भारतीय अतिक्रमणमा परि भारतमा घर परेका पूर्वप्रधानपञ्चकाे व्यथा

सरोज बराल

जतिबेला हामी लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर राष्ट्रिय झण्डा सहित इनरुवा सुनसरीमा विरोध प्रदर्शन गर्दैगर्दा हामी आठ जना थियौं । एकजना भाइ थपिनु भयो यहाँको गोल चोकमा । हामी नारा लगाउँदै हिंड्दा रमिता हेरेर बस्ने र हामीलाई पक्रेर प्रहरीले गाडीमा हाल्दै गर्दा पनि रमिता हेर्नेहरू त्यतै वरिपरि हुनुहुन्थ्यो ।

यसरी जनताले व्यापक बिरोध गरेपछि र जनदबाब खेप्न बाध्य भएपछि त्यो दबाबलाई केही समय पन्छाउन लिम्पियाधुरा समेत गाभेर नेपाल सरकारले संभवतः पहिलो पटक नक्सा जारी गर्यो । हामी लगायत अहिलेका सबैले नेपालको वास्तविक नक्सासम्म देख्न पायौं । यही कारणले अहिलेका सत्तावादीहरूले आफुलाई महान र ठुला राष्ट्रवादी भन्ने अवसर पाएका छन् ।

अब हेरौं हाम्रा महान राष्ट्रवादीहरूले त्यहाँ टोली पठाएर, त्यहाँका मानिसहरूलाई नागरिकता दिएर, उनीहरूलाई नेपाली पहिचानसहित राष्ट्रिय झण्डा फहराउने काम कहिले गर्लान् ? त्यहाँको जमीन नापी गरेर लालपुर्जा कहिले जारी गर्छन् ?

स्मरण रहोस्, सन् १९६२ अर्थात वि.सं. २०१८ सालदेखि त्यहाँका जनता बेवारिसे छोडिएर नेपाली भएको आभास पाएका छैनन् । हजुरबुवा पुस्तालाई थाहा होला, तर बाबू पुस्ता र अहिले छोराछोरी पुस्तालाई थाहा छैन । जमीन मात्र होइन, उक्त जमीनमा भएका जनता पनि यता गाभिन्छन् नियम अनुसार । उनीहरूलाई नेपाली कहिले बनाउने ?

पूर्व प्रधानपञ्चको घर भारतमा

यो लकडाउनको समयमा जेठ आठ गते साँझ खुट्टा तन्काउन पर्यो भनेर इनरुवा ३ को सडकमा हिंड्दै थिएँ, अगाडिबाट दुईजना आउँदै हुनुहुन्थ्यो । एकजना त पुर्व परिचित र हाल अवकास प्राप्त शिक्षक अमिरिलाल यादव हुनुहुन्थ्यो । गफ गर्दैजाँदा थाहा भयो वहाँको नाम रहेछ नागेश्वर मरबैता यादव । यो नाम मैले धेरै पटक सुनेको नाम थिएँ, मेरो फेसबुकमा मित्र पनि हुनुहुन्छ । तर प्रत्यक्ष चिनजान र भेटघाट भएको थिएन ।

मैले वहाँसँग अवधलाल मरबैता को हो ? भनेर सोधें । दाइले आफ्नो ठुलोबुवा हो भन्नुभयो । म आफू श्रीपुर घरमा गएको र घरको अनि अवधलाल काकाको फोटो खिचेर ल्याएको कुरा गरें । ३÷४ जना अरु सहित गफ गर्दै जाँदा लिपुलेक, लिम्पियाधुराको पनि गफ निस्कियो । वहाँको अनुहार निरस देखियो । के बोल्नु, के नबोल्नु जस्तो भावमा वहाँले केही त भन्नुभयो । म वहाँको मनोभाव बुझ्दै थिएँ । सायद अरुले बुझे कि बुझेनन् । वहाँले प्रष्ट नबोले पनि वहाँको कुराको सार यस्तो थियो ।

