गाैतम बुद्ध, बिबाह , बुद्धत्व


भगवान् सिद्धार्थ, बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।

सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी मा भएको थियो । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे।

भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

नामाकरण
सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्यवंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्यकुलको रिति अनुसार पाँचाैं दिनमा त्रिवेदले पारंगत १०८ ब्राह्मणहरूलाइ निमन्त्रणा गरी भोजना गराइ ती उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राम्हणहरूबाट नामाकरण गराएका थिए। सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राम्हणहरूले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे । यहिं शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाइ पुकारियो ।

बिबाह
राजर्षी सुखसयलमा हुर्किएको हुनाले उनको बाल्यकाल सुखद नै रह्यो भन्न सकिन्छ । जन्मँदा बित्तिकै आमा गुमाउनु परेपनि आफ्नी सौतेनी आमाको भरणपोषणमा हुर्किएका गौतम बुद्ध १६ उमेर पुगेपछि उनको बिवाह यशोधरा नामकी राजकुमारी सँग भयो । यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो ।

बुद्धत्व
संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारता बाट मुक्ती पाउन चाहे । उनमा संसार प्रति कुनै मोह बाँकी रहेन । उनलाई सबै कुरा क्षणभङुर लाग्यो । उनमा संसार प्रति वैराग्य उत्पन्न भयो । बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरे । तपस्या गर्दै गर्दा उनले बुद्धत्त्व प्राप्त गरे । उनी साम्सारिक दुखको जड सम्म पुगे र बुझे की संसारमा आफ्नो भन्नु केही छैन । संसारमा दुखको जड भनेको मान्छे आफै हो । वीकिपिडिया