नक्सा त आयाे तर भूमि कहिले आउने हाे ?

everest kitchen

देेेेबेेन्द्र खापुुङ सुुुुर्केेली

तत्कालिन नेकपा मालेका विद्यार्थी सङ्गठनले २०५५ साल जेठ २२ गतेदेखि असार ५ गतेसम्म महाकालीको यात्रा गरेर कालापानीमा झण्डा गाडेका थिए । भारतीयलाई खुकुरी देखाएका थिए । त्यसको केही समयपछि नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाको कोशी अञ्चल सम्मेलन धनकुटामा हुँदा तत्कालिन जनमुक्ति पार्टी, नेपालका नेता कुमार लिङ्देनले भाषण ठोके –‘माले विद्यार्थीले कालापानीमा खुकुरी देखायो, कालो झण्डा देखायो तर भारत डराएन । किन डराएन त ? किनभने खुकुरी बनाउने फलाम उतैदेखि आउँछ, कालो झण्डाको कपडा उतैदेखि आउँछ । हदै भए त्यो बन्द गरिदिन्छ । त्यसपछि के देखाउने ?’

हामी कति आत्मनिर्भर छौं भन्ने कुरा लिङ्देनले भन्न खोजेका कुरा हुन् ।

सुगौली सन्धिमा महाकाली नदिदेखि पश्चिमको भूभाग भारतको भन्ने कुरा उल्लेख रहेछ । त्यसैले भारतले महाकाली सन्धिको प्रस्ताव ल्यायो र मूल नदिलाई सिमाना बनाएर त्यसको पानी उपभोग गर्यो । यहि सन्धिको कारण एमालेमा विभाजन ल्यायो । राष्ट्रवादी र राष्ट्रघाती समूह त्यसबेलादेखि आए । आरोपप्रत्यारोपमा देखिए । र, माले विद्यार्थी कालापानी पुगेको हो । तर माले विद्यार्थीको त्यो खुकुरी नाचले भारतलाई छोएन बरु झनै वर तारजाली लगायो ।

नेपालमा जिल्लाहरूको निर्माण २०१८ देखि २२ सालभित्र गरिएका हुन् । त्यसैबेला चरिचुच्चे नक्सा काटिएको बुझ्न सकिन्छ । किनभने २०२४ सालमा प्रकाशित दार्चुलाको जिल्ला परिचय पुस्तकमा उक्त चुच्चो गायव छ । ताकि, वरिष्ठ पत्रकार भैरव रिसालले २०१८ सालमा जनगणना गर्दा लिम्पियाधुरासम्मै सीमा रहेको बताइरहेका छन् । १८ सालमा लिम्पियाधुरासम्मै जनगणना हुनु, त्यसको केही वर्षमै नक्सामा गायव हुनु त्यसबेलाको सञ्चारक्षेत्र नियन्त्रित र सूचना गोप्य राखिनु नै मुख्य कारक हो ।

ग्रेटर नेपालको अभियन्ताहरूले पृथ्वीनाराणदेखि गृर्वाणयुद्धसम्मको पालासम्म लडेर जितेको भूभागलाई नेपालले फिर्ता पाउनुपर्ने माग राखेका छन् । उक्त समूहले ‘ग्रेटर नेपाल’ नामक डकुमेन्ट्री बनाएको छ । डकुमेन्ट्रीमा इतिहासको कालखण्डलाई उजागर गरेको छ । तर डकुमेन्ट्रभित्र वर्तमान नेपालको नक्सामा घरीघरी चुच्चोबिनाकै नक्सा झुल्किन्छ ।

मलेसियामा उक्त डकुमेन्ट्री हेरेपछि चलचित्र नायक नवल खड्काले नयाँ केही गर्नुपर्छ होला भनेर निकै घोरिए र सिमानाकै समस्यामा आधारित चलचित्र बनाउने निधो गरे । उनको दशगजा चलचित्र राष्ट्रवादी मानियो । पुरस्कृत गरियो । अहिले नायक नवल खड्का सीमानाको कुरा उठ्ने वित्तिकै भाइरल बन्छन् । युट्युवहरू अन्तर्वार्ता लिन पुग्छन् ।

