लघुकथाः जाडो

उद्धवप्रसाद प्याकुरेल 

लघुकथाः जाडो
उद्धवप्रसाद प्याकुरेल

ओढ्ने भित्रै मोवाइल अन गरेँ, छ बजिसकेछ । “सात बजे त अफिस पुग्नु पर्ने, यस्तो जाडोमा के मिटिङ् राखेको होला, ओहो ढिला पो भैसकेछ” भन्ठान्दै ओछ्यानबाट जुरुक्क उठेँ ।
“आच्छुछुछु , कहाँ ओढ्ने उचालेको ? यस्तो जाडो छ किन यति चाँडै उठ्नु परेको होला नि ?” श्रीमती झनक्कै रिसाइन् र म उठ्दा उचालिएको ओड्ने आफूतिरै तानेर गुटुमुटु भइन् ।

झ्यालको सिसाबाट यसो बाहिर चियाएँ मिरमिरे उज्यालोमा हुसहुसी हुस्सुको लेप लागिरहेको थियो । स्याण्डो र ट्राउजर लगाएँ र बाथरुम गए । हतार हतार हातमुख धोएँ, दारी काटेँ र फ्रेस भएँ । त्यति बेलासम्म जाडोको पत्तै भएन । हतार हतार थर्मकोट लगाएँ, सर्ट पाइँन्ट लगाएँ, ज्याकेट लगाएँ, गोडामा जुत्ता मोजा, टउकोमा उनिको टोपी, त्यसमाथि गला ढाकेर गलफन बाधेँ र घरबाट निस्किँए त्यसपछि चाहिँ जाडोको महसुस हुन लाग्यो ।
हिँड्दै गर्दा आँखा एउटा पाटीभित्र चियाउन पुग्यो । म एकछिन ठिङ्ग उभिएर पाटी नियाँले पाटी जस्ताको छानो । चारैतिर खुल्ला । पाटीमा एक जना वृद्ध मानिस एउटा पुरानो ठाउँ ठाउँमा प्वाल परेको बर्को ओडेर कुक्क्रुक्क परी डफल्कोमा बसेको देखेँ । सायद यी मानिसले यसरी नै रात बिताए होलान् । मैले आफूले लगाएको लुगा सम्झेँ, अलिकति ओढ्ने उचालिँदा श्रीमतीले आछुछुछु भन्दै मसँग रिसाएको सम्झेँ । के यो जाडो सुख सयलमा बस्ने र सडकमा बस्नेलाई फरक फरक हुन्छ कि के हो ? सोच्दै फटाफट अगाडि बढेँ । म भन्दा अघि अघि एकजना भारी बोकेका मानिस खाली गोडा हिँडिरहेको भेटेँ ।
“दाइ खाली गोडा हिँड्दा तपाइँका गाेडा ठिहि¥याउँदैन ?” उनीले खाली गोडा हिँड्दा जुत्ताभित्रको मेरो गोडा ठिहि¥याए जस्तो लाग्यो र मैले सोधेँ ।
भारीकाे नाम्लाे दुवै हातले कुभमाथि अँठ्याए र ठिङ्ग उभिँदै मेराे शरीरमा तलदेखि माथिसम्म हेरे र भने, “भाइ, यो गरिवीसँग जाडो के टिक्न सक्छ र ? बरु तपाइँलाई चाहिँ जाडो भए जस्तो छ नि ! ”