परिवर्तन : हेम पोखरेल

everest kitchen

हेम पोखरेल

लघुकथा: परिवर्तन
हेम पोखरेल

परबाट एकहुल मान्छेहरू बाजा , गाजा ,ध्बजा, पताका सहित आएको देखेर हजुर आमा बरण्डामा निस्किएर हेर्नथाल्नुभयो । झ्याम्टा , झ्याली ,दमाहा, ट्याम्को, नर्सिङ्गा, सनाई ढोलक पञ्चेबाजा सहितको लर्को आएको देखेर टोलमा कस्को बिवाह रहेछ , दुलाहाले दुलही लिन आएको लखकाट्नुभयो ।पञ्चे बाजा घन्किदा हजुरआमा आफ्नो बिगत सम्झन थाल्नुभयो । नजिकै नाति खेल्दै थियो । उ बेलाआँ साटो पोल्टो चल्थो मेरो पनि साटोगरेको । यसका हजुरबा सत्र बर्षका थिए म तेह्र बर्षकी थिएं । तेरैबर्षाआँ बुडिकन्या भै भन्थे । बिहाता थाहानै थिएन । हाम्रा आमाले त छिटको गुन्यू लगाकोरे मेरापालाआँचै बत्तुको सारी । लाउन पाउनेभएँ भनेर खुशी भा’थें । बिहेका दिनमा पनि बेहुलो आईपुगेपछि आँखीझ्यालबाट कस्तोरछ भनेर च्याएथें कसो गाउँघरकाले देखेनन् । घोडा चडेर आईरथे । केको आफ्नो हुनु जिम्वालको रछ । तर एस्का हजुरबा त पात्तिएका जग्गेमा तिलानी पानीमा हात डुबाका बेलाआँ चिमोटिदेर, छी ! हजुरआमा मनमनै बिगत सम्झेर लजाउनुभयो । अहिले त समय परिबर्तन भो ।
केटा केटी पहिलै भेट्छन मनपरापर गर्छन्, घुमफिर गर्छन् ! बिहेपनि छिप्पिए पछि गर्छन् । जमाना पनि कस्ताआए । अझ मेरै जेठाकी नातिनी त भागि छे भन्या । पछि मन्दिराआँ ल्यार टिको लाईदेको ।

त्यो बाजा गाजा सहितको लर्को आफ्नै घरमा आइपुग्यो। धनिमानीकै बिहेजस्तो। चर्को स्वरमा बाजा घन्कियो। एउटाले गेटखोलो सबै गरर भित्रपो पसे ।
यो त दुलहीको घर होइन । कस्ता मूर्ख मान्छे र’छन् बेहुलोपनि कतिमूर्ख आफ्नि बेहुलिको घर नचीन्ने ।
जन्तिपनि कति अज्ञानी । बेहुलिका घरमात चौका चदुवा टागेको हुन्छ । वेदी पुरेको हुन्छ । आंगनमा देखिई हाल्छनि । यो घर दुलहीको होईन । एकजना सहयोगीले गाडीको ढोका खोलिदियो सुटेट बुटेट एकजना उत्रियो । हेरहेर यिनीहरूलेत बेहुलोपनि निकाले । ए —– — होईन यो बेहुलिको घर । हजुरआमा बरण्डाबाट कराउदै हुनुहुन्थ्यो । बाजाको चर्को आबाजले कसैले सुनेन । झन नाच्नपो ब्यस्त भए । बाजाको तालमा नाच्नथाले । तलै गएर सम्झाउंछु हजुरआमा भर्याङ बाट बिस्तारै तल झर्नुभयो । आईपुग्ने बित्तिकै बाजागाजा बन्दभए । हजुरआमाले बोल्न नपाउदै सुटेट बुटेट मान्छे हजुरआमाका अगाडी आयो र बोल्यो :
आमा नमस्कार ! म यो गाउँको गतिलो मान्छे , म यो गाउँको ठुलोमान्छे । म यो गाउँको भलाद्मी मान्छे । म यो गाउँलाई नभै नहुने मान्छे । म भैनभने यो गाउँ को बिकास हुँदैन । मेरो चुनाव चिन्ह यो हो । यही चिन्हमा स्वस्तिक छाप लगाएर मलाई जिताउनुहोला ।
हजुराआमा हेरेको हेर्‍यै हुनुभयो ।