आजको अर्जुन

मदन पराजुली

लघुकथा : आजको अर्जुन
– मदन पराजुली

” कसम ?”

” कस्सम !” त्यति लामोबाटो ! भेटभएर , चियाखाएर फर्कने हिसावले मात्रै आउदै छैन नि म !!”

” बुझें !”
फेसबुक परिचय , लामो समयको मेसेन्जर वार्ता , सयौ शुभकामना र स्टिकर , फोटो भिडियो आदान प्रदान पछि एक लक्ष सार्थक बन्न गैरहेको थियो । उत्साहित थियो अर्जुन । ” लाज लागेको छ !” यसै भनेर उसले फोन नं पनि दिएकी थिइन, प्रत्यक्ष वार्ता पनि गरेकी थिइन । लक्षुले पठाएकासयौ फोटो र पचासौं भिडियो भने अर्जुनले मोबाइलमा सुरक्षित राखेको थियो । सबैमा लक्षु क्लोजअपमा थिइ , आनन्दित देखिन्थी ।

बसस्टपबाट दिएको लोकेसन अनुसार जादा अर्जुनलाइ लक्षुको ठेगानामा पुग्न कुनै कठिनाइ भएन । दुई दिन अगाडि भिडियोमा देखिएकै ड्रेसमा लक्षु दुई तीन ग्राहक संग दुकानमा ब्यस्त थिइ । ग्राहकहरु बिदा नभएसंम थोरै छेउमा बसेर गहिरिएर उसलाइ हेर्‍यो । सुन्दर , सुशील , दक्ष , मिलनसार , फरासिली !!!

” नमस्ते ! म अर्जुन !”ग्राहकहरु बिदा भैसके पछि अर्जुनले लक्षुको सामना गर्‍यो ।

” नमस्ते । भन्नोस यहाको के सेवा गरौं ?” लक्षुको यो शिष्टाचारले अर्जुन तीन छ्क पर्‍यो । उ त लक्षुले इण्डियन फिल्मकी नायिका जस्तै खुरुरुरु दगुर्दै आएर झ्याप्प अगालोमा कस्सिने र दुइचार थोपा आँसु खसाल्ने सिनको पो कल्पना गर्दै थियो !

” झट्ट नचिनेर रिस्क नलिएको होला !” अर्जुनले कालो रेवान चस्मा र पनामा ह्याट उतारेर टेबुलमा राख्यो । मेसेन्जरबाट आपसमा भएका तेत्रा प्रेमवार्ता र वाचा पछि लक्षुको अपरिचित ब्यवहारले अर्जुन जरैबाट उखेलिन पुगेको थियो !

” बस्नोस न !” लक्षुले साइडको बेन्च तिर इसारा गरि ” जाउ छोरा आन्टीकहां दुइकप चिया भनेर आउ ।” पसलमा भएको आठवर्ष जतिको फुच्चो बाहिर गयो । आमाछोरा भन्ने कुरा त साइडमा टासेको संयुक्त भव्य फोटोले पनि देखाउँथ्यो ।

” म कस्तो आपतमा परेको छु भने ! पोहोरसाल मेरो मोबाइल हरायो । पासवर्ड , आइ डि त्यसैमा थियो । जस्ले पायो होला उ मेरो फ्रेण्ड लिस्ट्मा पनि रैछ ! अनि त पहिलाको , अहिलेको फोटो , भिडियो सब कपी गरेर सबै तिर पठाउदो रैछ ! यहाँ सम्म दुख गर्दै आइपुगेको तपाईं तेश्रो ब्यक्ती हो । कस्सम ! मलाइ त कस्तो रिस उठिराखेको छ भने !”

अर्जुनले तीन बल्ड्याङ्ग खाइ सकेको थियो ! ” ए…..! कुरा तेसो पो हो ! म त बिरगन्ज सम्म जाने काम थियो र हिडेको थिएं । बस पार्कमा आइपुग्दा संझेको हुनाले यता पसेको मात्रै हो । सरी ! यहि बहानामा पनि भेट त हुन पाइयो ।” चिया सकिसकेको थियो , जति सक्यो चाडो अब उ यहाबाट फुत्कन चाहन्थ्यो ।

” बाबू ल जाउ त ! अंकललाइ बिरगन्ज जाने बसमा चढाएर आउ ।”

यो शिष्टाचारले अर्जुन आतंकित भयो । बेमतलव बिरगंज जान उ चाहदैनथ्यो ।
” पर्दैन ! पर्दैन ! पर्दैन ! बच्चालाइ किन दुख ? मैले सबै चिनेकै छु नि ।” उ कुलेलम ठोक्यो ।
यो हतारोमा टेबुलमाथी राखेको ह्याट र चस्मा पनि लिन बिर्सेको थियो । (पोखरा )