जब फोटो पत्रकारले इँटाभट्टाका श्रमिकलाई राहत बाँडे


रमेश लम्साल
काठमाडौँ । माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला अनि कमजोर शरीर । उमेर भने ५६ वर्ष । ललितपुरको झरुवाराशीमा रहेकोे बज्र इँटाभट्टामा काम गर्न सल्यानदेखि काठमाडौँ झरेका मगर पछिल्ला दिनमा काम नभएपछि खान नपाउने अवस्थामा पुगेका छन् । परिवार पाल्न सकी नसकी इँटाभट्टामा काम गर्ने मगरलाई कोरोनाको प्रकोपले थप पीडा दिएको छ ।


‘उडी जाऊ भने पखेटा छैन, बस्नलाई मन भएन’ भने जस्तै भएको छ उहाँलाई । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेको पनि लामै भयो । सल्यान जाने मन छ रे उहाँलाई । लकडाउनका कारण सवारी साधन नचलेका कारण उहाँलाई आफैँले काम गर्ने इँटाभट्टा पनि विरक्त लाग्न थालेको छ । बस्नलाई त समस्या थिएन, तर खाने सातु चामल सकिएका कारण कसरी प्राण धान्ने भन्ने चिन्ताले सताएको छ ।


इँटाभट्टाका सञ्चालकले उनै मगर जस्ता सयौं मजदूरको पसिनामा कुस्त कमाएका छन्, तर परेका बेलामा कुनै सहयोग हुँदैन । मगरको भनाइ छ, “साहु जीहरु एक हप्तामा मुख देखाउनुहुन्छ र तिमीहरु बस है मात्र भनेर जानुहुन्छ, खानपानको कुनै प्रबन्ध भएको छैन ।”
केही सहृदयी मनले उपलब्ध गराएको र राष्ट्रिय फोटो पत्रकार समूहको संयोजनमा आज वितरण गरिएको राहत पाएपछि मगरको मुहारमा खुशीको रेखा सल्बलायो । चिम्सा उहाँका आँखामा त्राण भरिए जस्तै देखियो । खुशीले पुलकित भएका मगरले भन्नुभयो, “हामीलाई सम्झेर आउने तपाई सबैलाई विशेष धन्यवाद छ, भगवान्ले तपाईहरुको कल्याण गरुन ।”
मगर जस्तै सल्यानका हरिकला थापा पनि बज्र इँटाभट्टामा इँटा बोक्ने काम गर्नुहुन्छ । विद्यालय पठाउनुपर्ने उमेर भइसकेको छ वर्षे छोरा बोकेर उहाँ रोजगारीको खोजीमा काठमाडौँ पस्नुभएको हो । काम चलिरहँदा उहाँलाई खान बस्नको कुनै समस्या थिएन । दिनभरि काम गर्दा उस्तै परेको दिन रु एक हजार ५०० सम्म कमाइ हुन्थ्यो । कोरोनाको कहरपछि लकडाउन जारी रहँदा उहाँको पनि चुल्हो निभ्ने अवस्थामा पुगेको थियो । “घर जाने कुनै व्यवस्था थिएन सर, त्यही भएर हामी त समस्या परेका छाँै”, उहाँले भन्नुभयो, “हामीलाई सम्झेर केही भए पनि राहत ल्यादिनुभयो, हामीलाई असाध्यैै खुशी लागेको छ ।”


रिङ्कु सहनी सर्लाहीबाट ललितपुरको झरुवाराशीमा काम गर्न आउनुभएको हो । भालेको डाँकसँगै इँटाभट्टामा खैलाबैला शुरु हुन्छ । बिहान उदाउँदा उहाँको काखे बालक पनि सँगै ब्युँउझन्छ । दिनभर इँटा बनाउने उहाँको दैनिकी उस्तै छ । सरकारले कोरोना सङ्क्रमण रोक्नका लागि लकडाउन गरे पनि उहाँलाई कुनै फरक परेको छैन । खाने सामल सकिएकाले चिन्ता बढाएको छ । राहत पाएपछि उहाँको अनुहारमा पनि खुशीको धर्सा देखा परे ।
उमेशबहादुर श्रेष्ठ सर्लाहीको वरहथवाबाट भट्टा पार्न बज्र इँटाभट्टामा आउनुभएको हो । उहाँको कमाण्डमा २२ जनाले इँटा बनाउने काम गर्छन् । “हाम्रो कुनै माग छैन, घर जान पाए हुन्थ्यो, घर पठाइदिन सक्नुहुन्छ त सर ? चुल्हो बाल्नलाई चामल छैन, साहुजी हाम्रो मेहनतबाट धेरै पैसा कमाउँछन्, विपद्को समयमा हेरेनन्, अब यहाँ बस्नै मन छैन, कोरोनाको डरभन्दा पनि भोकको डर ठूलो भइसकेको थियो, यत्ति भएपनि अब केही दिन चल्छ ।”
सर्लाहीका प्रेम थापालाई पनि आगामी दिन कसरी बिताउने भन्ने चिन्ताले सताएको थियो । छोरा छोरीसहित भट्टामा बस्दै आउनुभएका थापालाई कोही कसैले राहत दिएहुन्थ्यो भन्ने लागेको थियो । आज राहत पाएपछि उहाँले पनि खुसी हुँदै भन्नुभयो, “दैवले हेर्छ भन्थे हो रहेछ ।” करिब ४०० मजदूर भट्टामा कार्यरत छन् । सर्लाही, काभ्रेपलाञ्चोक, रामेछाप, रोल्पा, सल्यान र बाँकेका कामदार कार्यरत छन् । यस्तै भारतबाट आएका पनि उद्योगमा कार्यरत छन् ।

