लघुकथा : आवरण

everest kitchen

 

लघुकथा : आवरण

लता केसी

साउन महिना , मौसम हरियाली थियो । अन्तिम सोमबार, शिवको मन्दिर परिसर निकै झकिझकाउ थियो । दीन दु:खी पनि धर्मात्माहरुबाट केही पाइने अाशले लहरै बसेका थिए । झट्ट हेर्दा ठुलै उत्सव थियो । विशेष चहलपहल, अघिपछि भन्दा निकै भव्य र निकै रोचक देखिन्थ्यो ।

एउटी सभ्य देखिने महिला भब्य गाडीबाट अोर्लिन् । उनी जनकल्याण सँघकी अध्यक्ष थिइन् । उसो त उनले कहिले जीवनमा मन्दिर र पूजा गरेको थाहा थिएन ।

उत्तिखेरै दुईजना लाठेहरुले उनले दानका लागि ल्याएका कम्बल, लत्ता कपडा र खानेकुरा बोकेर उनका पछि लागे । निकै दानधर्मको भावले सबैलाई वितरण गर्दै गइन् ।

एकजना दु:खीले बिन्ति बिसायो – हजुर , छोरो अस्पतालमा छ । नगद सहयोग पाए ठुलै उद्धार हुने थियो । उनले तत्कालै केही नगद सहयोग दिइन्। नगद हातमा परेर ऊ दङ्ग पर्यो ।

मन्दिरको व्यवस्थापन र संरक्षणलाई पनि भनेर मोटै रकम चेक काटिन् । सबै दु:खी अात्माहरुले उनको जयजयकार गर्दै थिए । दर्शकहरु पनि अाशीर्वाद वर्षाउँदै थिए । टीकाटिप्पणी चल्दै थियो – “धन पनि भाकी , मन पनि भाकी रहिछिन्´´ ।

अचानक प्रकृतिको कुदृष्टि बर्सियो । भारी वर्षा चल्यो । निमिषभरमै छेउको खोलो उर्लिएर मन्दिरभित्रै बाढी बनेर पस्यो । ज्यान जोगाउने होडमा भागदौड , हँगामा , कोलाहल मच्चियो ।

गरीब दु:खीलाई पन्छाउँदै उनै दानी र सज्जन महिला गाडीमा चढ्दै अाफ्नो घरको गेट मात्रै के पुगेकी थिइन् , अघिका केही मगन्तेहरू उनको घरमा शरणका लागि अनुनय विनय गर्दै थिए । उनले गेटभित्र अनुमतिबिना प्रवेश निषेधको बोर्ड टाँसेर सबैलाई हकार्दै थिइन् -“यो धर्मशाला होइन , जान्छौ कि पुलिस बोलाऊँ ? ”

भिडबाट एक जनाको आवाज आयो – “दिदी अघिका मिडियाकर्मीलाई फोन गरेर बोलाऊँ या भित्र पस्न दिनुहुन्छ ´´?

लता केसी
तीनकुने , काठमाडौं