संस्मणात्मक निबन्धभित्र भेटिएको कथाहरू

देवेन्द्र सुर्केली

उमा सुवेदीको उपन्यास ‘तोदा’ र निलम कार्की निहारिकाको ‘अर्की आईमाई’ जब अध्ययन गरेँ, इजरायलमा रहने नेपाली र अमेरिकामा नेपाली जनजनीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यसपछि विदेशमा रहने अन्य नेपाली लेखकसँग जिज्ञासा रहन्थ्यो कि जहाँ रहनुहुन्छ, त्यहाँको जनजीवनलाई समेट्ने पुस्तक लेख्दा नै राम्रो होला ।

जेबी दर्लामीको उपन्यास ‘नुरी’ मलेसियामा पुगेका नेपालीहरूको प्रतिनिधित्व गर्छ । त्यसैगरी हङकङमा धेरै नेपाली साहित्यकार छन्, हङकङको चित्र आउने गरी कृति आवोस् भनेर केही घनिष्ठ भएकाहरूलाई अनुरोध पनि गरियो । तर नेपाली जनजीवनकै कथामात्र साहित्यमा आइरहे ।

यसवर्ष हङकङबाट दुई कृति आए, दाजु गुरुङको कथा सङ्ग्रह ‘टाँकीका फूलहरू’ र क्रान्ति सुब्बाको नियात्रा सङ्ग्रह ‘हङकङभित्र’ । यी दुवै कृतिले हङकङभित्र रहेको नेपाली जनजीवनलाई उजागर गरिएको छ ।

क्रान्ति सुब्बाको नियात्रा सङ्ग्रह निकै मोटो छ । र, लेखकले हङकङको रेखाचित्रलाई विश्लेषणसहित लेख्न खोज्दा गहन कृति बनेको छ । त्यसैले छिट्टै छिचोलीहाल्न सकेको छैन । दाजु गुरुङको ‘टाँकीका फूलहरू’ भने छोटा–छोटा कथामा हङकङका नेपाली जनजीवनलाई उतारिएको हुनाले एक बसाइँमा पढिसकियो । पढेपछि केही कुराहरू मनमा खेले । त्यही कुरालाई यहाँ लिपिवद्ध गरेर राखेको छु ।

१७ वटा कथा रहेको टाँकीका फूलहरू कभरसहित १९६ पेजमा फैलिएको छ । छोटो समयमा अत्याधिक विक्री पनि भएको यस कथा सङ्ग्रह मेरो हातमा परेको चाही तेश्रो संस्करण हो ।

सबैभन्दा पहिले हङकङबारे केही बुझौं ।

आधिकारिक रूपमा हङकङ जनवादी गणतन्त्र चीनको विशेष प्रसासनिक क्षेत्र रूपमा चिनिन्छ । हङकङ चिनको पर्ल नदी डेल्टा र साउथ चाइना सागरको दक्षिणी कुनामा अवस्थित एक स्वायत्त प्रदेश हो । हङकङ आफ्नो गगनचुम्बी इमारत र गहिरो प्राकृतिक बन्दरगाहको लागि प्रसिद्ध छ । यसको क्षेत्रफल ११०४ किमी छ र यसको उत्तरी सिमामा चिनको गुआङ्डोङ प्रदेश रहेको छ । यो स्थानको जनसङ्ख्या ७.२ मिलियन छ जुन भिन्न भिन्न राष्ट्रियताका छन् । हङकङ संसारकै सबैभन्दा बढी जनघनत्व भएको महानगर मध्ये एक हो ।

यो विकिपिडियामा पाइने हङकङको परिचय हो ।

शुरुमा ‘माछा मार्ने गाउँ’ (फिसिङ भिलेज) हुँदै नुन उत्पादन क्षेत्र हुँदै व्यापारिक थलो बनेको हङकङ नै आजको हङकङ हो । जसलाई क्रान्ति सुब्बाले यसरी प्रष्ट पारेका छन् ।

