पसिनाको मुल्य : शुक्रराज कुँवर

शुक्रराज कुँवर

लघुकथा – पसिनाको मुल्य

शुक्रराज कुँवर

रामबहादुर घाँसको भारी बोकेर उकालो लाग्दै थिए । एकाबिहानै बेँसी झरेको फर्किदा मध्यान्ह भईसकेको थियो । भदौरे गर्मी पसिनाले निथ्रुक्क थियो । अलिमाथि चौतारोमा भारी बिसाउने सोच गर्दैगर्दा , त्यतैतिरबाट केहि केटाहरुको खैलाबैला उनको कानमा ठोक्किन अाईपुग्यो । चौतारो छेउ पुग्दा एकहुल शहरिया केटाहरु रहेछन् । उसले भारी त्यतै एकछेउमा बिसाए। केटाहरु शान्त थिए । लामो सुस्केरा हाल्दै शिरक‍ो टोपी झिके र चोरी अौंला अंकुसो जस्तो पारेर निधारको पसिना सिनित्त सोरेर फाले ।

रामबहादुर चौतारो छेउ अाईपुग्दा घाँसको भारी र उसको जीउबाट निस्केको पसिनाको गन्धले ती शहरिया केटाहरु नाकमुख खुम्चाएर शान्त भएका रहेछन् । उनले भारी बिसाएर पसिना पुछ्दा उनीहरुलाई ह्वास्स गनाएछ क्यारे !अा – अाफ्नो नाकमुख छोपे र घिनाए पनि । ती मध्येका रबिन भन्नेले ” कस्तो पसिना गनाएको यार ” भनेर प्याच्च भन्यो पनि । रामबहादुरलाई नरमाईलो लाग्यो,त्यहाँ बसिरहन ठिक लागेन । उनी भारी बोकि उकालो लागे ।

रामबहादुर हिँडेपछि बल्ल ती केटाहरु गफिन थाले । ” अाम्मामा कस्तो पसिना गन्हाको यार नाकै पोल्ने गरि, बोल्दा पनि मुखमै पस्ला जत्तिकै क्या ” । ती मघ्ये एउटाले भन्यो । हो त नी !मेरो त झन्डै सासनै बन्द भ’को यार , अर्कोले थप्यो । बास्तवमा यी केटाहरु छुट्टी मनाउन ट्रेकिङमा निक्लेका थिए । केहिबेर बसेर उनिहरु उकालो लागे ।

पन्द्र बीस मिनेट हिँडेपछि उनीहरुले बाटो छेउमै एउटा घर देखे । घरछेउमै ढुङ्गे धारोबाट कलकल पानी झरिरहेको थियो । पानी खान मन लाग्यो र उनीहरु घरतिर उक्ले । कोही देखिएनन् ।
को हुनुहुन्छ घरमा ‘? भन्दै रबिन करायो ।

घरक्क गरेर ढोका उघ्रियो र तिनै रामबहादुर बाहिर निक्ले । ‘ ए बाबुहरु ? अघि चौतारीमा भेट भएको , बसौ न बसौ ‘ उनले छेउतिरको फलैंचा देखाउँदै भने। ‘ हैन बुवा हामी त पानी खान भनेर अाएको। ‘

उनले पानीको सट्टामा महि दिए। सबैले पिउँदै गर्दा उनीहरुले बारीमा लहलहाउँदा काँक्राहरू फलेका देखे । भोक पनि लागेको थियो , ” बारीमा काँक्रा फलेको रहेछ बुवा ! यसो किनेर खान पाईन्छ कि ” ? रबिनले मुख खोल्यो । “ए भैहाल्छ नि किन पैसा चाहियो र? ” भन्दै रामबहादुर बारीतिर गएर काँक्रा लिएर आए । उनकी बुढीले सिलौटोमा अकबरे खुर्सानी पिसीन् ।
” साह्रै मिठो काँक्रा रहेछ बुवा , अमृत समान ” रबिनले मुख मिठाउँदै भन्य‍ो ।
” बाबुहरू हो ! यो सबै पसिना, श्रमको उपज हो ,भलै यसको गन्ध नमिठो होला तर मिहेनतको फल अवश्य मिठो हुन्छ।
उनले यतिभन्दा सबै युवाहरूको शिर झुकेको थियो।

२०७७ / ०१ / ३१ धरान