मास्क र सेनिटाईजर सहित ३ जना पक्राउ

everest kitchen

काठमाडौं, ६ चैत । कोरोना महामारीको संक्रमणसँगै कालाबजारीहरुके बिगबिगी सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १ हजार ५ सय ५ बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरु सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२४ बस्ने पर्सा बहुदरमाई नगरपालिका–४ घर भएका ३५ वर्षीय रुपेश रौनियार, काठमाडौं टोखा नगरपालिका–१० बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ कुडार घर भएका २५ वर्षीय पुरुषोत्तम अधिकारी र काठमाडौं गौरीघाट बस्ने अर्घाखाँची भूमिकास्थान नगरपालिका–३ ढिकुरा घर भएकी ३० वर्षीया मिना घिमिरे रहेका छन् । पक्राउ परेका व्यक्तिमध्ये रुपेश रौनियारको साथबाट सेनिटाईजर १५ सय बोतल, खरिद बिक्री गरेको बिल २ थान, पुरुषोत्तम अधिकारीको साथबाट सेनिटाईजर ५ बोतल बिल प्याड २ थान, मास्क २ सय ३५ थान र मिना घिमिरेको साथबाट मास्क ११ हजार २ सय २० थान बरामद भएको हो ।

बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट बच्न अनिवार्य मास्क, सेनिटाईजर जस्ता सामानको प्रयोग गर्नु भनी बिभिन्न संचार माध्यमबाट आमनागरिकहरुलाई प्रचार प्रसार गरिरहेको अवस्थामा काठमाडौं उपत्यकाभित्र सहज रुपमा पाईने मास्क, सेनिटाईजर जस्ता सामानहरु उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिम अभाव गराई मुल्य वृद्धि गराएर अनुचिन नाफा लिई विक्री वितरण गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाख टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।