चिनियाँ भाषाको क्यान्टोनिज भाषिकामा हयङकङ नै आजको हङकङ हो । एवर्डिन नौकाश्रयस्थीत सके पाइवान खाडीको सट्टामा प्रयोग गरिने पर्याय नाम हो । कुनै कालमा उक्त खाडीको पूर्वपट्टिको अन्तिम भेगमा एउटा सानो गाउँ थियो, जसलाई हङकङ भनिन्थ्यो । यो गाउँ त्यो बेला एक विशेष किसिमको बहुमूल्य श्रीखण्ड पैठारी गर्ने एकमात्र स्थलको रूपमा स्थापित थियो । हाल एवर्डिनमा पहिलो चोटी पाइला टेक्ने बेलायती समुद्री यात्रीले त्यहाँका स्थानीय डुंगे मानिसहरूको जनजिब्रोद्वारा उच्चारण गरिएको शब्दलाई बोल्ने क्रममा भुलवस हङकङ भनी पठाए । र, हङकङ बन्यो ।

पहिलो अफिम युद्ध (सन् १८३९–४२) पश्चात् हङकङ बेलायती साम्राज्यको उपनिवेश बन्यो । चीनले सन् १८६० को काउलुन पेनिनसुला र १८९८ को न्यू टेरिटोरिज सन्धिमार्फत यो शहर बेलायतलाई सुम्पियो । प्यासिफिक युद्ध (सन् १९४१–४५) का बेला हङकङलाई जापानले ओगट्यो । त्यसपछि फेरि, १९९७ मा चीनले सार्वभौमसत्ता हात नपार्दासम्म हङकङ बेलायतकै नियन्त्रणमा रह्यो । बेलायतको अधिनमा रहेकोले व्रिटिस गोर्खाली सेनाको टुकडी हङकङमा राखेको थियो । लामो समय गोर्खालीहरू हङकङमा रहे, हङकङमा जन्मनेहरूले जन्मसिद्ध अधिकारको प्रयोग गर्न पाए । जसलाई हङकङको आइडी भनियो । व्रिटिस सेनाले गोर्खालीहरूलाई भर्ति गरेर लगे पनि नेपालमा भने दुई क्याटोगोरीको लाहुरे भए, एउटा इण्डियाको, अर्को मलायाको । तर हङकङको लाहुरे भन्न नपाउँदै हङकङ आइडीले छपक्कै छोप्यो ।

मलाया लाहुरेहरूले पेन्सन आएर थोरैले मात्र सहरबजारमा बसाइँ सरेका थिए । बाँकीले त गाउँमै जनजीविका गरिरहेका थिए । तसर्थ परिवार मध्यम वर्गमै नै थियो । कति त गरिबीको रेखामुनी नै थियो । जब हङकङ आइडी खुल्यो, त्यसले धेरैको जनजीवन माथि उकासियो ।

हङकङ विश्वकै व्यापारिक स्थल त बन्यो बन्यो, नेपालको पनि प्रमुख गन्तव्यस्थल बन्यो । हङकङ पुगेकाहरूले नेपाली सांस्कृतिक कार्यक्रम बनाउने, कलाकार/साहित्यकार निम्त्याउने, नेपालमा प्रकाशित भएका सामाग्रीहरूको विक्रीकेन्द्रकै रूपमा पनि स्थापित भयो । त्यसैले हङकङ र हङकङेहरू समृद्ध थिए/भए । तर त्यसभित्र पक्कै दुःख हैरानी छन् । समस्या छन् । विशेषगरी नेपालको सरकारी अधिकारीहरूले अन्जान (जानाजान पनि) कागजात बिगारिदिँदा पाएको हैरानीले नेपालीहरूलाई धेरै नै सचेत बनाइदिएको छ ।

यिनै दुःखहैरानीको कथा पनि नेपाली साहित्यमा पढिनुपर्छ भन्ने कुरालाई दाजु गुरुङको ‘टाँकीका फूलहरू’ले थोरै भए पनि समस्या–हल गर्न सकेको छ ।