सुनसरी जिल्लाको श्रीपुर गाउँ पंचायतमा मेरो आफ्नो हजुरबुवा नेवालाल मरबैताले बनाउनु भएको घरमा बसेर मेरो ठूलो बुवा ३ पटक प्रधानपंच बन्नुभयो त्यो बेलाको पंचायती व्यवस्थामा । पछि त्यो घर दसगजा पारी पारियो । तर मेरो बुवा, ठुलोबुवा लगायतले हामी नेपाली हो, यो घरजग्गा नेपालको हो भन्दै नेपाल आएर मालपोत तिरेको कागजात देखाउँदा कसैले बोलिदिएन । ठुलोबुवा काँग्रेस, एमाले तिर लाग्नु भएन । अहिले त्यो पुरानो घर भारतमा पर्छ । पञ्चायतको मान्छे भनेर नबोलेको हो कि ?

जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई चिठी पठाउँदा पनि कोहि बोलेन । म कसरी बोलुँ त्यो मैले कहिल्यै नदेखेको लिम्पियाधुराको बारेमा । कसले बोलिदियो मेरो घरजग्गाको बारेमा ? वहाँको आँखाले पीडा पोखिरहेको थियो । राष्ट्रियता बोलिरहेका थियो । तर त्यसलाई मैले अनुभूति गरेर के नै पो गर्न सक्थें र ?

कुनै समय म आफू पनि पुगेको र आफुले फोटो खिचेर ल्याएको त्यो घरको तस्बिर वहाँलाई देखाएँ । वहाँले यो घर अझै पनि यस्तै अवस्थामा छ भन्नुभयो ।

पत्रकार महासंघ सुनसरीको नेतृत्वमा सुनसरीको सीमाना अवलोकन गर्न आजभन्दा आठ वर्ष पहिले हामी वहाँको घर पुगेका थियौं र केही कुराकानी गरेका थियौं । त्यतिबेला गफ गर्दा प्रधानपञ्च रहिसक्नु भएको अवधलाल मरबैताले भन्नुहुन्थ्यो, “म नेपाली हुँ, मेरो घर नेपाल मै भएको हेरेर मर्ने इच्छा छ । भारत सरकार मलाई नेपाली हो नभन, अब भारतीय हो भन । तिमीलाई के के चाहिन्छ हामी दिन्छौं । नागरिकता लिन निवेदन गर, आउ । तर म भारतको नागरिकता लिन्न । मलाई फ्रीमा ट्र्याक्टर दिन्छु भन्छ, म लिन्न ।” यसरी सरल र स्पष्ट आफ्नो राष्ट्रको माया बोक्ने अवधलाल मरबैता नेपालतिर आफ्नो जमीन देख्न नपाई बित्नुभयो ।

हामी राष्ट्रवादी भनिन रुचाउनेहरू मधेसी अनुहार देख्यो कि बिहारी भन्न हतारिन्छौं । हामीलाई यस्ता ठाउँहरू दुख्दैनन् । मौसमअनुसार कतिबेला आफुले समर्थन गरेको पार्टीले के बोल्छ र त्यो बोलेबापत देशलाई होइन, पार्टीलाई के फाइदा हुन्छ त्यहाँ हामी राष्ट्रियता खोज्छौं । हाम्रो राष्ट्रियता अहिले मौसमी राष्ट्रियता भएको छ ।

लिपुलेक र लिम्पियाधुरा मात्र होइन, हामीलाई सुस्ता, महेशपुरा, मानेभञ्ज्याङ, सुनसरीको श्रीपुर पनि समानरुपले दुख्नुपर्ने हो । तर हामी किस्ताबन्दीमा दुखाउन खोज्छौं र हाम्रो राष्ट्रियता हाम्रो रङ र भाषासँग खोज्छौं । अनि कहाँ भेटिन्छ हाम्रो राष्ट्रवाद ?nayaonline.com