भारतकाे ग्रामीण भेगमा रहेको गाउँबुढा प्रथा ..

देवेन्द्र खापुङ ‘सुर्केली’

भारतीय ग्रामीण भेगका चलचित्र हेर्दा केही समस्या परे पञ्चायत बोलाइने र त्यहाँ छिनोफानो हुने देखाइन्छ । पञ्चायतको अर्थ हो पञ्च, अर्थात गाउँका पाँचजना विभिन्न थर या जातका मानिसहरू बसेर न्याय सम्पादन (छलफल) गरेपछि त्यो निर्णय अन्तिम हुन्छ । त्यस पञ्चमध्ये एकजना मुख्य हुन्छन्, जसलाई प्रधानपञ्च भनिन्छ । भारतका साथै नेपाल तथा पाकिस्तानमा पञ्चप्रथा थियो । लिम्बू जातिमा त हरेक पूजाआजा, विवाह, सुद्धाईमा पञ्च चाहिन्छ । भारतको कुनै गाउँमा पञ्चायत छ भने कुनैमा मुखिया तथा पूर्वी भारतीय राज्यहरूमा गाउँबुढा प्रमुख हुँदा रहेछन् । आज म गाउँबुढाबारे थोरै चर्चा गर्न गइरहेको छु ।

भारतीय सरकारका विभिन्न तहहरू छन् । सिंगो भारत सरकारपछि दोश्रो तह प्रदेश सरकार, त्यसपछि डिभिजन र डिभिजनले जिल्ला परिषदलाई नेतृत्व गर्छ । जिल्ला तहका दुई पाटा छन् । एक पाटो ब्लक हो भने अर्को पाटो नगरपालिका । ब्लकले ग्राम पञ्चायत हेर्छ । नगरपालिकाअन्तर्गत महानगरपालिका, नगरपालिका र नगर पञ्चयायत पर्दछन् । ग्रामपञ्चायतको तल्लो निकाय गाउँबुढाले हेर्छ भने नगरपालिकाको तल्लो निकाय भनेको वडा हो ।

गाँउ बुढाहरूका केहि फाेटाे र उनिहरूले प्रयाेग गर्ने कागजपत्र

गाउँबुढा अर्थात गाउँको मुखिया । यो प्राचिन प्रथा हो । यो प्रचलन नेपाल र पाकिस्तानमा पनि थियो । विशेषगरी आदिवासी समुदायमा गाउँको मुखिया चुन्ने, उसैको शासनमा समुदाय चल्ने गर्दछ । तामाङ समुदायमा अझै यो प्रचलन छ । जसलाई गान्बा भनिन्छ । त्यसको अर्थ गाउको मुखिया या गाउँबुढा नै हो ।

भारतको उत्तरपूर्वी राज्यहरूमा गाउँबुढा प्रथा दरिलो रूपमा रहेको पाइएको छ । गाउँमा सरकारको सबैभन्दा तल्लो तहको तर अधिकार सम्पन्न प्रतिनिधि हो गाउँबुढा, जसले स्थानीय समस्या राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउने, सत्ताबाट गाउँमा आएको अनुदान अनुगमन गर्ने र गाउँहरूको व्यवस्थापन गर्ने जिम्मा पाउँछ । भारतमा पञ्चयाती राजनेताको रूपमा गाउँबुढालाई अर्थ्याइन्छ । अर्थात पञ्चभलाद्मीबाट चुनेर गाउँको सेवा गर्न जिम्मेवारी दिइन्छ ।

गाउँमा हुने जन्म, विवाह, मृत्यु दर्ता गाउँबुढाले नै गरिदिन्छ । त्यसबाहेक गाउँमा हुने झैझगडा मिलाउने, अंशवंण्डालगायतका न्यायपूर्ण निर्णय गरिदिने काम गाउँबुढाको हो । गाउँका युवायुवती कतै जागिर खान परे सिफारिसपत्र गाउँबुढाले नै गरिदिन्छ भने गाउँमा कुनै कारण प्रहरी आउनुपर्ने भयो भने प्रहरीले पत्र लिएर आउँछ र गाउँबुढाले सहिछाप गरिदिएपछि मात्र गाउँ पस्न पाउने अनुमति पाउँदो रहेछ । गाउँबुढा कति शक्तिशाली हुन्छ भन्ने कुरा Handbook for Gain-Buras & Panchayati Raj Leaders पुस्तकमा उल्लेख छ । उक्त हातेपुस्तक अरुणाञ्चलको गाउँबुढासँग सम्बन्धित भएपनि धेरथोर अधिकार सबै राज्यका गाउँबुढासँग हुन्छ । प्रहरीकै सहभूमिकासम्म निभाउने उसले प्रहरीझैं थुन्ने, अपराधीलाई छोड्नेलगायतका कार्य भने गर्न पाउँदैन । कुनै आन्दोलन तथा अविछिन्न गतिविधिमा लाग्न पाउँदैन ।