टाँकीका फूल शिर्षक किन रोज्नुभयो ?
दाजुसँग काठमाडौंमा भेटघाटको क्रममा प्रश्न राखेको थिएँ ।
दाजुको उत्तर थियो –‘मेरो घर संखुवासभामा पनि टाँकीको रुखहरू थियो । हङकङमा पुगेँ, त्यहाँको राष्ट्रिय फूल पनि टाँकीको फूल नै थियो । मेरो जीवनमा टाँकीको घाँस काट्ने, टाँकीको फूल टिप्ने नै रहेछ । त्यसैले त्यही विम्बलाई कथामा प्रयोग गरेँ ।’

टाँकीको डालीसँगै हुर्किएका दाजु गुरुङ २४ वर्षदेखि हङकङमा छन् । कविता लेखनमा सक्रिय रहेका दाजुले कविता भन्दा अगाडि कथा सङ्ग्रह ल्याए ।

कथाको शुरुवात ‘आरम्भ’बाट हुन्छ । पाठक झुक्किन्छन् –कतै लेखकको प्राक्कथन त होइन ? तर आरम्भ कथा नै हो । प्रायः कविता सङ्ग्रहहरूमा भगवानको वन्दना÷स्त्रोत्र हुने गरेको पाइन्छ । त्यस्तै पो हो कि भन्ने अड्कल काट्छन् ।

आरम्भ कथा सङ्ग्रहको चिनारी हुने, टाँकीबारे परिचय दिने हिसाबले नै लेखिएको छ ।

नेपाली समाजमा विवाह हुने, सन्तानको आशा राख्ने नभए अर्को विवाह गर्ने हुन्छ । अर्को विवाह गर्दा पहिलो श्रीमती परिवारसँगै हुन्छ । हङकङमा धेरै पहिलेदेखि व्रिटिसहरू आएर बसे । उनीहरूले आउँदा आफ्नो संस्कृति पनि लिएर आए । जुन संस्कृतिलाई हङकङमा स्थापित गराए । जुन कथा ‘मेरो छिमेकी र रोक्सी’मा उतारिएको छ ।

नेपालमा एउटा आहान छ– विदेश जानको लागि आफन्त या साथीको सहयोग हुन्छ । विदेश पुगेपछि साथी या आफन्तलाई फोन आयो भने उसलाई समस्या परेको हुन्छ । म्यानपावरमा गएर कराईदिन पर्ने हुन्छ । फोन गरेन भने ढुक्क हुनुस्, उ कुनै समस्यामा छैन । र, नेपाल आएको गएको थाहा पनि हुन्न ।

यो संस्कार विदेशमै पनि हुन्छ । सँधै भेटघाट भइरहने, समस्या सुनाइरहने, त्यसपछि एक्कासी सम्पर्कविहिन हुने गर्दछन् । सम्पर्कविहिन हुनु चाही उ राम्रो ढङ्गले कमाइरहेको छ या सेटल भएको छ भन्ने बुझ्नुपर्छ । ‘हराएको मान्छे’ शिर्षक कथाले उक्त अवस्थालाई केलाएको छ ।

गोर्खाली सेना हङकङमा रहँदा केही सेनाले फिलिपिनो, चिनियाँ तथा अन्य मुलुकका नागरिकसँग प्रेम गरेको, विवाह नै भएको खबरहरू पाइएका छन् । केहीले नेपालसम्मै अन्तर्राष्ट्रिय बुहारीहरू ल्याइएका पनि छन् । कतिपय गोर्खालीहरूले विभिन्न मुलुकका युवतीहरूसँग प्रेम गरेर विजोग बनाएका छन् । ‘मोनिका’ नामकी फिलिपिनो युवतीले नेपाली लाहुरे सुरेश गुरुङसँग प्रेमविवाह गरेर सन्तान पनि जन्माउँछिन् । नेपाल आएर नेपाली संस्कृतिमा विवाह गर्ने उनको रहर फगत मृगतृष्णा बन्छ । गोर्खाली सेनालाई व्रिटिसतर्फ लैजादा घरमा आमा सिकिस्त रहेकोले तुरुन्त नेपाल जाने भनेर कल गरेको सुरेश युके गएको पछिमात्र थाहा पाउँछिन् मोनिकाले ।

