राप्रपाकाे एकता र पार्टी नफुटाउने कसम

everest kitchen

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण भएको छ । कमल थापा नेतृत्वमा रहेको राप्रपा तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच बुधबार पार्टी एकता भएको हो ।

२०७३ मंसिर ६ गते राप्रपाका विभिन्न घटकबीच एकता भए पनि ६ महिनाभित्र विभाजित भएको थियो । देशमा बलियो राष्ट्रिय राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ राप्रपा र राप्रपा (संयुक्त) बीच गत शनिबार राति फेरि एकीकरण गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बुधबार औपचारिक रूपमा पार्टी एकता भएको हो । राष्ट्रियसभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै थापाले अब कहिल्यै पनि नफुट्ने गरी एकता भएको बताए । हिन्दू धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता हातमा समातेर उनले अब आफूले कहिल्यै पनि पार्टी नफुटाउने प्रतिबद्धता जनाए । ‘अब कहिल्यै नफुट्ने गरी एकता भएका छौं,’ थापाले भने, ‘यो एकताबाट म खुसी छु ।’

उनले यसअघि ६ महिना नपुग्दै पार्टी कसले फुटायो भन्ने विषयमा अहिले चर्चा नगर्ने पनि बताए । दुई पार्टीबीचको एकतापछि राप्रपा अब प्रजातान्त्रिक शक्ति र वैकल्पिक पार्टी भएको उनको दाबी थियो ।

थापालगत्तै बोलेका अर्का अध्यक्ष डा. लोहनीले पनि पोडियममा राखिएको धार्मिक ग्रन्थ गीता छोए । उनले भागवत गीता भन्ने शब्द उच्चारण गरेपछि कार्यकर्ताले ताली बजाएका थिए ।

‘भागवत गीता भन्नेबित्तिकै किन हल्ला ?,’ अध्यक्ष डा. लोहनीले कार्यकर्तालाई सोधे, ‘चिन्ता नगर्नुस्, यो पार्टीलाई एक बनाएर लैजान्छौं । यहाँ गीता पनि रहेछ, वचन नै ठूलो कुरा हो । हामी धर्म र कर्ममा विश्वास गरेर जान्छौं ।’

लोहनीले कार्यकर्ताको प्रेरणाका कारण पार्टी एकता भएको बताए । ‘संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हाम्रो मूलमन्त्र हो,’ उनले भने, ‘पाँच हजार वर्ष पुरानो सभ्यताको जगेर्ना गर्नुपर्छ ।’ नेपाललाई विश्वभरिका हिन्दूको आस्थाको केन्द्र बनाउनसके मुलुक आर्थिकरूपमा बलियो हुने उनको भनाइ थियो ।

सरकार र अहिलेको व्यवस्थाप्रति आक्रामक देखिएका अर्का अध्यक्ष राणाले हिन्दू राष्ट्र पुनस्र्थापित गराएरै छाड्ने प्रतिबद्धता जनाउँदै राप्रपाले दुई तिहाइ बहुमत ल्याउने दाबीसमेत गरे । उनले पनि धार्मिक ग्रन्थ गीतालाई छोएर भने, ‘राप्रपा एक भएर जान्छ ।’

जनताले कम्युनिष्ट र कांग्रेसको विकल्प खोजेको जिकिर गर्दै राणाले दुवै पार्टीले गर्न नसकेका काम राप्रपाले गरेर देखाउने दाबीसमेत गरे । ‘राप्रपा एक हुनुपर्छ भन्ने आग्रह, सुझाव र माग थियो,’ उनले भने, ‘जनताको माग सम्बोधन गर्न हामी एक हुन बाध्य भयौं ।’

पार्टी एक भएर मात्र नहुने भन्दै उनले जनताको भावनालाई समेटेर अघि बढ्नुपर्ने खाँचोसमेत औंल्याए । उनले सम्पूर्ण प्रजातन्त्रवादी शक्तिलाई एक भएर अघि बढ्न आग्रहसमेत गरे । ‘चानचुने उद्देश्यले एक भएका होइनौं, मुलुकमा ठूलो फेरबदल ल्याउन एकता गरेका हौं,’ उनले भने ।

एकता घोषणामा सभामा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेताहरू दीपक बोहोरा, राजेन्द्र लिङदेन, विक्रम पाण्डे, रीना गुरुङ लगायतले सम्बोधन गरेका थिए । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं राप्रपा (संयुक्त) का नेता सुनीलबहादुर थापा भने एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सभामा सहभागी भएनन् ।

राप्रपा फुटेको दुई वर्षपछि फेरि मिलेको हो । दुवै पार्टीको एकीकरणपछि पार्टीको नाम राप्रपा राखिने र तीनजना अध्यक्ष रहने सहमति भएको छ । राप्रपाका अध्यक्ष थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय राणा र लोहनी अर्को महाधिवेशन नहुन्जेलसम्मका लागि नवगठित राप्रपामा संयुक्त रूपमा अध्यक्ष रहनेछन् ।

दुई पार्टीबीचको एकतापछिको वैचारिक दर्शन भने महाधिवेशनले टुंगो लगाउने बताइएको छ । एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्रै गर्ने र महाधिवेशनका प्रतिनिधिहरू सक्रिय सदस्यबाट निर्वाचित हुने व्यवस्था कायम गर्न नेतात्रयबीच सहमति भएको थियो । सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र, सबै पक्षहरूलाई चित्त बुभ्mने सहमति र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्र, शक्ति हस्तान्तरणसहितको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उद्धार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति एकीकरणपछि राप्रपाको मुख्य नीति र सिद्धान्त हुने भएको छ । ईहिमालय टाईम्समा खबर रहेकाे छ ।