तुलसी बिन्दुका तीन उपन्यास नियाल्दा

देबेन्द्र सुर्केली/नयाँ अनलाइन

साहित्यकार तुलसी राई विन्दु लामो समय मलेसियामा रहेर नेपाली साहित्य क्षेत्रमा सक्रिय थिए । त्यसबेला उनले तीन उपन्यास, एक कार्टुन सङ्ग्रह र तप्कनानामक एक नयाँ साहित्य विधाको प्रतिपादनसमेत गरेका थिए । तप्कना विधाअन्तर्गत तीन कृति पनि प्रकाशित छन् । पाँचथर जिल्लाको साविक तुम्बेवा गाउँपालिकाको हाङ्गुम ३ मसलेमा बुबा नारायण चाम्लिङ र आमा चन्द्रा चाम्लिङबाट जन्मिएका विन्दु हाल तोपगाछी झापामा रहँदै आएका छन् । उनको तीन उपन्यासको छोटो चर्चा यहाँ गरिएको छ ।

ध्रुवतारा
उपन्यासकार तुलसी राई विन्दुको पहिलो पुस्तक लेखनको रूपमा उदाएको हो –ध्रुवतारा । पञ्चायती शासनको वर्वरतामा दुई प्रेमी धु्रव र ताराले प्रगतिशील विवाह गरेको उपन्यास पढ्दा बुझिन्छ । पञ्चको सामन्ती ढोंगबाट धु्रवको मृत्यु हुन्छ । जसले शहिद रत्नकुमार बान्तवाको मृत्युलाई पनि नजिक ल्याउन खोज्छ । उपन्यासमा पात्रको उमेर र घटनाक्रमलाई दाँज्दा बान्तवालाई हत्या गरिएकै छेकछन्दमा ध्रुवलाई हत्या गरिएको हो ।

ध्रुवको मृत्युबाट अगाडि बढेको उपन्यासमा ताराले संघर्षसाथ दुई छोराछोरी प्रतिक र अनुलाई हुर्काएकी छिन् । दुःखजिलोसाथ बच्चालाई हुर्काइएपछि जब छोराछोरीले पालो दिने समय आएपछि बेहोरिएको झण्झटहरू उपन्यासका मुलकथा बनेका छन् । जसले गर्दा उपन्यासको नाम एकातिर कथा अर्कोतिर बग्न पुगेका आभास पनि हुन्छ । जम्मा २५ भाग र बाँकी ५ वर्षपछिको एक घटनालाई जोडेर उपन्यास टुंग्याइएको छ । भागलाई छुट्याउनको लागि भाग १, २ गरेर राखिएको छ ।

मृत्यु भएको ध्रुव, तारा, प्रतिक, अनु, जङ्गे, जंङ्गेनी, विनोद, नुना, घर्तिनी, डल्ले उपन्यासमा मुख्य पात्रको रूपमा रहेका छन् भने कतारमा भेटिएको मान्छे, भीम, सुबेदार सुबदारनी, कमल, सहपात्र छन् । प्रतिक अनु राई परिवारका छन् । विनोद नुना मगर परिवारका छन् भने घर्तिनी डल्ले घर्ति परिवारका भए । कतारमा भेटिएको साथी सजातीयबाहेक बाँकीको जात खुलेको छैन । शुरुमै गाउँ नखुलेपनि हांगुम ५ मसले पाँचथरको कथा हो भन्ने बुझिन्छ ।

आमाको दुःख बुझेर आमालाई पालो दिनको लागि भारतीय गोर्खा भर्तिको लागि उभिन्छ प्रतिक । त्यहाँबाट असफलता भोगेपछि ऋणपान गरेर वैदेशिक रोजगारीको लागि हान्निन्छ । भेडाबाख्रा चराउने काममा पर्नु, सुडानी साथीसँग भाषा नमिल्नुको कारण उसले न घरमा चिठी पठाउन सक्छ न पैसा नै । उमेर पुगेकी अनु विनोदको प्रेममा फस्छे । गर्भवती पनि बन्छे । आफ्नो खुट्टामा उभिने संकल्पका साथ विनोद भारतीय गोर्खा भर्तिमा जान्छ । यता गर्भवती अनुलाई समाजले दुरदुर गर्छ । छोराको बेखबर र छोरीको यस्तो हालतले आमा तारा कतै हराउँछे । अनु पनि गाउँ छोडेर जान्छिन् र झण्डै बेचिन लागेको अवस्थामा दिल्ली पुग्छिन् । विनोदले घरमा खबर पठाउँछ –पाकिस्तानसँग युद्ध पर्ने सम्भावनाले घर आउन पाएन । तर त्यो खबर घर पुग्दा ‘पाकिस्तानसँगका लडाइँ पर्दा विनोद म¥यो’ हुन्छ ।

