लघुकथा : असामाजिक

नवराज शर्मा

लघुकथा : असामाजिक
नवराज शर्मा

बाहिर निस्कनु अघि उसले बाहुले कमिज लगायो । पैण्ट , जुत्ता, मोजा अनि मास्क लगायो । आफैंले स्पिरिट र ग्लिसिरिनबाट बनाएको स्यानिटाइजरको सानो शिशी खल्तिमा राखेर दूध र तरकारी किन्न बजारतिर लाग्यो ।
बाटोमा साथी भेटियो । ‘ ओहो ! के छ मित्र ? ‘ नजिक आएर उसले हात मिलाउन खोज्यो ।
ऊ अलि पर सर्यो । ‘ ठिकै छ । ‘
‘ के तालको मान्छे होला ।’ बेवास्ता गरेको ठानेर साथी केही नबोली आफ्नु बाटो लाग्यो ।
बाटो छेउ चियापसलमा केही केटाहरु क्यारम खेल्दै थिए ।
‘ कोरोना बजिया फेला मात्रै परोस कोरेसोमा कोरेर ठिक पार्न सकेनम् भने त कि जात् ……… ।’उसलाई हेरेर गल्लल हाँसे । उसले कुनै प्रतिकृया जनाएन ।
पसलमा घुईंचो देखेर ऊ अलिपर झोला लिएर उभिरह्यो ।
चिने नचिनेका अनुहारहरु उसलाई हेर्दै मुसुमुसु हाँसिरहेका थिए ।
‘ कती डर मान्नु भ’को । ‘
ऊ केही बोलेन मात्र एउटा मुस्कान फाल्यो ।
मान्छे पातलिए । ऊ पसलमा गयो , तरकारी किन्यो ।पैसा फिर्ता लिनु नपरोस भने जस्तो गरी चानचुन मिलाएर पैसा तिर्यो अनि स्यानिटाइजर हातमा दल्यो ।
‘ कातर मान्छे ।’ साहुनी मनमनै भन्दै थिइन् ।
हतार हतार ऊ घर आयो । लाएको लुगा धुन राख्यो ।नुन र नरिवलको तेल मिसाएको मनतातो पानीले नुहायो , लुगा फेर्यो । तरकारीलाई नुनपानीमा डुबायो अनि साबुन पानीले राम्ररी हात धोयो ।
‘ कसैको नभएको ढाँचा हजुरलाई नै आउँदोरहेछ ।’
छिमेकमा पनि जाने आउने नगर्नु भन्नेअनुरोधलाई आफ्नो हक हनन् भएको र स्वतन्त्रता खोसिएको ठानी मनमनै भुटभुटिएकी उसकी प्रियाले अप्रिय अनुहार लाउँदै व्यंग्य गरिन् ।
घण्टिको आवाज सुनेर ऊ बाहिर निस्कियो ।
‘ के कति कामले पाल्नु भो भाउजू ?’ छिमेकी भाउजूलाई देखेर उसले सोध्यो ।
‘ घरमा बस्दा बस्दा बोर भयो , बहिनीसंग यसो भेटुँ कि भनेर आ’को । ‘
‘ ए ! भाउजू काँ’त नेट छ नि हगि , म्यासेन्जरबाट कुरा गरे हुन्छ नि ; होइन र भाउजू ?’ उसले ज्यानगए फलामे ढोका खोलेन ।
‘ कति ठुलो पल्टेको होला ।’ छिमेकी भाउजू रातोपिरो हुँदै फरक्क फर्किन् । सबै कुरा नियालिरहेकी उसकी प्रियालाई नमिठो लाग्यो । प्याच्च भनिन् ‘ अलिक सामाजिक त हुनु नि !’

सृजनानगर , भक्तपुर -१