१७ लाखबढि चाेरि गरेर फरार ६ जना पक्राउ

everest kitchen
photo :file

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने राजेश मानन्धरको घरबाट करिब १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको घटनामा संलग्न रही फरार रहेका ६ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डि नगरपालिका-१० का आकाश मगर, कीर्तिपुर नगरपालिका-१० बस्ने सौरभ महर्जन, कीर्तिपुर नगरपालिका-३ कुटुझोल घर भएका २० वर्षीय अभिषेक महर्जन, उदयपुर कटारी नगरपालिका-५ घर भएका १९ वर्षीय अञ्जना मगर, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएकी २४ वर्षीया उषा भन्ने बिमला तामाङ र धादिङ जिवनपुर घर भएकी २० वर्षीया एन्जल भन्ने कबिता मगर रहेका छन् ।

पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कबिता मगरलाई चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट, विमला तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका-३ चिहानघाटबाट प्रहरीले पक्राउ गरेको हो ।

साथै महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले गत जेठ १ गते दोलखा घर भएका छिरिङ लामा भन्ने रबिन तामाङलाई राजेश मानन्धरकै घरबाट चोरी गरेको मुर्ति २ थान, ३२ ईन्चको टिभि, कम्प्युटरको मनिटर १ थान लगायतका सामानहरू सहित पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

पक्राउ अभियुक्तहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।