प्रकाश कोइरालाको उपन्यास “प्रपञ्च” बिमोचन

everest kitchen

काठमाडौं । बि.एन पुस्तक संसारको प्रकाशनमा प्रकाश कोइरालाको पहिलो उपन्यास “प्रपञ्च” शनिबार राजधानीमा बिमोचन भएको छ । लेखक तथा पत्रकार अस्विनी कोइराला, सह–प्राध्यापक डा. अम्बिका अर्याल, सर्वग्य वाग्ले, ठाकुर चापागाईं र लेखक प्रकाश कोइरालाको संयुक्त वाहुलीबाट सो पुस्तक बिमोचन भएको हो ।

अस्विनी कोइरालाले उपन्यासमाथि समालोचना गर्दै “सर्जक सिक्दै गरेका र खासगरी उपन्यासको लागि नयाँ भए पनि सामाजिक कुराहरुलाई प्रेममा समेटेर कलात्मक ढंगले पस्कन सक्नु राम्रो कुरा रहेको बताए” । बिषयगत र उपन्यासको धारमा प्रपञ्च नरहेकोले उपन्यास अझै उत्कृष्ट हुन नसकेको भएपनि समग्रमा प्रेमको राम्रो प्रवेश भएकोले उपन्यास रोमान्चित तथा पाठकलाई लोभ लाग्दो भएको समालोचक अम्बिका अर्यालले बताइन् । समालोचनामाथि स्पष्टिकरण दिँदै लेखकले आफुले १० वर्ष अगाडी लेखेको उपन्यासमा विभिन्न प्रकाशन गृहहरुले छापिदिन्छौ भन्दै ५५ हजार शब्दहरु हटाउन लगाएको र आफुले पटकपटक गरेको पुनर्लेखनमा नयाँ कुनै पनि घटना, पात्र तथा विषय नराखेको बताए । त्यसिपछि भने समालोचक कोइरालाले सबैसामु आफुले उपन्यासमाथि गरेको नकारात्मक आलोचना फिर्ता लिएका थिए ।

बि.एन संसारका अध्यक्ष ठाकुर चापागाईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका संचालन साहित्यकार मन्जिला शर्माले गरेकी थिइन् ।