याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी अनलाइन पा:लाम गायन प्रतियोगिता गर्ने

everest kitchen

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ ।

यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका संस्कृतिप्रेमीहरूलाई पालाम आव्हान गरेको छ ।

प्रतियोगीले पाःलाम विशुद्ध लिम्बू भाषामा हुनु पर्ने, गैरलिम्बू भाषा प्रयोग गरिए स्वतः खारेज हुनेछ आयोजकले जनाएको छ । त्यसैगरी पहिले रेकर्ड नगरिएको पाःलाम जुनसुकै ‘मुई’को गाउन सकिने, कम्तिमा ५ मिनेट र बढिमा ७ मिनेटको हुनुपर्ने, पाःलाम पठाउँदा स्पष्ट अनुहार देखिने गरि ल्याण्डस्केपमा भिडियो खिचेर पठाउनुपर्ने आफ्नो नाम तथा ठेगाना स्पष्टसँग लेखेर पठाउनुपर्ने, जेठ १५ गते साँझ ६ बजेदेखि प्रत्येक साँझ पाःलामहरू हाम्रो आधिकारिक पेज Yakthung Cultural Group र NayaOnline TV युटुब च्यानलमा अपलोड गरिने, फेसबुक तथा युट्युवमा अपलोड गरिएको १५ दिनभित्र प्राप्त भएका प्रतिक्रियालाई मान्य हुने र कुनै विवाद उत्पन्न भएमा अन्तिम निर्णय आयोजक र निर्णायक मण्डलमा निहित हुने आदि नियमहरु राखेको छ । पालाम प्रतियोगितामा विजेतालाई नगद रु ३० हजारसहित एउटा पाःलाम निशुःल्क रेकर्ड, प्रमाण–पत्र र अन्य अकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यसैगरी द्वितीय पुरस्कार – नगद रु २५ हजार,प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार र तृतीय पुरस्कार – नगद रु २० हजार ,प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार दिने भएको छ ।

प्रतियोगीमा सहभागी पाःलामलाई सामाजिक सन्जालबाट प्राप्त प्रतिक्रियाबाट ४०% र निर्णायक मन्डलबाट ६०% अंक प्राप्त गर्नेछ ।

पाःलाम जेष्ठ ३० गते सम्ममा जम्मा गर्ने र विजेताको घोषणा साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा सार्वजानिक गर्ने पनि आयोजकले जनाएको छ ।

कार्यक्रमको लागि हालसम्म युकेका विश्वासदीप तिगेला, हङकङका रोशन यक्सो र चौबिसे संयक ढाका उद्योग धरानले प्रायोजन गरेका छन् ।

के हो पाःलामः ?
धान नाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाई जस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाह जस्ता कार्यमा देख्न पाइन्छ ।

पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवालजबाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक–आपसमा परिचय गरी साइनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ ।

पालाम गाउँदै धान नाच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रुपमा दुवै पक्षले हात जोडेर बिन्ती गर्ने चलन रहेको छ । पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाच्दै जाँदा हुने गल्ती कमजोरीप्रति अग्रिम हात जोडेर विन्ती गरी शुरु गरिन्छ । विरहका भाका मिसाउँदै पालाम गाइन्छ ।

पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभूति र मिलन बिछोडका पक्षलाई भावुक ढङ्गले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडी बाँधिने निधो हुन्थ्यो । धान नाच्दानाच्दै पालामकै भाकामा कुरा गरेर वैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् ।