” अमेरिकाको कोसेली “

everest kitchen

 

ज्ञानी राजा मानन्धर

लघुकथा ” अमेरिकाको कोसेली “
ज्ञानी राजा मानन्धर

दिपकले दराजमा आफुले खोजेको कमिज नपाए पछि रन्थनिएर ऐना अगाडि आधी घण्टा अघि देखी सिंगारमा जुतेकि आफ्नी स्वास्निलाई
” कति नक्कली हुनु पर्या तिमीलाई ! आधा घण्टा भईसक्यो ऐना अगाडि बसिराखेकी ! अहिले सम्म सिद्धिएन भनेको …..?”
” बढी नकराउनुस् हजुर ! आफु नि आफु , टाइम भए सम्म उही मोबाइलमा झुण्डिरहनु बाहेक केही आउँदैन हजुरलाई ! मेरो त सिद्धिसक्यो , जाबो सारी र ब्लाउज लगाउन कति नै बेर लाग्ने हो र त्यो ! अर्को आधा घण्टामा त सकिहाल्छ !”
” ल , ल ! मेरो सेतो कलरको कमिज कहाँ पर्‍यो खै ! खोज्दा खोज्दा कायल भईसकें !” सेतो कमिज भन्नासाथ ” पर्दैन , सेतो कमिज लाउन ! अस्ती दिदी भेनाले अमेरिकाबाट ल्याइदिएको त्यो धर्के कमिज थियो नि त्यही लगाउनुस् ” भनेर आँफैले दराजबाट निकालेर दिइन् !
” ह…… ! ल , धन्यवाद ! तिमीले खूब सम्झायौ ! यही लाएर जानु पर्ला !” भनी प्याकिंग खोली कमिज लगाएर ऐनामा हेरे र आफ्नी श्रीमतिलाई सोधे ” कस्तो लाग्यो , तिम्रो अमेरिकन दिदी भेनाको कोसेली …..?”
नाक फुलाएर श्रीमती ” खतरा देखिनु भा छ , आखिर दिदी र भेना कसको ….? ”
” ल , ल बढी भो …….!”
कमिजको बाउला अलि लामो भएकोले फोल्ड गरी लाउने बिचार गरे ! कमिज फोल्ड गर्दा दिपकको आँखा यसो बाउलाको भित्री भागमा रहेको लेबलमा पर्‍यो !
‌जसमा लेखिराखेको थियो ” Made In Nepal “