लघुकथा : अस्त्र

लघुकथा : अस्त्र
तुलसी पण्डित

किन तिम्रो आँखामा आँसु प्रिया ? तिम्रो लागि मैले केही सोचेको छु । जसले मेरो मृत्यु पछि पनि तिम्रो जीवन सुखमय बन्नेछ ।

हनुमन्तेको जीवनले अन्तिममोड लिएको छ । ऊ क्यान्सरबाट पिडित छ । डाक्टरले भने
अब घर लैजानुहोस् । र उहाँले खान चाहेका खानेकुराहरु खान दिनुहोस् । हो उनले दिनै तोकेर भनेका थिए अब यो समय सम्म ।

नथुनीमा पीडा निकै बढेको छ । उनी भर्खर तेईस वर्षकी भइन् । जायजन्म भएको थिएन । बाबुआमाले एउटा केटो जग्गाजमिन प्रशस्त छ भन्दै सम्बन्ध जुटाइ दिए । बिचरा हनुमन्ते विवाह गर्दा त तन्दुरुस्ती नै थियो । तर एकदुई बर्षको बिचमा नथुनीले यो असह्य पीडा सहनु पर्यो ।

हनुमन्तेले नथुनीलाई बोलायो ।
ल लिय यो कागज । यो तिम्रो लागि अनमोल सम्पत्ति हो । म मरेको पैंतालीस दिन पछि हेर्नू ? अहिले बाकसमा लगेर राख ।

नथुनीलाई त्यो कागजले के सान्त्वना दिन्थ्यो र ! तैपनि बाकसमा लगेर राखिन् । डाक्टरले तोकेको समयमा हनुमन्तेको निधन भयो । आँशु पिएर सबै कार्य उम्काइन् नथुनीले ।

समयले नथुनीलाई पीडा बोकायो । तै एक्लो निरस जीवन रुदै गुजारिन् उनीले । पैंतालीस दिनको काम गरी बरखी फुकाइन् उन्ले । उनलाई श्रीमानले दिएको कागजको याद भयो । उनीले त्यो कागज फुकाएर हेरिन् । कागजमा लेखिएको थियो ।
मेरो प्रिया नथुनी ।
तिम्रो बैँस जाग्दै गरेको समयमा मैले विदा लिदैछु ।अबको जीवन तिम्रो लागि निरसमय हुनेछ । किन भने तिम्रो सहाराको लागि सन्तान पनि तिमीसँग छैन । यो पितृसत्तात्मक समाजमा साठी वर्षमा स्वास्नी मर्दा पूरुष फेरि विवाह गर्छ । तिमी त भर्खरकी छौ । तिम्रो जीवन अझ फल्नु फुल्नु पर्छ । त्यसैले तिमीले मेरो पैंतालीस दिनको काम सके पछि विवाह गर्नु । यो सारा सम्पत्ति तिम्रो हो । यहि घरमा नै दुबै जना बस्नु । कुनै विध्नबाधा आए यो मेरो इच्छा पत्र नै तिम्रो लागि ठूलो अस्त्र हुनेछ ।