जिल्ला प्रहरी कार्यालयलकाे हिरासतमा रहेका युवामा काेराेना

everest kitchen

 


बैतडी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो ।

थ्रोट स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।

गत चैत ६ गते भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका थिए । शिवनाथ -४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो । उक्त प्रकरणमा उनकी बहिनी पनि हिरासतमा रहे पनि रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट आएका हुनाले ती युवकको यसअघि दुई पटक आरडिटी गरिएकामा नेगेटिभ आएको थियो तर पिसिआर गर्दा पोजेटिभ आएको हो । ती युवकलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिल

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ ।

सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक्ट ट्रेसिङको कामसमेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए ।

“थुनुवा सम्पर्कमा रहेका प्रहरीको कोरोना परीक्षण गर्छौं”, उनले भने, “कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेको धेरै जोखिम भएका र कम भएका छुट्याएर परीक्षण थाल्छौँ ।”रासस