प्रतिक घर आउँछ, आमा र बहिनी नभेटेपछि विलौना गर्छ । र, विनोदकै घरमा शरण पर्छ । कमाएर आएको प्रतिकलाई देखेर जंगेजंगेनीलाई छोरी नुनासँग विवाह गराइदिरहेका बेला दिल्लीमा नाटकीय ढंगले विनोद र अनुको भेट भएर घर आइपुग्छन् । एक भतेर दुई विवाहको टुंगो भइहाल्छ । विनोद र अनुले नातिनी पनि ल्याएका हुन्छन् । दुवै ज्वाई, दुवै जेठान साइनो भएका उनीहरू नानीका साथ मनकामना मन्दिर जाँदा नाटकीय ढंगले धरानमा कतारमा भेटभएको दाईसँग भेट हुन, अनि मनकामनामा मागिरहेको अवस्थामा आमा तारालाई भेट्नु निकै नै फिल्मी तरिका भएको छ ।

लेखकले मलेसियामा रहँदाबखत उपन्यास लेखिएकोले पनि हुनसक्छ –एक प्याराग्राफ मलेसियाको कथालाई जोडेका छन् । गाउकै भुजेल्नी र मेलबोटेनीका छोराहरू तीनमहिनासम्म ३ सयभन्दा कम तलब, त्यसपछि नपाएको, अलिअलि कमाएका पनि तामिलले लुटिदिएको कथा जोडेका छन् । अवैधानिक तवरले मलेसियामा बस्दा रेलाले पक्रिएर जेल परी नेपाल फर्किएका सत्यकथामा आधारित कथा जोड्नु लेखकको मलेसिया बसाइको एक धर्म पूरा गरेका छन् ।

कुनै कुनै भागमा लेखकले कथा भनिरहेको जस्तो पनि बुझिने उपन्यासलाई संस्पेन्समा राख्न खोजेका छन् । जस्तो ऋण गरेर कतार पुगेको प्रतिकले तीन वर्षसम्म खबर नगर्दा साहुले कुन गतिमा पु¥यायो, शुरुमा स्पष्ट हुन्न । पछि घर्तिनीबाट कुरा स्पष्ट हुन्छ । अनि एक ठाममा सन् २००९ भनेर स्पष्ट पारिएको छ र २०१० मा सबैको मिलन भइसकेको छ । त्यो भनेको नेपाली सम्बत २०६५÷६६ हुन जान्छ । यस समयमा नेपालका कुनाकाप्चामा मोवाइल पुगेको अवस्था हो । तर त्यसको कुनै छेकछन्दै छैन । फेरि ५ वर्षपछि भन्ने उपकथाका अन्त्यमा लेखकले आफ्नो कथा भनिसकेको साल २०६५ माघ १ राखिँदा माथिको सन् २००९सँग पटक्कै तालमेल मिल्दैन । जेहोस् नेपाली राजनीति, विकृति विसंगतिलाई पनि छेड हान्न खोजिएको उपन्यासमा अन्तमा विदेश नगई नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु लेखकको सकरात्मक सन्देश हो ।

धुँवा
विन्दुको दोश्रो उपन्यास ‘धुवाँ’ हो । यो उपन्यास पुरै पढ्नुभन्दा पनि साहित्यकार रविन्द्र राई अधुरोको स्पष्ट भूमिकाले उपन्यास बुझ्नमा ठूलो मद्दत पुग्छ । उनका तीन उपन्यासमध्ये कथासँग शिर्षकको मेल खाएको उपन्यास भनेर लेख्दा कुनै फरक पर्दैन ।

मलेसियामा नेपाली कथालेखनमा एउटा कोशेढुंगोको रूपमा सावित गराएका जीवन देवान गाउँलेका एउटा अप्रकाशित कथा छ । जसमा मलेसिया पुगेका दुई युवायुवती प्रेमको शिखरमा पुगेका बेला एकै बाबुको छोराछोरी रहेको पत्ता लाग्छ । यो स्वभाविक पनि हो, धेरै नेपालीहरूले घरमा श्रीमती र सन्तानलाई छोडेर आसाम भासिएका छन्, वर्मा पुगेका छन् । समयक्रमले गर्दा सबैजना वैदेशिक रोजगारीको शिलशिलामा अर्को देशमा भेटिनु कुनै आश्चार्यको कुरा रहेन ।

