हेमाेफाेलिया बिरामी पुष्पलालकाे रगतको खालबाट स्वास्थ्यमन्त्रीलाई “पत्र”

काठमाडौं । धनकुटाबाट हेमाेफाेलियाका बिरामी पुष्पलाल तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भावुक पत्र लेखेका छन । उनले याे लकडाउनमा आफुले भाेग्नु परेकाे पिडा सुनाउदै “आफु त मर्छु हाेला अरु साथिहरु मर्न नपराेस भन्दै पत्रमा आैषधि उपलब्ध गराउन आग्रह गरेका छन ।

हेमाेफाेलिया एकप्रकारकाे दिर्घ राेग जस्तै समस्या हाे । जानकारहरुका अनुसार याे राेग बंशानुगत पनि हुन्छ । याे रगतमा देखिने समस्या हाे । याे समस्या जन्मजात हुने र यस्तो समस्या भएपछि शरिरमा रगत जम्न नसक्ने र रक्तस्राव हुने समस्या हुन्छ ।

उक्त समस्या बाट ग्रसित पुष्पलाल तामाङले स्वास्थ्यमन्त्रीलाई लेखेकाे पत्र यस्ताे :-

माननीय स्वास्थ्य मन्त्री ज्यू नमस्कार,

म पुष्पलाल तामाङ, धनकुटा -१ हिले बजारबाट करिब १ घण्टाको दूरीमा मेरो घर रहेको छ। हिँड्न सक्नेहरु त अलि छिटो नै पुग्छन्। म अहिले ४४ वर्षको भएँ। म जन्मजात हिमोफिलिया को बिरामी हुँ । हिमोफिलिया कै कारणले म अत्यन्त शारीरिक पीडा भोग्दै छटपट्टी मा बाँचिरहेको छु । म यहाँ हेमोफिलिया के हो भन्ने बारेमा उल्लेख गर्दैन किनकी स्वास्थ्य मन्त्रालय लाई यस रोगको बारेमा जानकारी होला भन्ने मैले विश्वास गरेको छु र हजुर स्वास्थ्य मन्त्री भएकोले यसबारे जानकारी लिनु नै भएकै होला । शब्दमा खेल्न सक्नेहरु ले त आफ्नो पीडाको बारेमा धेरै लामो साहित्य नै लेखलान् तर म धेरै कुरा वर्णन गर्न सक्दिन/जान्दिन खाली हजुर लाई मेरो शारीरिक अवस्था र हाल मैले भोगिरहेको पीडा सुनाउँछु। कृपया अलिकति समय निकालेर सुनिदिनु होस् है! मन्त्री ज्यू, म अहिले मेरै घर धनकुटामा ओछ्यानमा चिच्याउँदै , रुँदै कराउँदै भगवानसँग बिलौना गर्दै, हजुर र देशलाई समेत गाली गर्दै , सराप्दै बाँच्न विवश छु। मलाई क्षमा गरिदिनु होला,मैले हजुरलाई गाली गर्नु मेरो बाध्यता हो जुन बाध्यता म हजुरलाई सुनाउँछु। म हिमोफिलिया को कारण शरीरको आन्तरिक रक्तश्रावको पीडाले छट्पटाई रहेको छु। मेरा हात खुट्टा चल्न सक्ने अवस्थामा छैनन्। सुन्निएर मोटाएका छन्। त्यसैले यो पत्र समेत छिमेकी भाइलाई लेख्न लगाउँदै छु। मेरा सबै पीडा सुन्ने अहिले हजुरलाई फुर्सद छैन किनकी हजुर कोरोना विरुद्धको लडाईँ मा हुनुहुन्छ त्यो मलाई थाहा छ । तर म छोटकरीमा के भन्न चाहन्छु भने विगत १० दिन देखि मेरो पिसाब बाट रक्तश्राव भई ओछ्यान परेको छु । दिसा पिसाब ओछ्यानमै छ। यो लक डाउनमा मैले औषधी पाएको छैन। काठमाडौंमा रहेको हेमोफिलिया सोसाइटीमा बुझ्दा औषधी नभएको जानकारी पाएं। त्यसपछि म रुँदै , कराउँदै पीडाले छटपटाउँदै बसेको छु। पिसाबबाट रगत बगिनै रहेको छ। औषधि लगाउन पाएको छैन। अवत मलाई बाँच्ने आशा नै मरिसकेको छ।ढ । म एकदम निराश छु। तर केही छैन सकुन्जेल दुखाइ सहौला र मरौंला तर म जस्तै हेमोफिक थुप्रै साथीहरु पनि औषधि नपाएर छट्पटाई रहनु भएको छ। यस्तो अवस्थामा म मरेपनि अरु साथीहरु औषधी नपाएर नमरुन्/उनीहरू मार्ने दिन नआओस् भनेर मैले हजुरलाई यो चिठ्ठी लेखेको हुँ। म चाहन्छु म त यसै मर्छु नै तर म जस्ता अरु साथीहरु छटपटाउँदै मैले जस्तै मृत्युलाई कुरेर बसिरहेका छन् । म हजुरलाई हृदयदेखि नै अनुरोध गर्छु ति साथीहरु बाँच्न चाहनुहुन्छ तर बाँच्नको लागि एन्टी हेमोफीलिक फ्याक्टर नामक औषधी लगाउनु पार्ने हुन्छ। त्यो औषधि चाँडो भन्दा चाँडो उपलब्ध गरी जीवन बचाई दिनुहोस्। मैले पनि बाँचेर म जस्ता साथीहरुको लागि केही गर्ने इच्छा थियो तर थाहा छैन त्यो अवस्था आउला /नआउला किनकी मेरो पुरै शरीर सुन्निएको छ। पिसाबमा रगत गइरहेको छ। औषधि छैन। अन्त्यमा, धेरै के लेखु , मन स्थिर छैन पीडाले शब्द निस्किरहेको छैन तर यति भन्छु मेरो जीवन त जाओस् केही छैन तर यो औषधी नपाउने हो भने साथीहरु मर्ने छन् र ती साथीहरुको आत्माले हामी सबैलाई सराप्ने छ। त्यसैले जीवन बचाई दिनुहोस्: औषधी उपलब्ध गराई दिनुहोस्:
उही
हेमोफिलिया बिरामी
पुष्पलाल तामाङ
धनकुटा।