रोल्पाका देउसरा बुढालाई पनि कोरोनाले भन्दा पनि भोकले सताएको छ । विगत दुई वर्षदेखि सो भट्टामा इँटा बनाउँदै आउनुभएका बुढालाई घर जान पाएहुन्थ्यो, जस्तो लागेको छ । तर, अवस्था त्यस्तो छैन । खाने सामल पाएपछि उहाँलाई पनि अब केही दिन बाँचिने आशा पलाएको छ ।

सुरज चौपाल भारतीय नागरिक हुनुहुन्छ । चन्द्र शेखर दास पनि उतैका हुनुहुन्छ । इँटाको भट्टीमा काम गर्ने उहाँहरुलाई पनि आफ्नो मुलुकमा कोरोनाले असर पारे पनि नेपाल अझै सुरक्षित लागेको छ । “यहाँ धेरै सुरक्षित छ, तर भोकले दिएको पीडा भने धेरै भयावह हुने अवस्थामा प्राप्त भएको राहतले प्राण धान्ने छ”, उहाँको भनाइ छ ।

केही सहृदयी मनले उपलब्ध गराएको र राष्ट्रिय फोटो पत्रकार समूहको संयोजनमा आज भट्टामा काम गर्ने ६३ परिवारलाई प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक लिटर खाने तेल, एक प्याकेट नून, एक किलो सोयाबिन, एक किलो तने बोडी र एक÷एक साबुन वितरण गरिएको थियो ।

इँटाभट्टामा काम गर्ने मजदूरले खान नपाएको समाचार राष्ट्रिय समाचार समिति (रासस) ले प्रकाशित गरेपछि कोरियामा रहेका एक फोटो पत्रकार, मलेसियामा रहेका व्यवसायी तथा हिमाल टाइम्सका प्रबन्ध निर्देशक विपीन राई, समूहका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, राजुु ढुुङ्गेल , इन्दिरा नेपाल , वोनीता श्रेष्ठ तामाङ ,प्रवलरत्न तुलाधर ,मनोरमा पुडासैनी थापा , किशोर श्रेष्ठ ,सिव सत्याल,रमेश शाक्य,सुरज श्रेष्ठ,उमेश वस्नेत , सुर्य तामाङ ,जितकुमार वलामी , सुर्य मर्हजन लगायत संस्थाका सदस्यको सहयोग प्राप्त भएको थियो । यस्तै फोटो पत्रकार अजय महर्जन (लेन्सम्यान), निःशुल्क खाद्यान्न ढुवानीमा सहयोग गर्ने अरुण महर्जन र राकेश महर्जनले सहयोग गर्नुभएको थियो ।

विपद्को समयमा सरकारको मात्र मुख नताकी जसले जे सक्छ, उही सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ आफूहरुले श्रमिकलाई सहयोग उपलब्ध गराएको फोटो पत्रकार अजयको भनाइ छ । यस्तै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकार सहयोग गर्न धन होइ मन चाहिन्छ भन्ने ध्येयका साथ आफूहरुले श्रमिकलाई सहयोग गरेको बताउनुहुन्छ ।

“हामी फोटो पत्रकार समाचार सङ्कलन मात्रै नभई सामाजिक सेवामा पनि उत्तिकै संलग्न छौ, भन्ने तथ्य स्थापित गरेका छौँ, आगामी दिनमा अन्य स्थानमा समेत सहयोग उपलब्ध गराउँछाैैं उहाँले भन्नुभयो । श्रमिकलाई राहत वितरणमा राससका फोटो पत्रकार प्रदीपराज वन्तले सामाजिक सञ्जालमार्फत संयोजन गर्नुभएको थियो ।

गोदावरी नगरपालिका– १३ का वडाध्यक्ष भाष्कर थापाको अनुमतिमा राहत वितरण गरिएको हो । केही दिन पहिले रासससँगको कुराकानीका क्रममा अध्यक्ष थापाले उद्योगमा काम गर्ने मजदूरको प्रबन्ध गर्ने जिम्मेवारी उद्योग सञ्चालकको नै भएको समेत बताउनुभएको थियो । सो वडामा मात्रै पाँच इँटाभट्टा छन् । ती सबैमा एकै प्रकारको समस्या छ । उद्योग सञ्चालक सकेसम्म मजदूरको सम्पर्कमा नै आउन नचाहने, आइहाले पनि बहाना बनाएर पन्छने गरेका छन् । रासस
फाेेटाेे साैजन्य,प्रदिपराज वन्त