धुवाँ उपन्यास पनि लगभग त्यहि कथाको सेरोफेरोमा उनिएको छ । तर लेखकले पात्रहरूलाई वर्मा, आसाम, मलेसियातिर डुलाएका छैनन्, सिधै अमेरिका पु¥याएका छन् । सन्तान छोडेर व्यावासायको घर छोडेर धेरै ठाउँ स्वास्नी बनाउँदै हिड्ने एउटा मान्छेको नियतिले स्वतन्त्र प्रेममा अंकुश लगाएको छ । दुःखजिलोसाथ काठमाडौंमा आइएस्सी गरेपछि डाक्टर पढ्ने योजनामा डुबेकोलाई अचानक डिभीले अमेरिका पु¥याइदिन्छ । अमेरिका नेपाली मुलकी जुलियासँग बहिनीको नाता गाँस्छ । जुलियाको परिवार पैसाको पछि लागेको कारण मायाममताजस्ता कुराले बास पाउँदैनन् । तसर्थ जुलिया धुँवाको जिन्दगीमा जकडेकी छे । लागुपदार्थ ओसारपसारमा कारगारमा पुग्छे । विरामी हुन्छे । विरामी भएर अस्पतालमा रहेको बेला प्रविणले जुलियाको बुबाको फोटो हेर्दा आफ्नै बुबा पाउँछ ।

बनाएकी बहिनी आफ्नै बहिनी हुनु र नेपालमा प्रेमिका रहेकी प्रेणा झनै सहोदर बहिनी हुनुले उपन्यासको कथालाई क्लाइमेक्समा लगेको छ । प्रेणाले आत्महत्या गरेर बाटो खुलाएपछि प्रविणको अमेरिकामा सँगै पढेकी कञ्चनसँग विवाहपश्चात कथा टुंगिएको छ ।

प्रकाश कोविदका झल्को देखिने उपन्यास सामान्य छ । पाँचथरदेखि काठमाडौं, त्यहाँदेखि अमेरिका र फेरि काठमाडौंमा दौडेको छ । आख्यानहरू प्रायः नाटकीय नै हुन्छन् । नाइटभिजनले घरपरिवार मुस्लोमा परिणत गर्दा प्रविणमात्र बाँच्नु, काठमाडौं आएर प्रेणासँगै भेट्नु र अमेरिकामा पनि जुलियाले नै लिनु आउनु नाटकका पराकाष्ठाहरू हुन् । सन् २००५ देखि फेसबुक आएको र बरु फेसबुकलाई कथाको एक पाटो बनाइदिएका भए दाजुबहिनीहरू भेट हुने कथा राम्रो बन्थ्यो ।

्उपन्यासको अन्तमा माइकल ज्याक्सनको मृत्युको खबर दिएर ‘पुष्पिका वाक्य’ लेखेका छन् । जुन प्राचीनकालको लेखाईको बोध गराउँछ । कभरसहित १७० पेजमा फैलिएको उपन्यासमा १९ भाग रहेका छन् ।

मायाप्रीति
तुलसी राई विन्दुको तेश्रो उपन्यास हो –मायाप्रीति । प्रेमकथामा आधारित उपन्यास भनेर आवरणमै जनाइएता पनि एक धर्मिताले खल्बलाएको परिवर्तनकामी उपन्यास हो भनेर भन्न सकिन्छ । सुन्दर जुत्तालाई उति राम्रो पोलिस गर्न नसकेर धुलोमैलोले छोपेको जस्तो पनि लाग्छ, उपन्यास पढ्दा ।

महाभारतलाई आधार मानेर शुरु गरिएको यसको कथामा पाठकले धेरै नै आशा गर्छन् । महाभारत एउटा धर्मग्रन्थ नभई दर्शन हो । जसमा मानवजीवनका स्पष्ट क्रियाकलापहरू रेखांकित गरिएका छन् । धर्मले शान्ति माग्छ, व्यभिचार माग्दैन् । छलकपट माग्दैन । तर मानिसले यी सब नगरी बस्न सक्दैनन् । यसलाई महाभारतले राम्ररी देखाउन सकेको छ ।

यस उपन्यासका पात्र जरसाहव र पण्डित बाजे महाभारतकै सिकोमा उनिएका छन् । धर्मको नाममा वस्तीमा रहेका दलितलाई अछुतको संज्ञा दिई हुनसम्मको शोषण गरेका छन् । सन्तान हुननसक्ने जरसाहबको कोखपूजा गराउने निहुमा मेमसाहवसँगको संसर्गको कथाले महाभारतमा आफ्नी बुहारीमाथि रूपधारण गरेर यौनतृष्टि लिएकै कथाको झल्को दिन्छ ।