मलेसियामा काम गर्न पुगेका नेपालीहरूद्वारा धेरै इण्डोनेशियन युवतीलाई सन्तानको आमा बनाएको चर्चा मलेसियामा चल्ने गर्दछ । तर इण्डोनेशियामा आमाबाट नागरिकता बन्ने भएकोले धेरै नेपालीका सन्तान उता छन्, भनिन्छ । मोनिकाले पनि सुरेशको सन्तानलाई फिलिपिन्स लान्छिन्, उतैको मनिला युनिभर्सिटीमा पढिरहेको र दुई वर्षमै डाक्टर बन्दै गरेको लेखकलाई सुनाउँछिन् । सुरेशको प्रेममा फसेपछि नेपाली बन्नको लागि नाक छेडेको, गहना लगाएको र सुरेशसँग फेरि नभेटेपनि नेपालीपनमै रमाउन खोजेको यथार्थता कथामा पाइन्छ ।

पुग्दो परिवारमा सन्तान पुल्पुलिने यथार्थतालाई लेखकले ‘बिर्सिएको साँझ’मा उतारेका छन् । सम्पन्न परिवारको एक्ली छोरी सुनिता परिवार भएको लाहुरेसँग भागेको, जेठीले प्रहरीचौकी पुर्‍याएको, सन्तान हुनेबेलामा लाहुरे जेठी लिएर जिआरयू ब्रुनाई गएकोले सन्तान माइतीमा छोडेर हङकङ पुगेको कथा छ यसमा । सुनिताको कथामा लेखक चिन्तित छन्, तर सुनिताको उत्ताउलोपनाले लेखक विरक्त पनि छन् । त्यसैगरी गरिबीको दलदलमा परेको परिवारलाई उकास्न डोमेस्टिक हेल्परमा भित्रीएकी अर्चना हङकङमै बिग्रिएको नेपाली युवासँग फसेपछि नेपाल फर्कनुको पीडा ‘सुनाखरी ओइलिएपछि’ कथामा उतारेका छन् ।

कुनै ठाउँमा पुगेपछि त्यहाँको वातावरणमा घुलमिल हुनलाई त्यहाँको पानी लाग्नु भन्ने उखान नेपालमा छन् । हङकङमा ज्यादै मिठो र पोसिलो साग छ ‘छोइसम’ । हङकङ वातावरणमा भिज्न थालेपछि छोइसम लागेको भन्ने कटाक्ष गरिने कुरा ‘छोइसम’ कथामा विस्तृतिकरण गरिएको छ ।

प्रायःजसो हङकङमा राई, लिम्बू, गुरुङ, मगर, तामाङ जातिका मानिसहरू गएका छन् । क्षेत्रीबाहुनहरू पनि गएका छन्, तर मधेसी मूलका छन् भन्ने कल्पना पनि गर्न सकिन्न । तर ‘मुन्ना चौधरी’ शिर्षकको कथाले हङकङमा मधेसी मुलका मानिसहरू छन् भन्ने कुरा बुझाउँछ ।

विदेश भन्ने वित्तिकै समस्यासँग जुध्ने स्थान हो । भिषासँग समस्या, इमिग्रेसनमा समस्या, नेपालको परिवारको समस्या, विदेशमा काम दिने मालिकसँग समस्या । त्यस्ता समस्यालाई कथामा उनिएका छन्, र पाठकहरूलाई बुझाउने कोशिष गरेका छन् । हङकङमा पुग्न नेपालको श्रीसम्पति बेच्नुपरेको, कागजपत्र मिलाउन खर्च गर्नुको पीडा कतिसम्म छ ? भन्ने कुरा कथामा उतारिएको छ ।

