काठमाडौं । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई ७८ हजार थान माक्स सहित प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा काभ्रे रोसी गाँउपालिका-७ घर भई स्वयम्भू बस्ने ३० वर्षीय मिन्टु तामाङ, सोही ठाउँ घर भई ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय मानकाजी लामा, रामेछाप गोकुलगंगा गाउँपालिका-२ घर भई सानो भर्याङ बस्ने २३ वर्षीय अनिष कार्की, बाजुरा छेदेदह गाउँपालिका-६ घर
भई हाल ललितपुर एकान्तकुना बस्ने २१ वर्षीय थुमराज उपाध्याय, बाजुरा वडिमालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय निर्प कार्की, काठमाडौं नागार्जुन नगरपालिका-२ सानो भर्याङ बस्ने २८ वर्षीय उज्वल अधिकारी, रामेछाप घर भई हाल ललितपुर पाटन बस्ने २४ वर्षीय शिव खड्का र काभ्रे रोसी गाँउपालिका-७ घर भई स्वयम्भू बस्ने २० वर्षीय निशान तामाङ रहेकाे प्रहरीले बताएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित मिन्टु तामाङले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी उक्त मास्क लुकाई छिपाई बढी मूल्यमा बिक्री बितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएकाे हाे ।
प्रारम्भिक अनुसन्धानको क्रममा ५ रुपैयाँ भन्दा कम पर्ने मास्कलाई ३१ रुपैयाँ मूल्य सम्म बिक्री बितरण गरिरहेकाे खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।