कान्छी स्वास्नी: लक्ष्मी पाैडेल

लक्ष्मी पाैडेल

लघुकथा : कान्छी स्वास्नी
लक्ष्मी पौडेल

“आमा ! दिन कतिखेर हुन्छ ?”
“के चाहियो तँलाई ! आफू दिनभरीको कामले थाकेर लखतरान भाछु । एकछिन बस्न पाएको होइन। ”
यो उज्यालो कहिल्यै नभइदिए हुन्थ्यो जस्तो लाग्छ । मन भित्रभित्रै बोलिन उनी ।
“हल्ला नगरी सुत् ! ”
” बा आउँथ्यो कि भनेर ! ” छोराले आमाको मुखमा पुलुक्क हेर्यो । आमा बिन्दुकुमारी केही बोलिनन्। छोराको टाउको सुम्सुम्याइन मात्र ।

बिन्दुको मन भरिएर आयो । गला अबरुद्ध भए जस्तो भो । स्वास्नी र छोरा छोडेर भारत पसेको दश वर्ष भो बिन्दुको लोग्ने मोहन दमाई। काखको छोरा सबै बुझ्ने भइसक्यो । खोजखवर केही गर्दैन । लोग्ने भनेको लोग्ने हो ।कहिलेकाहीँ त बित्थामा झगडा गरेछु जस्तो लाग्छ । धेरैले सौता बेहोरेका छन् । पहाडतिर तराई जस्तो कहाँ हो र ? त्यतिखेर माइतीले उचाले । अहिले कोही वास्ता गर्दैनन् । बिन्दुको आँखाबाट तुरुक्क आँसु चुहिए । छोरालाई हेरिन् । अघि निदाएछ ।

मोहन दमाई, आज ड्युटीमा गएन । साथीलाई उसको मोहल्ला पनि रखवारी गर्ने अनुरोध गर्यो । दुख बिमारमा आलोपालो गर्छन् । रातको एघार बजे, घर सम्झ्यो, बिन्दुलाई सम्झ्यो । दुधे बालक कत्रो भयो होला ? पुरानो एल्बम फर्काएर हेर्यो । हेरिरह्यो निकै बेरसम्म ।
घर स्वास्नी छदाँछदै अर्की ल्यायो । ससुरालीले लखटे । अहिले एक्लो जीवन, रक्सीको सहारा ।

“डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साफें” पुरानो गीतले मोबाइलको घन्टी बजायो ।
” हेल्लो,” उताबाट आवाज आएन । नौलो नं थियो । फोन राख्यो । मनले मानेन । कल ब्याक गर्यो ।
“हेल्लो,”
“घर आउ, धेरै याद आयो । छोरा सोधिरहन्छ ।
“कान्छी स्वास्नीलाई पनि लिएर आउ, मिलेर बस्छु ।”
एकसासमा बोली सिध्याई बिन्दुले ।
“कान्छी —– ! ” मोहनको बोली बन्द भो । भगाएर ल्याएको एकवर्ष मै छोडेर गएकी कान्छी स्वास्नीको धमिलो अनुहार सम्झ्यो ।