कथाहरू संस्मणात्मक छन् । निबन्धात्मक छन् । निबन्धभित्र कथा खोज्न निकै कठिन पर्छ पाठकलाई । तर निबन्धभित्र कथा हाल्न सक्ने क्षमता दाजु गुरुङले निकै मेहनत गरेका छन् भन्ने बुझ्नुपर्छ ।

कथाका पात्रहरू हङकङको पृष्ठभूमिमा छन् । तर नेपालको अवस्थाले उता छोइहाल्छ । १० वर्षे जनयुद्धले हङकङलाई छोएको छ, मधेस आन्दोलनले हङकङलाई रुवाएको छ । ‘सतासी मामा’का पात्रका श्रीमती नेपाल आउँदा माओवादीद्वारा मारिनु, नेपाल सरकारले उद्धार गर्न नसक्नु, मुन्ना चौधरी नेपाल आउँदा आमाबुबालाई राख्ने ठाउँ नपाउनुलगायतका कुराहरू नेपालको समस्याले हङकङमा दिएको पिरोलोलाई उजागर गरेको छ ।

हङकङमा नेपाली कार्यक्रम हुन्छ, मेला लाग्छन् । त्यो पनि ल्होसार, चासोक, साकेलाजस्ता चाडहरूमा मेला लाग्छन् । नेपालबाट नेपाली हङकङ पुगे तर नेपालीत्व होइन, राई भएर, लिम्बू, गुरुङ, मगर, तामाङ भएर पुगेकोमा लेखक घोइरिएका पनि छन् । तर सबै चाडहरू नेपाली चाड भन्ने कुरामा जोड दिन लेखक हिच्किचाएका छन् । नेपाल र नेपालीप्रतिको अगाध स्नेह भएर पनि लेखकले यसरी नेपालीत्व भाव दर्शाएका हुन सक्छन् । किनभने प्रायः कथाहरूमा कथाकार ज्यादै भावुक बनेका छन् । अर्काको दुःखमा रोएका छन् । रुन श्रीमती सेवन्तिकाले पनि सघाएकी छिन् । भावुक लेखकले मसिना कुरा उतारेर मिठास बनाउन कति खप्पिस छन् भन्ने कुरा यो सानो संवादबाट थाहा हुन्छ ।

‘हामी अरु एक घण्टा बसौ है ।’
‘किन ?’
‘नयाँ साल शुरु हुन्छ एक घण्टापछि, । यो संयोग अनि मित्रतालाई एक वर्ष पुरानो बनाइदिउँ भनेर ।’

यो संवाद ‘मिलेनियम’ कथामा छ । त्यसैगरी अन्य कथाहरू ‘व्याज’, ‘मङ्की हिल’, ‘मौइसी’, ‘सरी’, ‘मर्निङ वाल्क’, ‘ब्लाक’, ‘बाटो बिराएको मान्छे’ आदि कथा पनि पठनीय नै छन् ।

कथाहरू प्रथम पुरुषमा लेखिएका छन् । त्यसैले सम्पूर्ण कथाका मुख्य पात्र लेखक स्वयं छन् । लेखकले आफूले भेटेका विभिन्न पात्रहरूलाई विभिन्न कथामा उनेका छन् । कथाकारका श्रीमती सेवन्तिका पनि प्रायःजसो कथामा आउँछिन् । जसले गर्दा अहिले प्रचलनमा आएको विभिन्न उपशिर्षक दिँदै लेखिएको उपन्यासजस्तो पनि लाग्छ –टाँकीका फूलहरू ।

हङकङमा धेरै ठाउँ छन् । केही गीतहरूमा हङकङको स्थान ओसनपार्क नेपालमा चर्चित छ । तर कथामा भेटिएन । स्टारफेरी, मंकिहिल, कामतीनजस्ता स्थानहरू दोहोरिन्छन् । जसले गर्दा लेखकले हङकङको एकपाटोलाई मात्र उक्काएका छन् । पूरै हङकङ पढ्न आउँदा कृतिहरू पक्कै आउनेछन् । Nayaonline बाट