गर्मी याममा तपाईंको बच्चालाई यसरी स्वस्थ राख्नुहाेस्

everest kitchen
photo :file

काठमाडौं । गर्मी मौसममा बच्चाहरु धेरै बिरामी हुने गर्छन् । यो समयमा बच्चाहरुलाई धेरै हेरचाह पनि गर्नुपर्छ । ‘आमा’लाई आफ्नो बच्चाको ख्याल कसरी राख्ने भन्ने बारेमा प्राकृतिक ज्ञान हुन्छ । आमाकाे अन्तरआत्मालाई थाहा हुन्छ कि आफ्नो बच्चालाई के ठीक र के बेठीक भनेर। तैपनि कतिपय अवस्थामा आमाहरु पनि चुक्छन ।गर्मी बढ्दै जाँदा निम्न साधारण उपायले तपाईँ आफ्नो बच्चालाई आरामदायी र ठण्डा वातावरणको सिर्जना गर्नुपर्ने हुन्छ :-

बच्चालाई घामबाट बचाउनुहाेस
गर्मीमा बच्चाहरुलाई हल्का नरम सेताे रङको कपडा लगाइदिनुपर्छ । शरीरको पूरै भाग ढाक्ने गरी पातलो कपडा लगाउँदा बच्चाको शरिर सुरक्षा हुन्छ । सकभर चर्काे घाममा ननिकाल्दा राम्रो हुन्छ । बिहान र बुलुकाकाे घाममा भने बच्चालाई राख्दा उपयुक्त हुन्छ ।

पानीकाे मात्रा
गर्मी समयमा शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले गर्मीमा बच्चालाई धेरै मात्रामा पानी पिउन दिनुपर्छ । गर्मी याममा साँझपख बच्चालाई बाहिर घुम्दा उनीहरु फ्रेस महसुस गर्छन् ।

सही कपडा छान्नुहोस्
बच्चाको लागि कपडा लिँदा सुती अथवा कपासको शितल गराउने खालको कपडा लिनुपर्दछ । बाहिर घाममा निस्कँदा लामोबाहुला भएको, हलुका कपडा लगाइदिनुपर्दछ। जिन्स लगायत अन्य कपडाले बच्चालाई एलर्जी गराउन सक्छ । सकभर सेताे रङ्गको कपडा उपयुक्त हुन्छ । कतिपय आमाहरू नवजात शिशुलाई बाक्लो न्यानो कपडा लगाउनुपर्ने धारणा राख्छन् तर धेरै बाक्लो कपडाले बच्चालाई पसिना आएर असर गर्छ ।

स्तनपान गराउनुहाेस

यस्तो समयमा बच्चालाई आमाको दूध खुवाउनुपर्छ । यदि दूध नखाने बच्चाको लागि प्रशस्त मात्रामा पौष्टिक युक्त खाना खुवाउनु पर्छ । गर्मीको समयमा कतिपय अवस्थामा गाईभैँसीको दूध खुवाउदा र स्तनपान गराउदा कहिलेकाही बच्चाको स्वास्थ्यमा समस्या देखियाे भने तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।

गर्मीमा बच्चालाई अनावश्यक तेल लगाउनु हुन्न

गर्मीको बेलामा, बच्चालाई तेलले मसाज नगर्दा उचित हुन्छ । गर्मी महिनामा यस्तो चिल्लो पदार्थले बच्चाको छालामा घमौरा ल्याउने, अधिक पसिना निकाल्ने जस्ता खतरनाक समस्या ल्याउन सक्छ । नुहाउदा मात्रै थाेरै तेल लगाउन सकिन्छ, तर अनिवार्य हुदैन । बच्चाकाे शरिरलाई बेलाबेलामा नरम सफा कपडाले शरिर पुछि दिने गर्नुपर्छ ।

डाक्टरको सल्लाह बिना पाउडरकाे प्रयोग नगर्नुहोस्

डाक्टरकाे सल्लाहअनुसार बेबी पाउडर प्रयोग गर्न सकिन्छ । बच्चाको शरीरमा लगाउने बेबी पाउडर, बेबी क्रिम तथा बेबी तेलको प्रयोग गर्दा डाक्टरकाे सल्लाह लिनु उचित हुन्छ। जथाभावी यस्ता रसायनिक पदार्थ प्रयोग गर्दा बच्चाको छालामा एलर्जी लगायत विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन सक्छन्।