 

भारतको उत्तरपूर्वी राज्य अरुणाञ्चलमा गाउँबुढाको अलि बढी अधिकार छ । त्यहाँ गाउँबुढालाई गाउँको राजासरह मान्ने, फरक फरक गाउँका गाउँबुढा गाउँबुढीलाई विभिन्न प्रतियोगितामा सामेल गराउने, उनीहरूको सम्मान गीतसमेत बनाइएको युट्युवमा हेर्न सकिन्छ ।

उत्तरपूर्वी भारतमा नेपाली मूलका धेरै गाउँबुढा रहेका छन् । राजषी शैलीमै पुस्ता हस्तान्तरण हुँदै आउने गाउँबुढा बुबाको शेषपछि छोराले पाउने गरेका छन् । सन्तान सानै हुँदा गाउँबुढाको मृत्यु भए सन्तानको नाममा नायवी गाउँबुढा चलाउने चलन पनि रहेछ । सन्तान हुर्किसकेपछि भने उसको इच्छा मागिँदो रहेछ, साथै गाउँबुढा हुन चाहने अन्यले पनि दरखास्त हाल्न सक्दा रहेछन् । तर गाउँबुढाको सन्तान हुँदा ७० नम्बर स्वतः पाउने हुँदो रहेछ ।

मैले यसपटक आसामको भ्रमणमा रहँदा केही गाउँबुढासँग भेटघाट गर्ने मौका पाएको थिएँ । मैले भेटेका गाउँबुढामध्ये असमको उदलगुरी जिल्लास्थीत साम्राङ न्याउलीको सातवटा गाउँ हेर्ने जिम्मा पाएका गाउँबुढा डम्बरबहादुर लिम्बू (खापुङ), शोणितपुर जिल्ला ढेकियाजुली गंगापुरका अमित लिम्बू खापुङ र पश्चिम कार्विअङलङ जिल्लाको डिक्लेम सुब्बागाउँका जयबहादुर खापुङलाई भेटेको थिएँ । विशेषगरी खापुङ समुदायको वंशावली खोज्ने क्रममा पुग्दा बढीजसो खापुङ गाउँबुढा भेट्नु स्वभाविक नै हो ।

गाउँबुढालाई पहिलेभन्दा अहिले केही काम थपिएको रहेछ । जस्तै गाउँमा नयाँ बासिन्दा आए उसको भेरिफाई गर्ने, भोटलिष्टमा नाम थपघट गर्ने आदि छन् । मृत्यु दर्ता पनि फरक फरक हुनेरहेछ । स्वाभाविक मृत्युको मुत्युदर्ता एक खालको र हात्तीको आक्रमणलगायत अकालमा मृत्यु हुनेको मृत्युदर्ता फरक हुनेरहेछ । उदलगुरी जिल्लामा हात्ती आतंक निकै नै हुन्छ । त्यहाँका स्थानीयहरू हात्ती खेद्न करेन्ट जडान गरेर होस् या सामूहिक रूपमा हात्ती खेदाउनका लागि जत्था बनाउने गर्दा रहेछन् ।

गाउँबुढा हुनको लागि भाषा पनि अनिवार्य हो । जस्तैः अङ्ग्रेजी र असमिज भाषामा प्रमाणपत्र दिनुपर्ने रहेछ । साथै हिन्दी पनि अनिवार्य हो । गाउँबुढाले आफ्ना सम्पूर्ण प्रतिवेदन इलाका प्रशासकलाई बुझाउनुपर्ने हुन्छ । साथै गाउँबुढाहरूको बेग्लै सञ्जाल पनि रहेको गाउँबुढा डम्बर खापुङबाट जानकारी भएको छ । लिम्बू महासभा असमका सभापति लखि खापुङका अनुसार कतिपय गाउँबुढालाई सरकारले तलवभत्ता दिएको हुन्छ भने कतिपय गाउँबुढालाई तलबभत्ता दिइँदैन । तलबभत्ता नदिइने गाउँबुढाले गाउमा विभिन्न सिफारिस र जन्म, विवाह, मृत्युलगायतका प्रमाणपत्र दिएवापत शुल्क लिने गर्दछन्  ।

(लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)