लघुकथा: इज्जत

सुधिर कुमार “सुमन “

लघुकथा:इज्जत

सुधिर कुमार “सुमन”

“अब त समाज ले के सोच्ला भन्ने पनि सोचे हुन्थ्यो नि बुडा। हाम्रो नहेरे पनि नाता जोडिन लागेको ठाउँ को इज्जत त हेर्दिन पर्यो नि।” बेलुकी सुत्ने बेला श्रीमती गनगनाउन थाली ।अस्ति राहत को लिस्ट मा नाम लेखाएको दिन देखि खुनखुनाउन थालेकी थिइ ऊ।

काजी खलक लाई छोरी दिने पक्का पक्की भैसकेको थियो। लकडाउन ले बैशाख मा गर्ने भनेको बिहे रोकिएको मात्र हो।फोन मा, म्यासेन्जर मा सम्धी सम्धिनी भनेर गफै गर्न थालिसकेकी थिइ श्रीमती।आफू कमजोर आर्थिक अबस्था को भएपनि ठुला खलक मा सम्बन्ध जोड्न पाउँदा हाम्रो परिवार को सान नै चौडा भएको थियो।
“बिघौँ बिघा जग्गा।भकारी भरी अन्न।फलाना फलाना शहर मा घर घडेरी …” केटि माग्न आउँदा लमि ले भनेको कुरा झलक्क सम्झिएँ।

“आ जेसुकै होस भोलि चामल को पोको देखेसि जोई को मन त्यसै पग्लिने त हो नि” म मनमनै मुस्कुराएँ।

“हर्क बहादुर सदस्य संख्या तीन” मेरो नाम आउँदा म चकित परेँ।घर को एक जना सदस्य घटाएर तीन लेखिदिएछन अनुगमन गर्न आउने ले।”सम्धी नै अनुगमन मा खटिएसी त ख्याल गर्नुपर्छ नि” म मनमनै गुनगुनाएँ।

“यी लिस्ट हेर्नुस।तीन जना नै छ नि”। राहत बांड्ने ले लिस्ट नै देखाएर स्पष्ट पार्यो।

राहत लिएर फर्कँदा मन भरी कुरा खेल्यो।राहत पाउने को लिस्ट आँखा मा नाचिरह्यो। घर आउनासाथ श्रीमती लाई भनेँ।”काजी को घर मा फोन गरेर बिहे क्यान्सिल भो अरे भन्दे”।

श्रीमती वाल्ल परेर मेरो अनुहार हेर्न थाली।म भने इज्जत धेरै भएका,बिघौ बिघा खेत अनि भाकारी भरी अन्नबाली थुपारेका काजी खलक लाई सम्झिदै थिएँ। राहत को लिस्ट मा लेखिएको उनको नाम अनि चार जना परिवार लाई बढाएर पाँच जना बनाइएको उनको इज्जत मलाई जिस्काइरहेको थियो।