लघुकथाः शहरकी केटी

लघुकथाः शहरकी केटी

हेमलता उप्रेती

“हाम्रा बुहारी त गाउँका नपढेका केटी, केही जान्दैनन् । तिम्री बुहारी त शहरकी पढेलेखेकी केटी । आजकल त तिमीलाई मस्ति छ होला हैन ?”

धनमायालाई उनका छिमेकीले बयाङ्ग्य हानेको आवाज उनकी बुहारी अनुको कानमा परिहाल्यो ।

“धेरै अर्कालाई खसालेर नबोल । आजकालका शहरका पढेलेखेका मान्छेले धेरै कुरा जानेका हुन्छन् । नयाँनयाँ कुरा पनि जान्दछन् । नजाने पनि सिक्न सक्छन् । प्याच्च बोली हाल्नु हुदैन है ।”

आफ्नी सासुको प्रत्यिुत्तरमा अनुले आफूप्रति केही आशा, केही विश्वास र केही अपेक्षा भएको अनुभूति गरिन् । लकडाउनले गर्दा अफिस बिदा भएपछि श्रीमान् सहित अनु गाउँकै घरमा आएर बसेको एक हप्ता भएको थियो । शहरमै जन्मेर हुर्केकी अनुलाई गाउँले जीवनको बारेमा थोरै मात्र थाहा थियो ।

भोलिपल्ट बिहानै धनमायाले अनुलाई पँधेरोमा लिएर गइन् । देखाइन् र कम्मरमा गाग्री राखेर पानी बोक्न सिकाइन् । बाटामा आफ्नै बाँसघारी थियो । पर्सिपल्ट अनुले श्रीमान्लाई भनेर बाँसको भाटा जोडेर पाइपजस्तो बनाई पँधेराको पानी आफ्नै आँगनमा झार्ने ब्यवस्था गरिन् । अर्को दिन धनमायाले अनुलाई ठेकीमा मही पार्न सिकाइन् । तर भोलिपल्ट अनुले सानो पङ्खा ठेकीमै राखेर बिजुलीमा जोडी घुमाएर एकैछिनमा मही पारेर घिउ निकालिन् । धनमाया दङ्ग परिन् । अर्को दिन उनले अनुलाई गुन्द्रुक, सिन्की, मस्यौरा आदि बनाउँन सिकाइन् । अनुले भने आफ्नै बारीमा फलेका स्कुस, आलु, प्याज आदि प्रयोग गरी आलुचप, आलुदम्, मःम, पकाएर खुवाइन् । उनले घरकै दूधबाट पनीर पनि बनाइन् । त्यसैगरी घरमै पाकेको केरा र दहीबाट उनले लस्सि बानाएर खुवाइन् । यी खानेकुराहरु घनमाया तथा परिवार सबैका जिब्रामै झुण्डियो । अनुलाई पनि आफ्नै घरवारीमा भएका चिजबिजहरुबाट विभिन्न परिकारहरु बनाएर खुवाउँन पाउँदा रामाइलो लागिरहेको थियो भने धनमाया त दङ्गै थिइन् ।

अर्को हप्ता धनमायाले छिमेकीहरु सबैलाई खाजा खान बोलाइन् । सासु बुहारी मिलेर मःम, आलुदम्, आलुचप, प्याजी, पनीर, लस्सि आदि परिकार बनाएर खुवाए । स्वादिष्ट खाजाका नयाँनयाँ परिकार तथा आँगनमा झरेको पानीको धारोे र पङ्खाले पारेको मही देखेर सबैजना छक्कै परे । एक महिना पछि गाउँले सबैका आँगनमा पानीको धारा खस्यो । पङ्खाले मही पार्न थाले । खानामा नयाँ नयाँ परिकार थपिए । गाउँका बुढाबुढी चाहीं आफ्नो फूर्सदको समयमा यूट्युबबाट मनपरेका धार्मिक कार्यक्रम र भजनहरु आफै खोलेर हेर्दै रमाइलोसँग समय बिताउँन थाले ।

इलाम नगरपालिका ७, इलाम