लघुकथा – नाती

लघुकथा – नाती
प्रेम पुन मगर

छोराबुहारी दुवैले उच्चशिक्षा हासिल गरेपछि शहर पसे। दुवै जागिरे उतै नाति जन्मेको पनि चार बर्ष पुगिसक्यो। न उनीहरू गाउँ आउन भ्याए, न हामी शहर जान भ्याइयो।

एकदिन फोनमा छोरोले दुखि भएर भन्यो “बच्चा लाटो जन्मेछ।
पाँच बर्ष लाग्यो। केही बोली नै फुटेन।” म नि:शब्द भएँ।

घरमा दुईमहिनाको लागि महंगो ज्यालामा मान्छे राखेर भएपनि शहर जाने निधो गरेँ।

छोराबुहारी अफिस जान्थे हामी नातिसँग खेल्थ्यौँ। साच्चिकै नाति लाटो थियो। यो देख्दा मनमा असह्य पीडा थपिन्थ्यो।
गएको एक महिनापछि नाती राम्रोसँग बोल्न थाल्यो।

त्यो देखेर छोराबुहारी भन्दै थिए। “यो चमत्कार कसरी भयो? हामीले यसको उपचारको लागि भएजति सकेजति सबै डक्टर वैधलाई देखाईसक्यौँ। जानेजति तिर्थ गरिसक्यौँ। देवीदेवतालाई भाकल र आजापुजा पनि गरिसक्यौँ।”

त्यसपछि उनले भनिन् “योसँग को बोल्यो र बोलोस् त? हामी त बोल्यौँ र पो बोल्यो। तिमीहरू जब फुर्सद पाउँछौ आइफोन र ल्यापटपमा सदा बिजी हुन्छौ। साँच्चिकै भनौँ भने यी आधुनिक प्रविधिले यो बाबू हैन तिमीहरु लाटो भएका छौ।”