उचालपछार: शेखरकुमार श्रेष्ठ

शेखरकुमार श्रेष्ठ

लघुकथा : उचालपछार

शेखरकुमार श्रेष्ठ

बारीमा बसेर थाँक्रो हाली कराइरहनुभएको आमालाई छोराले भन्यो, “आमा उठ्नबित्तिकै कराउन थालिहाल्नुहुन्छ, तपाईँ त ? बिहान कराएपछि पूरै दिन बिग्रन्छ । बरु यसो ईश्वरको नाम लिनुस् न ।”

“हो, तँ जहिले म कराइरहेको सुन्छस् ? पहिले हेर न यहाँ, कसका डाम्नाहरु आएर सिमीको पात भुसुक्क पारिदिएको । आफूले यत्रो दिन दुःख गरेर लगाएको सिमी खाएको देखेपछि ईश्वरको नाम लिऊँ कि बारीको विजोग हेरुँ ?”

“ह्या ! जेसुकै गर्नुस् । बारीमा नआउनुभएको भए देख्नुहुने नै थिएन । म त हिजोजस्तै बुहारीलाई गाली गर्न थाल्नुभयो कि भनेर ?”

“हो, मेरो कामै छैन । जहिले तेरी स्वास्नी देख्नेबित्तिकै कराउँछु नि । हिजो त मकै गोड्दा मकै र भटमास काटिँदा सम्झाएको नि । आफ्नो त स्वरै ठुलो र कर्कसा । त्यसैले सबैको अर्घेलो ठान्छन् ।”

आमाको रिस बढ्न थालेपछि छोरा भान्सामा गई श्रीमतीलाई भन्यो, “के गर्नु आमा कराइरहनुहुन्छ ? तिमीलाई त कस्तो लोग्ने, कस्ती सासू अनि कस्तो घर परेछ भन्ने लाग्यो होला हगि ?”

“धत् ! के कुरा गर्नुभएको त्यस्तो ? अगुल्टो नठोसी बल्छ र ! कहिलेकाहीँ काम गर्दा गल्ती हुँदा जसले नि गाली गर्छन् नि । घरमा आमाबाबुले गाली गरेकै हो । स्कुल र कलेजमा शिक्षकको गाली खाएकै हो । साथीले भनेजस्तो काम नगर्दा त गाली खाइयो । त्यसमाथि आमा हिजो कराउनुभएको होइन, सिकाउनुभएको हो । अलि कडक स्वर हुँदा मेरो मन खल्लोचाहिँ भएको थियो । त्यसमाथि कतिपय मानिसको स्वभाव पनि त हुन्छ चित्त नबुझाउने । मेरो माइतीमा पनि सबै जनासँग आमा कराउनुहुन्छ ।”

“तापनि कतिपय घरमा सासूले बुहारीलाई छोरीजस्तै राखेका हुन्छन् नि ?”

“सासूले माया गरे छोरी गाली गरे बुहारीको दर्जा भन्ने सोच नै गलत छ क्या ।”

“तापनि सासू र बुहारीसँगै बसेपछि कुरै मिल्दैन भन्छन् । नारीमाथि नारीले अन्याय गरे भन्छन् ?”

उनले श्रीमानको उचाल पछारको स्वभावलाई किनारा लगाउदै भनिन् -“ भोली सासु हुने पालो मेरो पनि आउँछ होइन र ?