इज्जतको डर : विष्णु भण्डारी(आचार्य)

विष्णु भण्डारी(आचार्य)

लघुकथा—इज्जतको डर
विष्णु भण्डारी(आचार्य)

निर्मला जब विहे गरेर यो घरमा आई ,कुनैदिन सुख र खुसीको अनुभूति भएन , उसलाई ! न त उसको दु:ख विराम र सन्चोबिसन्चोको चासो राख्थ्यो कसैले ? अरु त अरुनै भइहाले,आफ्नो जीवनसँग नितान्त सम्बन्ध जोडिएको,अग्नी साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम खाएको आफ्नो लोग्नेले समेत उसलाई गर्ने ब्यवहार रुखो थियो। उसले निर्मलालाइ कुट्ने पिट्नेजस्ता शारीरिक पीडा नदिएपनि मानसिक पीडाभने कति दिन्थ्यो भनेरसाध्य थिएन ।अरु जोसुकैसँग नरम बोलीब्यवहार गर्ने निर्मलाको श्रीमान् निर्मलाकोलागि नमिठो बोली ब्यवहार गर्थे ।

असहाय भएर कतिचोटि त आत्महत्या गर्ने प्रयास नगरेकी हैन निर्मलाले ,तर तिनै ससाना लालाबालालाइ सम्झेर मर्न सकिन, सधैँभरि उदास भएर बाँचिरहेकी थिई ,अझैपनि ।

यो सब देखेकी कमलाले निर्मलालाइ भनी–“ तँ कति सहन्छेस् निर्मला , यस्तोअपमान, मान्छे भएर एउटा तुच्छ जनावरकोजस्तो ब्यवहार , कतै केही त उपाय गर”

“खै काँ जानु र कमला,”मलिन बोलीमा भनी, निर्मलाले ।

“कति त्यस्ता निकायहरु छन,महिलाहिँसाका विरुद्वमा लडिदिने ,बरु दे न एउटामा उजुरी ,एकदिन हैन दुइदिन हैन ,सहनुको पनि सीमा हुन्छ नि हौ ,यस्तो सहेर बस्ने म त तैँलाइ पो उस्तो देख्नथालेँ ।´´

निर्मलाले पुन मलिन आवाज निकाल्दै भनी–“के गर्नु कमला ,यो सब मैले पहिल्यै नसोचेकी कहाँ हुँ र, सामान्य मान्छेलाई भए त उजुरी दिन्थेँ होला ,तर मेरो श्रीमान् भनेको समाजमा एउटा प्रतिष्ठा कमाएको मान्छे, देख्नेसुन्नेले के भन्लान् ,इज्जतको डर राख्नै पर्यो । ´´

त्यसो भनेर सधैँ कहाँ सकिन्छ र ? कमलाले न्यायप्रति उकासिन् ।

निर्मला गम्भीर भएन भन्न थाली – ´´खै , घरको कुरो किन पो बाहिर लानु र ? मैले सहनशीलता देखाएर माया र अादर गरे एकदिन कसो फिर्ता नपाउँला त ? ´´

बेलबारी मोरङ