाकोट पुगेका थिए ।