नियमित नुहाइदिने

गर्मीको मौसममा बच्चालाई नियमित रुपमा नुहाइदिनुपर्छ । नुहाईसकेपछि हल्का क्रिम मसाज गर्नु उचित हुन्छ । क्रिम प्रयाेग गर्दा डाक्टरको सल्लाहअनुसार गर्नुहाेस । पानी तताएर भन्दा अल्का सिसाे तथा नर्मल पानीले नुहाउने गर्नुहाेस ।

गर्मीमा बच्चालाई एकछिन पानीमा खेल्न दिनु पनि आवश्यक हुन्छ । नुहाउनु अघि वा पछि फराकिलो भाडामा पानी राखेर एकछिन खेल्न दिदा बच्चा खुसि हुन्छन । एकछिन पानिमा खेल्दैमा असर हुदैन । बरु बच्चाले उक्त पानि पिउने, पानिमा डुब्ने डर हुनेहुदा अभिभावकले ख्याल गर्नुपर्छ । बच्चाले नुहाई सकेपछि नरम कपडाले पानि पुछिदिनुपर्छ ।

बेलाबेलामा डाइपर परिवर्तन गर्ने

डाइपर निश्चित समयको अन्तरालमा बदल्ने गर्नुपर्छ । तीन घण्टाको अन्तरालमा बदल्नु उपयुक्त मानिन्छ । बच्चालाई डाइपर परिवर्तन गर्दा राम्ररी सफा गर्नुपर्छ । डाईपर सुख्खा बनाएर मात्र नयाँ डाइपर लगाइदिनुपर्छ । गर्मीमा बच्चालाई पसिना आएर बच्चाको शरीरमा ब्याक्टेरिया उत्पन्न हुने भएकोले विशेष सावधानी अपनाउनुपर्छ ।

कोठाको तापमान स्थिर राख्ने

बच्चा राख्ने कोठाको तापमान सन्तुलिन राख्नुपर्छ । किनकि तापमानमा परिवर्तन हुँदा बच्चाको स्वास्थ्यमा असर गर्छ । यदि कोठामा एसी प्रयोग गर्नुहुन्छ भने तापमान २४ डिग्रीमा राख्नुहोस् । यसका साथै कोठा गुम्सिएको हुनुहुँदैन । स्वच्छ हावा आउजाउ गर्ने खुला खालको हुनुपर्छ ।

बच्चाको काेठामा भेन्टिलेशन तथा झ्याल खुल्ला राख्नुपर्छ । झ्याल खुला राख्दा झ्यालमा मसिनाे झुलले छाेप्नुपर्छ । झ्यालमा झुल राख्दा बाहिरबाट किरा, झिंगा , लामखुट्टे काेठामा प्रवेश गर्न पाउदैन । यसले बच्चालाई बिभिन्न राेगबाट बचाउ छ।

झोल पदार्थ खुवाइरहने

गर्मीको मौसममा शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले दूध चुस्ने उमेरका बच्चाहरुलाई दूध र अन्यलाई झोल पदार्थ बेलाबेलामा खुवाइरहनुपर्छ । गर्मीको समयमा भोक कम लाग्ने भएकाले स्वाभाविक रुपले ठोस कुरा उनीहरु खान रुचाउँदैनन् । त्यसैले सकेसम्म उनीहरुलाई झोल पदार्थको सेवनमा जोड दिनुपर्छ ।

बच्चालाई बाहिरको खाना नदिनुहाेस

बच्चाहरूलाई बाहिरको आइसक्रीम, प्याकेटको जुस, पेप्सी, कोला, पिज्जा, बर्गर, मःम साथै चिल्लोयुक्त खानेकुरा खान नदिनुहोस्। यस्ता खानेकुराहरूले वयस्क मानिसलाई त असर गर्न सक्ने हुन्छ भने बच्चालाई अलिबढिनै असर गर्छ । बाहिरको खाना बासि तथा बिग्रेकाे हुनसक्छ त्यसैले बच्चालाई बिरामी पार्न सक्छ।

कतै बाहिर जाँदा बच्चाको लागि थोरै खाना आफैले बोक्ने गर्नुहोस् । सकभर छिट्टै नबिग्रिने फलफूल र खानाहरु बाेकेर जानुहाेस । उक्त खाना बच्चालाई दिनुभन्दा पहिला एकपटक खाना बिग्रेकाे छ की छैन?हेर्नुहाेस ।

विद्यालय जाने बच्चा हो भने घरमै राम्ररी खाना खुवाउनुहोस् र विद्यालयको लागि पनि फ्रेस खाना पठाउनुहोस् ताकि बच्चाले विद्यालयमा जङ्क फुड नखाउन ।