शोषणबाट नै क्रान्ति जन्मन्छ । धार्मिक क्रान्तिले अहिले विश्वमा द्वन्द्वको भुमरीमा फस्दैछ । एकातिर धार्मिक शोषणले मानिसहरू धमाधम धर्मपरिवर्तन गर्दैछन् भने अर्कोतिर धार्मिक एकाधिकारको साम्राज्य फैलदैछ । हिन्दूधर्मिताको अहंकारिताले गर्दा गाउँभित्र क्रिश्चियनिटीको जालो फैलिएको जरसाहव र पण्डितलाई थाहै हुन्न ।

बिचमा केही बलियो गरी उपस्थित भएको पात्र केहीसमयपछि कामविहिन बनाउनु लेखकको कमजोरी देखिएको छ । पाँचथरका मान्छेहरू पोखरा पढ्न जानु केही अव्यवाहारिक होकि भन्ने लाग्छ । फेरि पोखरा पुगेपछि उनीहरूको भूमिकाको लगभग मृत्यु नै हुन्छ । पण्डितको छोरा पुण्य क्रिश्चियन हुन लागेको छनकपछि पुरै बेखबर भइहालेका छन् । दिदी गौरीको विवाहमा पनि देखिन्नन् । दिदीले पाएको सास्ती, अनि घर त्यागेर अनिश्चित गन्तव्यमा रहँदा सिस्टरहरूले भेटेर लानु संयोगको रूपमा लिन सकिन्छ । लामो समयसम्म प्रभुको प्रचारप्रसार संलग्न सिस्टरहरूले मौका नपाएको बेला गौरीले तुरुन्तै विदेशसम्म पुग्नु जहाँ पनि बाहुन जातिले राम्रो स्थान जमाउन सक्छन् भन्ने पनि बुझिन्छ ।

कुन्तीका छोरा कर्णको मृत्युपछि मात्र युधिरिष्ठिरले थाहा पाउँदा आइमाईहरूमा केही पनि कुरा गोप्य नरहोस् भनी श्राप दिएका छन् । तर भीम र पुण्य एउटै बाबुको सन्तान हो भन्ने कुरा पाठकलाई मात्र थाहा दिनु लेखकको कमजोर पक्ष बनेको छ । तसर्थ महाभारतको सारकथा दिनुमा कुनै तुक भेटिन्न ।

धेरैजसो दलितहरूले राजनैतिक रूपमा कम्युनिष्टलाई आत्मसात गरेका छन्, धर्ममा क्रिश्चियनलाई । किनभने यसले जातभात मान्दैन । पूर्वी नेपालमा किरात धर्मले पनि विस्तार गरिरहेको कुरामा लेखक अनभिज्ञ छन् । हिन्दू धर्मले पनि जातपात मान्दैन भनेर लेखकले स्वामी प्रपन्नाचार्यको उपस्थिति पनि गराएका छन्, तर समय खेर गइसकेको हुन्छ । गरिबलाई मात्र अछुतको संज्ञा दिनु तर उच्च पदमा रहेका दलितलाई भने प्रश्रय दिनु वर्गीय सामन्ती चेतको भेद पनि उपन्यासले मज्जाले खोलेको छ । सानैदेखि दलित शंकरसँग नजिकिएकी गौरीको अन्तमा पुनर्मिलन हुन्छ । अघिल्लो उपन्यासमा आगामी प्रकाशन ‘गौरीशंकर’ भनेर जानकारी दिनु र यस मायाप्रीति उपन्यासका पात्रहरू गौरी शंकर हुनु, एउटै हुन् कि भन्ने लाग्छ । क्रिश्चियनिटीको दबदबापछि गाउँमा विकासको ढोका खोलिएको अनि सामन्तहरूले प्रायश्चित गरेपछि लगभग उपन्यास टुंगिएको छ ।

उपन्यासको सुरुमा प्रस्तुति भनेर उपन्यासको थालनी गर्नु, अन्तमा कथा सुन्दासुन्दै निदाएर पनि कथा सुन्न सरुभक्तको ‘पागलबस्ती’ र वीपी कोइरालाको ‘मोदी आइन्’ उपन्यासको झल्को पनि दिन्छ । १३ भाग र प्रस्तुतिमा विभाजित उपन्यासलाई छुट्याउने सबै उपन्यासमा झैं एउटै छ । ११६+१० पेजमा फैलिएको उपन्यासलाई पुनर्लेखन गरिएको खण्डमा ज्यादै उत्कृष्ठ उपन्यास हुनेछ भन्ने कुरामा दुइमत हुन्न ।