हजुर ! म एउटा मजदुर..

अर्जुन बाराहाली

कबिता : हजुर ! म एउटा मजदुर ।

हजुर !
म एउटा मजदुर
हरेक दिन
धर्तिमा उज्यालो खस्नु अघि
सुरु हुन्छ मेरो
अबिराम जिन्दगीको भागदौड ।
अनि
पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु
र बग्छ आफ्नै शरीरबाट नदि ।
घोटिन्छ्न मेरा हात पाखुराहरु
जाँतो घोटिए झै ।
चोईटिन्छन मेरा अस्थिपन्जहरु
सिसा टुक्रिए झै ।
थकित हुन्छ मेरो जिर्ण शरीर
धमिराले मक्काएको बूढो रुख झै ।

तथापि,
म चलाई रहन्छु मेरा हात पाखुराहरु,
दौडाईरहन्छु मेरा हातगोडाहरु ।
आदेशले –
चल भन्छ – म चल्छु ।
रोक भन्छ – म रोकिन्छु ।
जा भन्छ – म गईहाल्छु ।
खा भन्छ – म खान्छु ।
उठ भन्छ – म खादाखादै उठ्छु ।
कुद भन्छ – म सकिनसकी कुद्छु ।
शरीर मेरो हो,
चेतना मसँग पनि छ ।
तर एउटा मेसिन झै,
म उसको आदेशमा चल्छु ।
उसको इशारामा कुद्छु ।
उसलाई भोक लाग्दा खान्छु ।
उसको फुर्सदमा आराम गर्छु ।
किनकि म एउटा मजदुर हुँ ।

तर अफसोच,
मेरा पसिनाले सिन्चिन्छ बाली,
खेतबारी उसको हुन्छ ।
म रित्तिएर ढिकुटी भरिन्छ,
मालिक उ ठहरिन्छ ।
बैंकहरुमा मेरो परिश्रम जम्मा हुन्छ,
खाता र सहिछाप उसको चल्छ ।
म ठड्याउछु महल,
भोगाधिकार उसको हुन्छ ।
म बनाउछु – बाटो, चौतारी र मन्दिर
ईतिहास उसको लेखिन्छ ।

हजुर !
म एउटा मजदुर ।

कबि : अर्जुन बाराहाली “उदयपुर”
हाल: पोर्चुगल