राहतको नाममा फाेटाे भिडियो खिचेर फेसबुकमा नराख्न सरकारकाे निर्देशन

everest kitchen
फाेटाे सामाजिक सञ्जालबाट

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सर्कुलर गर्दै प्रचारात्मक काम नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता वसन्त अधिकारीका अनुसार , ‘फेसबुकमा फोटो भिडियो हालेर आफ्नो प्रचार गर्ने काम भयो । त्यसैले गरिब विपन्नले राहत महसुस गर्ने गरी काम गर, प्रचारमा ध्यान नदेऊ भनेर मन्त्रालयले निर्देशन दिएको हो ।’

मन्त्रालयकाे निर्णयमा सहमति जनाउँदै गाउँपालिका महासंघले पनि सहि तरिकाले विपन्न र मापदण्ड भित्रका गरिब व्यक्ति परिवारलाई सहज राहत उपलब्ध गराउन र प्रचारप्रसार गर्ने हाेडमा फेसबुक लगायतका सामाजिक सञ्जालमा फाेटाे पाेष्ट नगर्न आह्वान गरेकाे छ ।

त्यस्तै यसअघिनै स्याङ्जाकाे वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गर्दै राहतको नाममा फाेटाे भिडियो नखिच्ने निर्णय गरेकाे छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी यस्तो व्यवस्था लागु गरेकाे हो ।

नवनिर्मित कार्यबिधिमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने÷खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।  समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकारमाथि ठाडो हस्तक्षेत रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएकाे नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए । उनका अनुसार राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वासनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण तथा व्यवस्थापन कार्यविधि मार्गदर्शक हुने बताए ।

वडामा रहेका गरिब, विपन्न परिवार र दैनिक ज्यालादारी गरेर बिहान–बेलुका छाक टार्ने परिवार र व्यक्तिहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले सिफारिस गर्ने र नगरपालिकाले दैनिक खाद्य सामग्री सहितको एकमुष्ठ प्याकेजको कुपन वडालाई उपलब्ध गराउनेछ । उक्त कुपनबाट सम्बन्धित व्यक्ति ,परिवारले पायक पर्ने पसलबाट सामाग्री लिन पाउनेछन ।