छोरा राम्रो कि छोरी ? : दुर्गा वनवासी

दुर्गा वनवासी

लघुकथा : छोरा राम्रो कि छोरी ?

दुर्गा वनवासी

त्यो परिवार असल लाग्थ्यो हामी आमा-छोरालाई | उनीहरुले पनि परिवारकै सदस्यलाई जस्तो माया र हेरदेख गरेका थिए | हाम्रो पनि यो संसारमा अरु आफन्त नै को पो थियो र ? रगतको नाता मात्रै कहाँ आफ्नो हुने रहेछ र ? विशेष घरमूली आमा असाध्यै जाति र दयालु थिइन् | म जन्मिँदा त झन धेरै स्याहार गरेकी रे उनले मेरी आमा र मेरो |

समय राम्रै बितिरहेको थियो | एक दिन केही मानिसहरु आए र आमालाई लिएर गए | मैले पनि सँगै जान वल गरेँ, जान दिएनन् | रोएँ, कराएँ तर मेरा आँसुले पग्लिएनन् कोही | आमाले पनि पछाडि फर्की फर्की हेरिन् मलाई | रोइन्, कराइन्, अनुनय गरिन् तर सुनेनन् | लगभग घिसार्दै लगे | आमा ओझेल परिन्, म रोइरहेँ |

साँझ घरमूली आमाले खान दिइन्, मलाई केही खान मन लागेन, आमाको मात्रै सम्झना आइरह्यो | उनी पनि केही उदास थिइन् | घरमूली बासँग उनले मेरो अवस्थाबारे बताइन् | बाले भने – “पिर नगर, केही दिनमा बिर्सिन्छ | के गर्नु छोरी भएको भए सँगै पठाइदिन हुन्थ्यो, छोरो पर्यो | उनीहरुले लाने मानेनन्, जबर्जस्ती गर्न पनि भएन |”

केही दिनपछि घरमूली बा र आमाले कुरा गरेको सुनें | बा भन्दैथिए – “के गर्नु, नातिनीले घर भर्न लागे | पहिल्यै दुइटी छँदैथिए | गर्भ परीक्षणमा पनि छोरी नै रहिछे, फाल्दिनु भन्दिएँ |”

यो मान्छेको जात पनि कति विचित्रको हुँदो रहेछ गाँठे ? छोरो भएकोले मलाई आमाबाट छुटाए, छोरी भएकोले बुहारीको गर्भ फाल्न लगाए | हामी गाईवस्तुको चाहिँ छोरी चाहिने, मान्छेको भए चाहिँ छोरा नै हुनुपर्ने ? होइन, म त अलमल परें त – “छोरा राम्रो कि छोरी हँ ?”