प्रेमसिंह धामी

महाकाली सन्धि गर्दा माले विद्यार्थीको दिमागमा लिम्पियाधुरामा पुगेको थिएन । खाली कालापानी भन्दै चिच्याइरहेका थिए । बरु लिम्पियाधुराको कुरा संसदमै उठाउने व्यक्ति थिए प्रेमसिंह धामी । उनले सांसदमा कुरा उठाए, बाराम्बार पत्रिकामा लेखिरहे । ‘कालापानीः कथा र व्यथा’ पुस्तक पनि लेखे । सांसदमा कुरा उठाएपछि आफ्नै पार्टीका त के, काँग्रेसका शेरबहादुर देउवाले समेत हकारेका थिएछन् ।

धामीको प्रसँगलाई बुझ्न २०७५ असोज १३ गतेको अन्नपूर्णपोष्टमा सुधिर शर्माको ‘कालापानी अनि धामी: एक फ्ल्यासब्याक’ अध्ययन गर्दा थाहा हुन्छ ।

धामीले यस कुरालाई निकै तताउथे होलान्, तर उनको २०५४ सालमा अल्पायुमै नुवाकोटको मदनपुरमा बस दुर्घटनाबाट मृत्यु भयो । धामीको निधनपश्चात २०२४ सालमा जिल्लाको निर्माण हुँदै गर्दा काटिएको भुभाग (बेचिएको पनि हुनसक्ने) को कुरा नउठोस् भन्नेहरूलाई निकै राहत मिल्यो होला ।

२०२४ सालमा नेपाल नेपालले आफैँ नै काटेको आफ्नो चुच्चोलाई गत कात्तिकमा मात्रै भारतले आफ्नो नयाँ राजनीतिक नक्साभित्र पारेपछि नेपालमा चर्चा ह्वात्तै उठेको हो । निकै चुलिएको चर्चा ‘कोरोना प्रभाव’ले केही मत्थर पारेको थियो । उक्त मत्थर भएको आवाजलाई जेठ २६ मा मानसरोवर जाने नयाँ बाटोको उद्घाटन भएपछि फेरि सतहमा आएको हो । त्यसपछि लकडाउनमा बसेका नेपालीहरू जिउज्यानको प्रवाहमा सडकमा उत्रिएका छन् । सडकदेखि सदनसम्म आवाज उठ्नथालेपछि राष्ट्रपतिद्वारा सदनमा नीति तथा कार्यक्रम सार्वजानिक गर्ने क्रममा लिपुलेक–लिम्पियाधुरालाई नक्सामा समेटेर ल्याउने प्रतिवद्धता आएको थियो ।

प्रत्येक सांसदले राष्ट्रिय चिन्हअंकित लोगोमा उक्त चुच्चो नभएकोले आफै पनि कति वैधानिक या अवैधानिक भन्ने कुराहरू पनि सांसदमा उठेका छन् ।

यसका वावजुद नेपाल सरकारले हिजो चरीचुच्चे नक्सा सार्वजानिक गरेको छ । नक्सा सार्वजानिक गर्ने निर्णय भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीको निकै तारिफ गर्दै फेसबुकमा लेखे –‘आज नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिने नै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रूपमा पनि अमर भईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !’

यो स्टाटस् लेखिनुमा नै गम्भिर अर्थ भेटिन्छ कि –आफ्नै नक्सालाई सार्वजानिक गर्नु निकै ठूलो हिम्मत या स्वर्ण अक्षरले नाम लेखिने लगायतको गुणगान गाउन आवश्यक थियो ? अझ हाजिरीजवाफमा सोधिने प्रश्न बन्ने भएपछि मन्त्रीज्यूलाई प्रश्न राख्न मन लाग्यो –यो नक्सा कहिले काटियो भनेर हाजिरीजवाफमा राख्न मिल्छ कि मिल्दैन होला ?

यता मन्त्रीज्यूले प्रधानमन्त्रीको गुणगान गाउँदै गर्दा प्रधानमन्त्रीज्यूको केही अघिको भनाई सम्झन पुगियो । प्रधानमन्त्रीले भनेका थिए –‘नक्सा त अहिले प्रिन्ट गर्न सकिन्छ । तर मुख्य कुरा त भूमि फिर्ता ल्याउनु हो ।’

प्रधानमन्त्रीको बोली उल्टियो । नक्सा पहिले प्रिन्ट भयो । अब उहाँलाई सिधा प्रश्न –‘नक्सा त प्रिन्ट भएर आयो तर भूमि कहिले फिर्ता हुने हो ? nayaonline